व्यङ्ग्य

ती मान्छेहरु पनि लाछी नै रहेछन् है…

‘डोको बोकेर भए पनि भोको पेट भरेर र सकेसम्म दुःख गरेर आफ्नै देशमा बसौँला भन्ने विचारले दक्षिणबाट अनेक झमेला बेहोर्दै बल्लतल्ल हाडछाला मात्रै बाँकी रहेको अवस्थामा घर आइपुगेका गाउँलेहरु फेरि उतै फर्कन थाले रे भन्ने सुनिन्छ । आफ्नै गाउँघरमा नबसेर के खान भनेर उता जान परेको होला मैले त केही बुझ्न सकिनँ’, चौतारीको ठूलो ढुँगामा अढेस लगाएर बसेको नरेले भन्यो ।

‘त्यै त, आफ्नै देशमा आउँदा र त्यसमा अनेक दुःख पाउँदा पनि मर्नै परे पनि आफ्नै देशमा मर्ने अनि यहीँ बसेर दुख गर्ने भनेर आएका मान्छेहरु यति चाँडै उतै फर्केको देखेर मलाइ पनि अचम्मै लागेको छ’, अम्मरेले पनि आफ्नो भनाइ राख्यो ।

‘बिचराहरु आउने बेलामा पनि सिमानाकाबाट छिर्न नपाएर जति पनि तिर्न तयार भएर अनेक हण्डर खाएर र दुःख पाएर बल्लबल्ल सीमा भित्र छिर्न पाए । भित्र छिरेपछि पनि अस्तव्यस्त क्वारन्टिनको बसाइबाट उम्केपछि साबिक भन्दा ज्यादै बढी गाडिभाडा बुझाएर महिला, बालबच्चा, बुढाबुढी, बिरामी, सुत्केरी, झिटीगुन्टा आदि सबैसहित बाँच्ने आशा समेत मारेर र खल्तिमा भएको सबै नगद विभिन्न कारणले ठाउँठाउँमा झारेर आफ्नो गाउँमा पुगे । यसरी गाउँमा पुगेपछि त दुखजिलो गरेर भएपनि टिक्न पर्नेमा जस्तो अवस्था सहेर भएपनि विदेशमै बिक्ने बानी लागेपछि यस्तै त हो नि । यस्तालाइ कसले के गर्न सक्छ र ?’ पुष्पेले थप्यो ।

‘त्यसो होइन, गाउँमा खान पाएनन् रे नि त । खान नपाएर भोकले मर्नुभन्दा त दुखजिलो गरि खाएर रोगले मर्नु राम्रो भनेर हिँडेका रे भन्ने सुनेको छु है, मैले त’, फेरि नरेले भन्यो ।

‘ती मान्छेहरु पनि लाछी नै रहेछन् है । हाम्रो जस्तो देशमा पनि खान नपाएर मान्छे मर्नसक्छ र भोकले मान्छेलाई समस्या पर्नसक्छ भनेर कसैले पत्याउँछ भनेजस्तो मलाइ चाहिँ लाग्दैन’ अम्मरेले भन्यो ।

‘गाउँमा मात्रै होइन शहरमा पनि त्यस्तै अवस्था छ रे भन्ने सुनिन्छ । यति लामो लकडाउन र निषेधाज्ञाले गर्दा दिनभरि काम गरेर बिहान बेलुका माम खाने मान्छेहरुको त बिजोगै छ रे । अनि जता काम पाइन्छ, जता दाम पाइन्छ र त्यसबाट ज्यान पाल्ने माम पाइन्छ त्यता लाग्नु के अचम्म भयो त’, नरेले फेरि भन्यो ।

‘तिमिहरुको कुरा सुन्दा पनि मलाइ त अचम्म लाग्छ । हाम्रा सरकार प्रधानले त पहिले पनि र अहिले पनि हाम्रो जस्तो अत्यन्त उब्जाउ हुने देशमा भोकले जंगली जनावर, चराचुरुँगी र किरा फट्याँग्रा त मर्दैनन् भने जनता भोकले मर्ने अवस्था त आउँदै आउँदैन र केही गरि आइहालेछ भने पनि त्यस्तालाइ सरकारले घरमै बसेरै खान पाउने व्यवस्था मिलाउँछ र यसको ग्यारेन्टी नै दिलाउँछ भनेर भाषण ठोकेको सबैले सुनेकै हो । त्यति हुँदाहुँदै पनि भोकले टिक्न नसकेर विदेश हिँडेको भनेर निहुँमात्रै झिक्न खोज्नेलाइ के भन्न सकिन्छ र’, अम्मरेले भन्यो ।

‘सरकार प्रधानले भनेको सोह्रैआना ठिक हो । उनले जनता भनेको र जनताको रुपमा गनेको मान्छेहरु भनेको आफ्नो पार्टीका नेता कार्यकर्ता, भातृ संगठनका नेता कार्यकर्ता, आफ्नो पार्टीलाई चुनावमा भोट हाल्ने मान्छेहरु, आफ्नो पार्टीको हितमा मात्रै न्याय सम्पादन गर्ने न्यायमूर्तिहरु, पार्टिको हितमा मात्रै कलम चलाउने कलमजिवीहरु, त्यस्तैखाले पत्रकारहरु, त्यस्तैखाले बिचौलियाहरु, पार्टीलाई लेवी बुझाएर प्रशासनमा हेवी देखिएका हाकिम र कर्मचारीहरु, पार्टीलाई चन्दा दिएर फाइदा उठाउने व्यापारीहरु, यथेष्ट कमिशन बुझाएर ठेक्का हात पारेर र सबैतिर झारा टारेर काम नगरी बजेट पचाउने ठेकेदारहरु, सरकारी शिक्षक प्राध्यापक भएर कक्षामा नपढाई राजनीति मात्रै गरेर हिँड्नेहरु, एनजिओ र आइएनजिओहरु सञ्चालन गरेर माथिसम्म कमिशन बुझाएर डकार्ने अनि सानातिनालाई हकार्नेहरु, विभिन्न व्यवसायीको नाममा राजनीति गरेर सरकारलाइ समेत थर्काउने र जतिखेर पनि बजारभाउ मात्रै चर्काउनेहरु आदि आदि मात्रै हुन् ।

त्यस बाहेकका अरु मान्छेहरु उनको नजरमा मान्छेको गिन्तीमा पर्छन् जस्तो मलाइ चाहिँ लाग्दैन । त्यसमाथि विपक्षी र अरु दलका समर्थकहरु त जनता हुने कुरै भएन । कुरो बुझ्यौ त केटा हो’, अम्मरेले भन्यो ।

‘तैँले भनेको पनि एक हिसाबले ठिकै हो । उनी अस्पताल जान बाहेक अरु काममा बालुवाटारबाट बाहिर ननिस्कने भएकोले बाहिरको अवस्था उनलाइ थाहा नहुनु नौलो कुरा होइन । उनको पक्षमा हुने र उनको कृपादृष्टिले छुने सौभाग्य पाएकाहरुले मजाले लाएखाएका हुनाले उनलाई अरुको बारेमा चासो नहुनु ठिकै पनि हो । आफ्नो र आफ्नाको बाहेक अरुको भोक प्यास र पिरमर्का बारेमा ध्यान दिने नेता र पार्टी आजसम्म नदेखिएको हुनाले यसमा पनि धेरै टाउको दुखाउने कुनै काम छैन’, चुपचाप लागेर अघिदेखि अरुको कुरा मात्रै सुनेर बसिरहेको हरिले भन्यो ।

‘सरकार प्रधानले कोही पनि भोकले मर्दैन र त्यस्तालाई घरमै खाना पुर्याएर खुवाउन सरकार पछि पर्दैन भनेको सुनेर होला कृषिमन्त्रीले पनि सबै जनताले कम्तीमा दुईतिन छाक भात, केटाकेटीले त अझ चारपाँच छाक भात, दूधदही, माछामासु आदि मन लागे जति खाने र मजाको निद्रा सुत्न जाने अवस्था आउँछ भनेर घोषणा गर्दागर्दै के नपुगेर मुग्लान भासिएका होलान् तिनिहरु ? कुरा नबुझेको हो कि कुन्नि कल्लाइ के नपचेको भनेजस्तो भएको हो केही बुझ्न सकिएन’, अम्मरेले भन्यो ।

‘उता महामारी फैलन थालेर डरले मर्न परे आफ्नै देशमा मरिन्छ र आफ्नो देशमा छिरेपछि जस्तो अप्ठ्यारोबाट पनि तरिन्छ भनेर चलनचल्ति अनुसार नाकाको जिम्मेवारी लिएर बसेकाहरुलाई माग अनुसार बिना रसिदको नगद समेत बुझाएर कतिजना छिरे कसैसित पनि रेकर्ड भएजस्तो लाग्दैन ।

विदेशबाट आउने सबैलाई रोजगारीको भयंकर व्यवस्था गरिन्छ भनेर केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरुले ठूलो ठूलो स्वरमा कुर्ले अनुसार केही रोजगारी पाइएला र प्राण धान्नेसम्मको खुराक खाइएला कि भनेर कुर्दाकुर्दा यहाँ खान नपाएर मरिने भयो र विदेशमा गएर जस्तो भएपनि काम गरिने भयो भन्ने उद्देश्यले उनीहरु जुन बाटो जसरी आएका थिए त्यहि बाटो त्यसरी नै फर्कन थालेका रहेछन् । आउँदा पनि नाकाका रक्षकहरुले यिनिहरुबाट खल्ती मोटो पारे अनि फर्कँदा पनि यिनिहरुबाटै निकै रकम झारे भन्ने सुनिए पनि मैले चाहीँ पत्याएको छैन’, नरेले भन्यो ।

‘यस्तो होला जस्तो मलाई त लाग्दैन है । सरकार प्रधान र उनका वरिष्ठ क्रान्तिकारी मन्त्रीले कोही भोकै मर्दैनन् भन्दाभन्दै र को को भोकै हुन सक्छन् भनेर संख्या गन्दागन्दै हिँड्नेलाइ उनीहरुले पनि के गरुन् त ? भोकाहरुको लगत लिने र व्यवस्थापन गर्ने जिम्मा पाएका तल देखि माथिसम्मका सबैजना मजाले अघाएका महानुभावहरु भएको हुनाले उनीहरुलाई अरु पनि आफूजस्तै अघाएर पोटिला भएका होलान् भन्ने लागेर चोटिला भाषण ठोक्नु स्वाभाविक हो । आफू जस्तो छ उसले अरुलाई पनि त्यस्तै देख्छ भनेको त्यसै त होइन नि, कसो?’, हरिले भन्यो ।

‘त्यो त चुनावको समयमा खोजिखोजी ल्याएर रोजिरोजी मासुभात जाँड रक्सी खुवाएको सम्झेर कोही भोकै बस्न पर्दैन भनेका होलान् । चुनावको बेलामा मन फुकाएर बताएपनि र पेटभरी खुवाएर भोटको लागि तताएपनि चुनाव पछि त्यो कुरा सकिइ हाल्यो । चुनावमा भाषण गर्दा भनेको सम्झेर अहिले पेट भरिन्छ भनेर कल्पना गरिन्छ भने आशैआशमा मरिन्छ भन्ने कुरा नबुझ्नेले के के भन्छन् त्यो सुनेर साध्य हुन्छ र ?’, अम्मरेले भने ।

‘पहिले पनि स्वरोजगार हो कि के हो नाम दिएर छुट्याएको अरबौँ बजेट कार्यकर्ताले झार उखेलेर र कुचो हल्लाएर भए पनि सकेको अनि सरकारमा भएका नेताहरुले युवाहरुलाई देशमै रोजगारी दिइयो भनेर बकेको हुनाले अहिले पनि त्यस्तै जोडदार कार्यक्रम ल्याइने भन्ने सुनेको छु है मैले त’, निकैबेर चुप लागेर बसेको पुष्पेले भन्यो।

‘त्यस्तो कामको लागि जति बजेट छुट्याएर जतिसुकै कार्यक्रम बनाएपनि र सबैको लागि भनेर जतिसुकै प्रतिवद्धता जनाएपनि अनि स्वरोजगार भनेर जता खनाएपनि अन्तिममा त्यो बजेट जाने भनेको कार्यकर्ताहरुको खल्तीमा नै हो’, नरेले भन्यो ।

‘अहिले त यहाँ काम र माम दुवै पाइएन भनेर दक्षिणतिर लाग्ने पनि धेरै रहेछन् र अन्य देशहरुबाट स्वदेश फर्कन चाहनेहरुको पनि त्यस्तै विजोग छ रे । गाडीमा आउन नमिल्ने भएकोले खाडीमा भएकाहरु प्लेन कुरेर बेखर्ची भएर बसेको धेरै भइसक्दा पनि सरकारले वास्ता गरेन भनेर उहीँ पनि नारा लगाएर बसेका छन् रे ।

नारा लगाउन सिकाउने गुरुहरु नै सरकारमा भएको बेलामा आफ्ना नागरिकहरुलाइ यता झिकाउने गतिलो व्यवस्था हुन किन सकेको छैन भनेर कसैले बुझ्न सकेका छैनन् रे । कोही चार्टर फ्लाइटको कमिशनको कुरा नमिलेर भन्छन्, कोही प्लाइट मिलाउन नसकेर भन्छन् ।

अलि अघि कहिले हो मान्छे लिन गएको राष्ट्र्यि ध्वजा बाहक अन्तिम अवस्थाको निर्देशन अनुसार यात्रु नलिइकन आयो र स्वदेश आउन विमानस्थलमा कुरेर बसेका यात्रुहरुले कति दुःख पायो भन्ने कसलाई थाहा होला र ? त्यो विमानले यात्रुको साटो सुन लोड गरेर आयो रे भन्ने सुनेपछि बेरोजगार मान्छेभन्दा अहिलेको आवश्यकता भनेको सुन भएकोले सरकारको तर्फबाट अहिलेको विपदको नियन्त्रण र रोकथामको नेतृत्व गर्ने मन्त्रीको आदेशमा त्यसो गरिएको हुनाले आफूहरु अपलोड हुनेमा परिएको हल्ला नै भएपनि ठिक हो भनेर यात्रुहरुले पनि चित्त बुझाएर अहिले पनि खाडीको पचास डिग्रिमा भोकै प्यासै कुरेर बसिरहेका छन् रे भन्ने पनि सुनिन्छ । खास कुरो चाहिँ के हो केही बुझिएन’, अम्मरेले भन्योे ।

‘अहिलेका नेतृत्ववालाहरुले फकाएर, तर्साएर, हप्काएर र झुक्याएर सबैभन्दा बढी लेबी उठाउने पनि त्यतैका सोझासिधा मजदुरहरुबाट नै हो रे । फेरि यताबाट ठूला नेताहरु मनोरन्जन र भ्रमणको लागि जाँदा नेता, उनका परिवारका सदस्यहरु र सबै भ्रमण दललाइ त्यहाँको सबैभन्दा महँगो होटलमा राख्ने, खुवाउने पिलाउने र सबैखाले मनोरन्जन दिलाउने तिनै मजदुर हुन् रे । अहिले दुःख पाएर आफ्नै पैसामा घर आउन सम्म नपाउँदा कस्तालाइ लगेर महँगा होटलमा पालिएछ र कस्तो उल्टो दिशातिर कदम चालिएछ भनेर पछुतो मानेका छन् रे भन्नेपनि सुनिन्छ’, पुष्पेले भन्यो ।

‘बल्लबल्ल दक्षिणबाट आएर मजदुरीको लागि फेरि उतै फर्कनु भन्दा त यतै खेतीपाती गरेको भए हुन्थ्यो होला नि’, हरिले भन्यो ।

‘गरिस् खेती ? यहिँ बसेर खेती गर्नेले त धान काट्ने बेला हुन लागिसक्दा समेत मल नपाएर बहुलाउने बेला भइसक्यो । महान नेताको घरबेटीले ठेक्का लिएर नल्याएपछि बल्ल बंगलादेशका सरकार प्रधानसित यताका सरकार प्रधानले पैँचो दिन पर्यो भनेर मागेका छन् रे । फोनबाट कुरा गरेर पैँचो त मागे अब प्रक्रिया पूरा गरेर मल आइपुग्दा अर्को बाली लगाएर काट्ने बेला भयो भने अचम्म नमाने पनि हुन्छ । अनि गरिहाल्यो नि खेती’, नरेले भन्यो ।

‘देशमा लकडाउन छउन्जेल कोरोना संक्रमणपनि खासै पैmलिएन तर लकडाउन अन्त्य भएपछि पो फैलिन थाल्यो । सरकार,यसका जिम्मेवार व्यक्तित्वहरु, विभिन्न विषयका विज्ञहरु सबैलाइ झुक्याएर कोरोनाले लकडाउन पछि मात्रै असली रुप देखायो त । कोरोना परीक्षण किट, मास्क, स्यानिटाइजर, पिपिइ, औषधी र अन्य सामानहरुमा कमिशनको जालो देख्दा माथि बसेका जति सबैको मनमा कालो भएको थाहा भइहाल्यो । फेरि निषेधाज्ञा लागु भएपछि कोरोना संक्रमणले निकै ठूलो फड्को हानेर देखाएपछि खास समाधान यहि हो भन्ने जानेर भन्दापनि काम चलाउ समाधानलाई उपयूक्त मानेर निर्णय गर्नुलाइ नै अति राम्रो ठानेर काम गर्दा कोरोना बढेर तल्लो तहका कमाउँदै खाने र त्यसैबाट बालबच्चासम्म सबैको गुजारा चलाउने वर्गलाइ यो निषेधाज्ञाले पक्का पनि भोकले ढलाउने अवस्था देखिँदै छ । काम नभएर आफू र बालबच्चा भोकै भएको अवस्थामा भाडा तिर्न नसकेर डेराबाट निकालिएका पीडितलाइ के को लकडाउन? के को निषेधाज्ञा ? यसो हेर्दा यसको त कुनै समाधान नै नभएजस्तो गरेर सम्बन्धित जिम्मेवारहरुको प्राथमिकतामा नपरेको हो कि जस्तो छ । सबैभन्दा माथि भएकाहरुलाई कुर्सीको लुछाचुँडीमा जुद्धैमा फुर्सद छैन । त्यसभन्दा तलकालाई कमिशन भन्दा अर्थोकमा ध्यान छैन । निषेधाज्ञा लगाउने स्थानीय प्रशासनमा पनि यसोउसो गरेर गाल टार्ने र ठूलो कुरा गरेर माल झार्ने भन्दा अर्थोक गर्ने क्षमता छैन । अनि कसरी हुन्छ काम?’, अम्मरेले भन्यो ।

‘अब निषेधाज्ञा बन्द गरेर र एक कदम अघि सरेर सबै व्यापार र कारोबारहरु सुचारु गरिदिएमा सबैभन्दा राम्रो हो क्यारे । अब माथि बसेका दिग्गजहरुको के विचार हुन्छ हुने त्यहि हो । अरुले कराएर र यो अन्यौलमा हराएर केही काम छैन’, नरेले भन्यो ।

‘जसको महिनैपिच्छे तलब आउँछ, जसले नेता कार्यकर्ताको हैसियतमा कमिशन पाउँछ र जो विपक्षमा भएपनि केहि हातलागि हुनासाथ सत्तापक्षको साथमा उभिएर उसैको गीत गाउँछ उसलाइ लकडाउन निषेधाज्ञा वा अरु जेसुकै भएपनि केही मतलब छैन । अब त बजार खोलेर सबैखाले बन्द व्यापार सुचारु गरेपनि केही काम छैन किनभने जनतासित किन्न सक्ने क्षमता नै छैन । जनताले दुखजिलो गरेर सरसापट गरेर किन्ने भनेको त्यहि खानेकुरा हो । त्यसको पसल र बजारहरु त खुलेकै छन् । अरु त खुलेपनि झिँगा धपाएर बस्ने मात्रै भएकोले पनि सरकारले नखोलेको होला । यसमा चाहिँ बुद्धि पुर्याएकै हो भन्नुपर्छ’, अम्मरेले भन्यो ।

‘सरकार अन्यौलमा छ, प्रशासन अन्यौलमा छ, जनता अन्यौलमा छन्, विज्ञ र बुद्धिजिवी भनिएकाहरु समेत पनि अन्यौलमा छन् । यस्तो अवस्थामा तँ हामीले भनेर र गरेर हुने केही होइन । यतापनि छैन उतापनि छैन भन्ने खालका कुरा गर्दागर्दै ढिला पो भइसकेछ । ल जाउँ केटा हो उठ’ नरेले उठ्दै भन्यो ।

आजको चौतारी गफ सकियो । सबैजना उठेर बाटो लागे ।

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्