विशाल लम्साल 

अनि कसरी हुन्छ त शिक्षाको विकास?

अन्तर्राष्ट्रिय साक्षरता दिवसः प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिनमा मनाइन्छ। नेपालमा तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत २०३१ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखि हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइँदै आइएको थियो।

नेपालमा शिक्षाको विकास र विस्तार शिक्षा दिवसको सुरुवातभन्दा अगाडि वि. सं १९१० मा दरबार हाई स्कूलको स्थापना भएदेखि संस्थागत भएतापनि २००७ सालमा प्रजातन्त्रको उदय भएपछि संख्यात्मक एवम्  गुणात्मक वृद्धि हुनुका साथै विकासले पनि गति लिएको हो।

नेपालले विक्रम संवत् २०३२ देखि २०६३ सालसम्म शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस छुट्टाछुट्टै मनाउँदै आएता पनि २०६२÷६३ को जनआन्दोलन पछि गणतन्त्रको घोषणा भएसँगै सेप्टेम्बर ८ लाई नै राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउन थालिएको हो।

२०६८ सालको जनगणना अनुसार हेर्ने हो भने नेपालको साक्षरता ६५.९ प्रतिशत छ। त्यसमध्ये पुरुष ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत साक्षर छन् ।

करिब ३४.१ प्रतिशत जनसंख्या निरक्षर छन् । पछिल्लो शैक्षिक तथ्याङ्क अनुसार शिक्षाको संख्यात्मक विकास र विस्तार उत्साहजनक भएको पाइन्छ । तर, सन्तोषजनक अवस्था भने पक्कै छैन। नेपालले साक्षरता शिक्षाका लागि विभिन्न समयमा विभिन्न समूह जस्तैः सहयोगी कार्यकर्ता, शिक्षक, विद्यार्थी, सङ्घसंस्था परिचालन गरेपनि अपेक्षित परिवर्तन आएन ।

यसरी २०३२ सालदेखि शिक्षा दिवस धुमधामसाथ मनाउँदा पनि शैक्षिक गुणस्तर अपेक्षित रूपमा उस्किएको छैन । निरक्षरताको बादल अपेक्षित रूपमा फाटेको छैन। सामान्य अर्थमा साक्षरता भन्नाले अक्षरमा लेखिएका शब्द लाई पढन सक्नु, लेख्न सक्नु, घडी हेर्न सक्नु, दैनिक हिसाबकिताब राख्न सक्नु र दैनिक जिवनमा आईपर्ने समस्यालाई समधान गर्न सक्नु बुझाउँछ।

साक्षरता भनेको व्यक्तिको त्यो क्षमता हो जसले आफ्नो परिवेश अनुसार समस्याको पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने, समस्या समाधानका उपाय सिर्जना गर्ने कार्य गर्न सक्छ।

न्यूनतम आफ्नो नाम लेख्न, पढ्न सक्नेलाई साक्षर भनिँदै आएकोमा समयको परिवर्तन सँगै साक्षरताको परिभाषामा पनि व्यापक परिवर्तन र परिमार्जन हुँदै आएको छ।

शिक्षा जीवनको आधार हो र यो ज्ञान, सीप र क्षमता प्राप्तिको माध्यम पनि हो। यी ज्ञान, सीप र क्षमता वृद्दिको लागि पढ्नु पर्छ वा साक्षर हुनुपर्छ। किनभने शिक्षाको ज्योतिले नै सुखी र समृद्द जीवनको परिकल्पना गर्न सकिन्छ। साक्षरताले नयाँ कुरा जान्ने, सिक्ने र सिकाउन उत्सुक तथा तत्पर गराउँछ। मानिसको उपलब्धीहरुको चाङमा शिक्षाको योगदान नै उत्कृष्ट मानिन्छ ।

हरेक समाजलाई सञ्चालन गर्ने तत्वहरुमा शिक्षा नै विकास र परिवर्तनको प्रमुख कारक तत्व हो। असल शिक्षाले नै असल मानवीय भावना र असल संस्कारको सामर्थ्य राख्दछ। किनभने जब शिक्षा कमजोर हुन्छ, तब देश नै कमजोर हुन्छ। शिक्षालाई युग अनुकूल, समयसापेक्ष र सान्दर्भिकताको आधारमा परिवर्तन गरिन्छ। जीवनपर्यन्त सिकाइका लागि साक्षरता नै पहिलो खुड्किलो मान्न सकिन्छ। जब मानिस साक्षर हुन्छ तब उसले आफूलाई चाहिने ज्ञान, सीप अभिवृद्धि गर्ने कोसिस गर्छ।

साक्षरताले व्यक्तिको सशक्तिकरण मात्र नभई जिविकोपार्जन देखि लिएर सामाजिक कार्यमा सहभागिता जनाउन पनि सिकाउँछ। साक्षरताले आफ्नो र परिवारको जीवनमा धेरै अवसरहरू सिर्जना गर्छ ।आफू र परिवारका लागि चाहिने कुराको खोजी गर्छ, प्राप्तिका लागि सङ्घर्ष गर्छ। साक्षरता कमजोर भएको कारणले गर्दा नै अहिले एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजमा भएको अन्धविश्वासको जरा काट्न सकिएको छैन।

हामीकहाँ रहेको यस्तो अन्धविश्वासलाई फाल्न साक्षरताले पनि ठूलो भूमिका खेल्छ। त्यसका लागि समुदायमा जनचेतनाका कार्यक्रमहरु पुर्याउनु पर्छ।मानिसले हिजो सिकेका कति कुरा आज र आज सिकेका कतिपय कुरा भोलि उपयोगी नहुन सक्छ। त्यसैले मानिसले आफूलाई समयअनुसार आवश्यक पर्ने ज्ञान, सीप हासिल गर्न जीवनभर सिकिरहनु नै पर्छ। मानिसको सिकाइको कहिल्यै अन्त्य हुँदैन।

सिकाइ मानिसको जन्मदेखि मृत्युसम्म चलिरहन्छ । मानिसले जीवनभर आवश्यक पर्ने सबै प्रकारका ज्ञान, सीपको क्षमता हासिल गर्ने गर्दछ। आफूले गरेको कार्यलाई सशक्त पार्नका लागि सिकाइ आवश्यक नै छ। सिकाइले मानिसमा आत्मबल दरो बनाउनुका साथै सिर्जनात्मक हुनलाई पनि टेवा पुर्याउछ।

विद्यार्थीले मात्र नयाँ कुरा सिक्छ र कक्षा कोठाभित्रमात्र सिकाइ हुन्छ भन्ने धेरैजसो मानिसको मान्यतालाई जीवनपर्यन्त सिकाइको सिद्धान्तले फराकिलो पार्दै लगेको छ।जीवनोपयोगी शिक्षाले व्यक्तिको जीवनमा विशेष भूमिका खेल्दै दक्षता वृद्धिमा मद्दत गर्दछ। जीवनपर्यन्त सिकाइले जीवनमा आइपर्ने हरेक चुनौतीका लागि तयार पार्दछ र सामना गर्ने सामर्थ्य दिन्छ।

व्यक्तिगत तथा समाजको उत्पादकत्वमा योगदान पुर्याउन मद्दत गर्छ। सिकाइले दिमागलाई तीक्ष्ण बनाउँछ भने स्मरण शक्ति पनि बढाउँछ । केही गरौँ भन्ने भावना उत्पन्न हुन्छ। यसले आत्मविश्वासमा वृद्धि भई हरेक जिम्मेवारी पूरा गर्न तयार गर्छ। समयको  माग र आवश्यकतानुसार दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालाई गुणस्तरीय शिक्षामा सीमित गरिरहँदा व्यक्तिको जीवन बुझ्न र उसको आचरणसँग पनि शिक्षा जोडिएको हुन्छ भन्ने मान्यता थिचिँदै गएको पाइन्छ।

शिक्षालाई केवल जीवन निर्वाहको वस्तु वा श्रमसँग मात्र नजोडेर नैतिकता, आचरण, अनुशासन, संस्कार, सभ्यता सिकाउने ज्ञान हो भनेर बुझ्नु पनि आवश्यक छ।समय परिवर्तनशिल छ, त्यसैले शिक्षा पनि समय सापेक्ष परिवर्तन हुनुपर्दछ। अहिले नेपालको सन्दर्भमा शिक्षामा द्रुत परिवर्तनको खाँचो देखिएको छ। विद्यालय शिक्षादेखि नै जीवनपर्यन्त सिकाइको महत्व बुझाउन पाठ्यक्रममा राख्नु आवश्यक छ।

जीवनोपयोगी शिक्षालाई बाल्यकालदेखि नै जोड्दै लैजान सके व्यक्तिको जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै नै परिवर्तन ल्याउन सकिन्छ। किनभने सीपको विकास गर्नुपर्ने कुरा शैक्षिक गतिविधि बाट सुनिश्चित गर्नुपर्ने कुरा हो । साथसाथै, ज्ञान र सीप बढाउने गतिविधिलाई विशेष प्रोत्साहन दिनुपर्छ । विशेष रूपमा भन्ने हो भने सीप आजको भोलि प्राप्त हुँदैन, जसलाई बाल्यकालदेखि नै पहिचान गर्दै उमेरअनुसार निखार्दै लैजानु पर्ने हुन्छ ।

जीवनपर्यन्त सिकाइले विकासका लागि अवसरहरू प्रदान गर्दै दायरा फराकिलो पार्ने काम गर्छ। जीवनमा आइपर्ने हरेक किसिमको समस्यालाई व्यवस्थापन गर्न जीवनोपयोगी शिक्षाको आवश्यकता पर्छ। शिक्षामा जीवनोपयोगी सीपको समावेश गर्नाले साक्षरता सीप, सान्दर्भिक सीपका साथै समग्र सीपको पनि विकास गराउन सकिन्छ। कुनैपनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठूलो भूमिका हुन्छ। शिक्षा त्यस्तो हतियार हो जसले मानवको चेतना स्तरको विकाससँगै समुदाय समाज र राष्ट्र मात्र नभई समग्र संसारलाई नै मार्गनिर्देशन गर्न मद्दत गर्छ।

तर बितेको केही वर्षमा संसारले शिक्षा  क्षेत्रमा निकै फड्को मारिसक्दा पनि नेपालमा शिक्षा क्षेत्रमा खासै उपलब्धिमुलक काम भएन। यसको प्रमुख कारण शिक्षामा राम्रा पूर्वाधार तयार नहुनु र भएका शैक्षिक संघसंस्थालाई पनि स्तरोन्नती गर्न तर्फ सरकारले कुनै ध्यान नदिनु हो। नेपालको शिक्षा प्रणालीमा सबै क्षेत्रमा रहेका मानिसहरुको अपेक्षाकृत सहभागीता छैन।

त्यसैले नेपालका हरेक क्षेत्रमा रहेका विद्यालय र विद्यार्थीमा केन्द्रित शैक्षिक नीति तर्जुमा गरि कार्यान्वयनमा ल्याउनु अहिलेको आवश्यकता हो। नेपालमा सृजनशिलतामा विद्यार्थीलाई लगाउने प्रयास कहिँकतै छैन।हाम्रो देश सिपमा आधारित शिक्षा, व्यवहार उपयोगी शिक्षा, जीवन रुपान्तरण गर्ने शिक्षाको अभावले गुज्रिरहेको छ। अझैपनि हामी गलत सिकाई, गलत पाठ्यक्रममा आधारित छौँ। हामि विद्यार्थी सुगा रटाइको कारणले  सैद्धान्तिक कुरामा अब्बल त भयौँ  तर व्यवहारिक कुरामा निकै शून्य छौँ।

अहिले जति राष्ट्रहरु शिक्षित, धनि र शक्तिशाली बनेका छन् उनीहरुले शिक्षालाई प्राथमिकतामा राखेका छन् । शिक्षाले अन्धकारको दिशाबाट उज्यालो तर्फ धकेल्छ भन्ने बोध उनीहरुमा छ तर हाम्रो नेपालकै सन्दर्भमा हेर्ने हो भने कति ग्रामीण भूभागमा मानिसहरु शिक्षाको अभावमा गरिबी जीवन विताउन बाध्य छन् । जब सम्म हरेक क्षेत्र, बर्ग, समुदायमा बालबालिका विद्यालय आएर पढ्ने वातावरणको सिर्जना हुँदैन तबसम्म शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन पनि हुँदैन।

हाम्रो देशमा शिक्षाको नाममा राजनीति छ। आफू नेता बन्नलाई राजनीति गर्ने उचित ठाउँ विद्यालयलाई बनाइन्छ। शान्ति क्षेत्रको संज्ञा दिई विद्यालयमा नाराबाजी गर्ने, टायर जलाउने, तोडफोड गर्ने, केही नबुझेका विद्यार्थीलाई सडकमा ल्याई जिन्दावाद र मुर्दावादको नारा लगाइन्छ। अहिले हाम्रो देशमा भएका सरकारी क्याम्पसहरू राजनीतिक दललाई सत्तामा पुर्‍याइदिने माध्यम र झन्डा बोक्ने दास बनाइएका छन्।

शिक्षाक्षेत्र जस्तो पवित्र स्थलमा खेलिने राजनीतिको फोहोरी खेलबाट हजारौँ विद्यार्थी चपेटामा छन् । विद्यार्थी नेता भनाउँदाले दुख गरी पढ्न आएका विद्यार्थी हरुलाइ स्वार्थपूर्तिको लागि  बिगार्न सकभर प्रयास गरेका हुन्छन् । विद्यार्थीको हकहित, त्यहाँ भएको भ्रष्टाचार अन्त्य, गुणस्तरीय शिक्षाको विकास गर्ने जे जस्ता नारा घन्काए पनि त्यस क्याम्पसमा आफ्नो पकड जमाउने स्वार्थका लागि सबै विद्यार्थी संगठनहरू लागि परेका हुन्छन् ।

यसरी हरेक क्याम्पस र विद्यालय हरुले आज जस्तो दुर्गति भोग्दै आएका छन् र भविष्यमा पनि यस्तै दुर्गति नहोला भन्न पनि सकिँदैन। विद्यार्थीले पढ्ने हरेक विद्यालयमा राजनीति घुसिरहेको छ। सरकारले पनि बढ्दो राजनीतिक हस्तक्षेपलाई महत्त्व दिइरहेको छ।देशका धेरै आन्दोलन र परिवर्तनमा धेरैजसो विद्यार्थीको हात रहेको कुरा सबैलाई अवगत नै छ। हरेक विद्यार्थीले देशको राजनीतिक वातावरणलाई बुझ्नु जरुरी पनि छ। तर यस्तो चरम राजनीतिककरणले जरा गाड्नु पनि राम्रो होइन।

यस्तो परिवेशले उज्यालो भविष्य बनाउने सोचमा शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु निकै मारमा परेका छन्। त्यसैले कलेज र क्याम्पसमा विद्यार्थीमाथि राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्छ।अहिले शिक्षाको गुणस्तर पनि निरन्तर खस्कँदो छ । आफ्नो उज्ज्वल भविष्यको आशासहित शिक्षा प्राप्तिका लागि आएका सबै विद्यार्थीको भविष्यको बारेमा सबैले सोच्न निकै जरुरी छ। आज पनि आर्थिक स्थिति निकै कमजोर भएकाले अध्ययन गर्न थलोको रुपमा सामुदायिक विद्यालयलाई हेरिन्छ ।

कक्षाकोठामा गएर सुत्ने, नपढाएरै कमाउने, भ्रष्टाचार गर्ने थलो नै सामुदायिक विद्यालय बन्न पुगेको छ। अनि कसरी आउँछ त शौक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ? अझैपनि तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना सन्तानलाई नीजि विद्यालयमा अध्ययन गराएका छन्। अनि उनीहरु कसरी आफूले पढाउने सामुदायिक विद्यालय उकास्लान त ?

आज नेपालको विद्यालयहरु च्याउ उम्रिने भन्दा पनि बढी भइरहेका छन्। विद्यालयको संख्या पर्याप्त हुँदैमा मात्र गुणस्तरीय शिक्षा हुन सक्दैन। आज गुणस्तरीय शिक्षा भन्दा पनि महंगो शिक्षाको पछाडि सबैजना लागिरहेका छन्। शैक्षिक दलालहरुको कारण आज शिक्षा क्षेत्र एउटा व्यापार बनिरहेको छ। आज शिक्षा दिने उद्देश्य भन्दा पनि पैसा कमाउने उद्देश्यले विद्यालयहरु खोलिएका छन्। अनि कसरी हुन्छ त शिक्षाको विकास ?

उत्कृष्ट शैक्षिक नेतृत्वको अभावकै कारण आज देश निरन्तर रुपमा खस्किदै गइरहेको छ। नेपालको शिक्षा अहिले बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तै बनिरहेको छ भन्नू फरक नपर्ला। नेपालजस्तो विकासोन्मुख देश जहाँ शैक्षिक क्षेत्रमा यस्तो समस्याको चाङ नै चाङ देखिन्छ, यिनै समस्याको हल गरेर मात्र समाजलाई सभ्य, समृद्ध र विकसित बनाउन सकिन्छ।

त्यसैले जसरी हुन्छ यस्तो अवस्थाको अन्त्य गर्न सबै लाग्नुपर्छ। अर्कोतर्फ दिनप्रतिदिन बढिरहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न सक्ने शिक्षा नीति बनाउनु पर्छ। साक्षरताको कुरा गरिरहँदा हाम्रो देशको सन्दर्भमा अझै धेरै कार्य गर्नुपर्ने हुन्छ। वास्तवमा हाम्रो देशको शिक्षा क्षेत्रमा कायापलट ल्याउनका लागि शिक्षा नीति नै परिवर्तन गरिनुपर्दछ। शिक्षा एक वरदान हो भने निरक्षरता एक अभिशाप हो ।

समाज बदल्ने खालको शिक्षा आजको आवश्यकता पनि हो। नैतिकता र सत्कार सिकाउने खालको शिक्षा अति खाँचो छ ।  यसका लागि सम्पूर्ण शिक्षाविदहरु, सबै विद्यार्थी, युवा र शिक्षित व्यक्तिहरु अब अग्रसर बनेर देशको काँचुली फेर्न शिक्षाबाट नै अगाडि बढ्नुपर्छ ।

कुनैपनि देशको विकास निर्माणको मुख्य आधार शिक्षा क्षेत्रको विकास र विस्तार रहने र शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा क्षेत्र पछाडि रहनु भनेको देशको समग्र क्षेत्र नै पछाडि रहनु हो।

शिक्षाले मानिसलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाश दिन्छ । मानिसलाई विकास र शान्तितर्फ अग्रसर गराउने र मानवीय संवेदना बुझ्न सक्ने नागरिक तयार गराउन सक्ने शिक्षा अब नेपालमा हुनुपर्छ । सबैले आआफ्नो ठाँउबाट रचनात्मक र सक्दो सहकार्य गरेमा अवश्य पनि यो असम्भव भने पक्कै छैन।

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्