कोरोना भार: भिन्न धार (केही अनुत्तरित प्रश्नहरु)

ईश्वी सम्वत् २०२० लाई सन् २०१९ को डिसेम्बर ३१ ले फरक तरिकाले स्वागत गर्यो । यसले समग्र विश्वकै जनमानसलाई भयभीत बनाएको छ । भनिन्छ हरेक युगका २० पर्ने सालमा एउटा न एउटा महामारीले मानव समुदायलाई सन्त्रस्त पारेको छ ।

जस्तै सन् १७२० मा प्लेग, सन् १८२० मा हैजा, सन् १९२० मा स्पेनिस फ्लूले गिजोलेको थियो । यसप्रकार हरेक १०० वर्षको अन्तरालमा एक न एक भाइरस र रोगले सारा विश्वलाई आक्रान्त तुल्याउँदै लाखौँं लाख मानिसलाई मृत्युको मुखमा पु¥यायो । अझ १०० वर्ष अघिको स्पेनिस फ्लूले त करिब पाँच करोड मानिसकै ज्यान लियो ।

यो वर्ष विश्वभर जनजनको मनमनमा एउटा कहरपूर्ण जहरको त्रासले बास गरेको छ । यसले सरकार प्रमुख भनेन, ठूला बडा भनेन । उचनीच भनेन, सानातिनाको लेखै भएन । सम्पन्न र शक्तिशाली देशहरु पनि त्राहिमाम मानिरहेछन् । कोही यसको निदानका लागि लागि परिरहेछन् । कोही भने एक अर्कोमाथि दोषारोपण गर्नमा मुतेन्यानो महसुस गरिरहेछन् ।

सन् २०१९ को डिसेम्बर ३१ देखि चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको एक नयाँ भाइरस भएकाले यसको नाम नोवल कोरोना भाइरस (कोविड १९/ सार्स – २) राखिएको छ । नयाँ कोरोना भाइरसको यो असर नेपालमा मार्च २०२० को तेस्रो हप्तातिर देखापरेको हो ।

विश्वका अन्य मुलुकहरु जस्तै नेपालमा पनि गतः चैत्र ११ अर्थात् मार्च २३ तारिखदेखि ४ महिनासम्मको लकडाउन (बन्दाबन्दी) पछि खुकुलो पारिएको लकडाउनमा उत्पन्न जटिलताका कारण हामीलाई नोवल कोरोना भाइरस–१९ ले तोबा–तोबा पारेको अवस्था छ । हाल देशको अधिकांश जिल्लामा निषेधाज्ञासमेत जारी छ ।

अर्कोतिर अत्यधिक जनता न काम, न धाम, न उद्योग, न कलकारखाना, न विद्यालय, न क्याम्पस/कलेज, न विश्वविद्यालयको अवस्थाबाट गुज्रन बाध्य पारिँदा पनि कोरोनाको कहरले घट्ने नाम लिएको छैन । यसका बाबजुद पनि यो रोगको व्यापकता थप चुनौतिपूर्ण बन्दै दिनहुँ बढ्दै गएको रिपोर्ट हाम्रोसामु जगजाहेर छ ।

नेपालमा ५० हजार भन्दा धेरै संक्रमित भएकोमा ३ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । निको हुनेको संख्या पनि ३५ हजारको हाराहारीमा छ । देशको र विश्वको कुल सङ्क्रमितहरुको सङ्ख्या, निको भएका व्यक्तिको सङ्ख्या र मृतकको सङ्ख्याको आधारमा यो अनुपात क्रमशः यसप्रकार देखिन्छः

हाल विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि कोरोना भाइरसबारे हुँदा नहुँदा अफवाह फैलाउने काम भएको चर्चा छ । यो सवाल यहाँ यस कारण उठाइएको हो कि विश्वमा कोरोनाबाहेक अन्य कैयन् रोगका कारण दिनहुँ हजारौँ हजार मानिसहरुले मृत्युवरण गर्न पुगेका छन् ।

त्यसबारे विश्व स्वास्थ्य संगठन, सम्बन्धित सरकार, मन्त्रालय के–कत्तिको सचेत छ र जिम्मेवार बनेको छ ? त्यस्तै दुई तिहाई बिरामीहरुले कोरोनाको कहरलाई जितेर घर फर्किसक्दा के र कसरी बिरामीहरु निको भएर जान सके भन्नेबारे सर्वसाधारणलाई जानकारी प्रदान गरी मनोवैज्ञानिक तवरबाट जनसाधारणको मनोबल उच्च पार्नु आजको टड्कारो आवश्यकता हो ।

तर सरोकारवाला जिम्मेवार निकाय मौन रहेको मात्र हैन केवल डर, त्रास, भ्रम र आतङ्क सिर्जना गर्न उद्दत छ । यति मात्र हैन, राज्यहरुले सञ्चार माध्यममार्फत आजसम्म पनि खोप पत्ता लाग्न नसकेको र खोप तयार भएतापनि यो केवल एक–डेढ वर्षपछि मात्र सर्वसाधारणको पहुँचमा हुने जानकारी गराइएको छ । यो समाचारले सर्वसाधारणमाँझ कोरोना भाइरसलाई हाउगुजीका रुपमा हौवा खडा गरी पानी धमिल्याएर माछा मार्ने काम त भएको होइन, यो कतिपय गरिखाने आम सर्वसाधारण व्यक्तिले उठाउने गरेको प्रश्न हो ।

अहिले विश्व स्वास्थ्य संगठन र हरेक देशका सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग तथा प्रायः एलोप्याथिक डाक्टरहरुले यो रोगको भयावह रुपबारे मात्र प्रकाश पार्ने गरेका छन् । तर उनीहरु कसैले पनि निको भएर घर गएकाहरु कसरी ठीक भए त भन्ने तथ्यमाथि प्रकाश पारेको पाइएको छैन ।

यो आँकडामा कतिपय मृतकहरु अन्य रोगबाट मरेका भएपनि मृत्युपश्चात् पीसीआर टेष्ट गर्न लगाई सोको रिपोर्ट पोजिटिभ आएको भन्दै यसै रोगको कारणबाट मृत्यु भएको सङ्ख्या बढाउँदै घोषणा गर्ने गरिएको तथ्यसहितका प्रतिक्रिया स्थानीय जनताले जनाउन थालेको एउटा घटना यहाँ चर्चा गर्नु प्रासङ्गिक मानिन्छ –

केही दिनअघि इखाछेँ टोलवासी एकजना २९ वर्षीय युवा दुवै मृगौलाले काम गर्न छोडेको हुँदा लकडाउनका बेला आवश्यक औषधोपचार र आवश्यक खानपानको व्यवस्था गर्नमा समस्या हुन जाँदा उनी मृत्युवरण गर्न पुगे । तर हाम्रो सरकारी माध्यम र सम्बन्धित अस्पतालले उनलाई मङ्गल बजारनिवासी भएका र कोरोना भाइरसबाट मृत्यु भएको भनेर प्रचार गरिदियो ।

विदेशमा यो भाइरसले दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएका बृद्धबृद्धाहरुलाई बढी आक्रमण गर्ने भनेतापनि नेपालमा भने युवाहरुलाई समेत आक्रमण गरेको गलत सूचना जारी गरिएको तथ्य हालै हाम्रोसामु उदाङ्गिएको छ निजको परिवारसँगै बसी ललितपुरका भीम शाक्यबाट व्यक्त अनलाइन अन्तर्वार्ताका क्रममा । (२०७७।०५।१७ मा बिहान ९ः५० मा प्रसारित योहो टिभी अपडेट) वास्तविकता के हो सरोकारवालाबाट स्पष्ट हुन जरुरी छ ।

सकारात्मक रुपमा लिनुपर्दा नेपाल एक भाग्यशाली राष्ट्र हो । भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकहरुले यसलाई घेरेको छ । हाम्रो देशमा कुनै समस्या आइपर्दा यी छिमेकी राष्ट्रहरुबाट सहयोग हुने गरेको छ । नेपालको दक्षिणी भूभागमा विशाल देश भारत रहेको छ । यसले नेपाललाई पूर्वी र पश्चिमी दिशाबाट पनि घेरेको छ ।

भारतद्वारा घेरिएको भूभागको क्षेत्रफल करिब १८५० कि.मि. छ । हाम्रो देशको उत्तरी सिमानामा विशाल चीन रहेको छ । चीनद्वारा घेरिएको भूभागको क्षेत्रफल करिब १४८० कि. मि. रहेको छ । नेपालको उत्तरी भूभाग विश्वकै उच्च हिमाच्छादित शिखरहरुले सुशोभित छन् जसले यस देशको प्राकृतिक रुपमै सुरक्षा कवचको काम गरिरहेको मानिन्छ ।

त्यसरी नै यस देशको दक्षिणी भूभाग विशाल अन्नप्रदायिनी फाँटले भरपूर छ जुन दक्षिणी सिमानामा फैलिएर रहेको छिमेकी राष्ट्र भारतका भूभागसँग सर्लक्क आँठो जोडेर सुतेको छ । नेपाल र भारतका बीच खुल्ला सिमाना भएको कारणले पनि प्राचीन समयदेखि नै दुई देशबीच भौगोलिक, धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सम्बन्ध रही आएको छ ।

नकारात्मक रुपमा लिनुपर्दा नेपालका बडा महाराजा पृथ्वीनारायण शाहले भनेजस्तै यो दुई ढुङ्गाबीचको तरुलका रुपमा रहेको छ । अर्थात् दुवैतिरका देशहरु क्षेत्रफलका दृष्टिले र जनसङ्ख्या तथा आधुनिक प्रविधियुक्त कलकारखाना र उद्योगधन्धाहरुको विस्तारको हिसाबले हामीभन्दा धेरै माथि छन् ।

जसरी ढुङ्गाको कापबीचको तरुल फैलिन गार्हो–साँगुरो पर्दछ, त्यस्तै अवस्था नेपालको रही आएको छ हालका वर्षहरुको परिस्थितिको विश्लेषण गरी हेर्दा । हुन त पीपल पनि ढुङ्गाको कापबाटै निक्लन्छ, तर त्यो कति फस्टाउन सक्छ ? प्रश्न यहाँनिर हो । यो बीसौँ सदीमा हामी बढी चेपिएर निस्सास्सिएर कति हेलो–होचो खप्ने ? हाम्रो पुस्तासम्मका जनताले जे सहनु थियो त्यो सह्यो, अब हाम्रा सन्ततिका लागि बाटो खुल्ला बनाउने काम हाम्रो हो ।

सानो राष्ट्र भैकन पनि बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक वैशिष्ट्यताको धनी यो देशको दक्षिणी भूभागमा बसोबास गर्ने बासिन्दाको प्राकृतिक, भौगोलिक, जातीय, धार्मिक, सामाजिक, सांस्कृतिक र भाषिक रुपमा छिमेकी राष्ट्र भारतसँग अत्यन्त घनिष्ट सम्बन्ध रही आएको छ ।

आजभन्दा १०० वर्षअघि आत्मनिर्भर अर्थतन्त्रको धनी देश नेपाल अहिले धेरै कुराहरुमा विदेशी सहयोगको मुखापेक्षी बन्न गएको छ । एक गरिब राष्ट्र भएकाले यहाँको कृषि, उद्योग, व्यापार, वाणिज्य, यातायात, सञ्चार, जलविद्युत, शिक्षा, स्वास्थ्य आदि विविध क्षेत्रमा भारतको योगदान उल्लेखनीय रही आएको छ ।

तथापि रेमिट्यान्सको दृष्टिबाट नेपालले भारतलाई करिब पौने चार खरबको सहायता गरिरहेको आ. व. २०७६/०७७ को आर्थिक प्रतिवेदनले जगजाहेर गरेको छ । यसबाट दुवै राष्ट्रले आ–आफ्ना विशिष्टताका आधारमा आ–आफ्नो अनुकूलको सुविधा, सहयोग र अर्मपर्ममा सघाऊ गर्दै आएको तथ्य सिद्ध हुन्छ ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण दुवै देशका जनता एक अर्को देशका सबै इलाका र क्षेत्रमा निर्बाध आवत–जावत गरिरहेछन् । तर वर्तमान कोरोना भाइरसको महामारीका कारण यसबारे गम्भीरतापूर्वक सोचविचार गर्नुपर्ने समय आएको छ ।

यो खुलापनका कारण यदाकदा कुनै व्यक्ति वा समूहबीच झै–झगडा हुँदा र कसैले अपराधजन्य कार्य गर्दा खुला सिमानाको फाइदा उठाउँदै यताका उता गएर र उताका यता आएर आफूलाई सुरक्षित ठान्ने र विभिन्न अप्रिय घटना घट्ने–घटाउने प्रवृत्ति नदेखिएको पनि होइन । दुवै देशका सरकारले आ–आफ्ना जनताले प्राप्त गरिरहेको लाभका कारण दुई देशबीचको सिमानालाई बन्द गर्नुपर्ने आवश्यकता महसुस हुँदाहुँदै पनि दुवै पक्ष तैँ चूप मै चूपको अवस्थाबाट गुज्रिरहेका छन्।

हाल आएर भारतमा कोरोनाबाट सङ्क्रमित व्यक्तिहरुको सङ्ख्यामा अत्यधिक बृद्धि हुनुका साथै यस रोगको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिहरुको सङ्ख्यामा पनि बृद्धि हुँदै जाँदा यस सम्बन्धमा नेपाल र भारत दुवै राष्ट्रहरु बढी सतर्क हुनुपर्ने र सचेत बन्नुपर्ने हो ।

दुई देशको खुला सिमाना, दुवैतर्फका जनताको धार्मिक विश्वास र अन्धविश्वास, वैवाहिक सम्बन्ध, व्यापारिक सम्बन्ध आदिका कारण यो रोगले एक कान दुई कान मैदानका रुपमा न परिवार, न समुदाय, न टोल, न सिमाना भनी २१ औं शताब्दीका विकसित मस्तिष्कका मानवजगतलाई नै चुनौति दिइरहेको छ । त्यसैले आजको यो अवस्थाको चिरफार गर्दै गर्दा हामीले केही गम्भीर निर्णय लिनुपर्ने आवश्यकता हाम्रोसामु टड्कारो रुपमा तेर्सिएको छ ।

काम गरेर मात्र गुजारा गर्नुपर्ने निम्न आयस्तरका जनतालाई राज्यले केही राहत बाँडिरहेको छ । यो राम्रै पक्ष हो, तर राज्यले पनि यो किसिमको राहत कतिदिनसम्म र कति महिनासम्म पु¥याउन सक्ला ? गाँठी प्रश्न यहाँनिर छ भन्ने लाग्दछ । सम्पूर्ण कल–कारखाना, उद्योग–धन्धा, कृषिजन्य उत्पादन ठप्प रहेपछि बिहान खाए बेलुकी के खाउँ र बेलुकी खाए बिहान के खाउँको अवस्थाबाट गुज्रिरहेका हुँदाखाने वर्गका मानिसहरु हिजो कामभन्दा ज्यान प्यारो मान्न राजी भएतापनि आज रोग ठूलो कि भोक ठूलो भन्ने प्रश्न चोटिलो प्रश्न हामीमाझ तेर्सिएको छ ।

‘रोजगारी र कामको अभावका कारण दिनदिनै भोकले तड्पेर मर्नुभन्दा बरु गोली थापेर मर्नु वेस’ भन्न थालेका छन् । यसप्रकार हरेकको आयस्रोत शून्य हुँदै गर्दा बन्दाबन्दीले सिर्जित तीतो यथार्थ कसरी प्रतिबिम्बित हुने हो ? यसको आँकलन हामी कतिले गरिरहेका छौं ? एक जल्दो–बल्दो प्रश्न ।

हाम्रो देशमा एउटा विश्वास छ नाग पञ्चमीपछि जाडो पलाउने र वसन्त पञ्चमीपछि गर्मी सुरु हुने । अहिले नाग पञ्चमी गएको पनि करिब डेढ महिना हुन लागेको छ । यो बेला रुघा खोकी लाग्ने, ज्वरो आउने र अझ टाइफाइडसमेत हुने विगत हरेक वर्षका यथार्थ हुन् । अहिले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरु बढी देखापर्नुमा यिनै साधारण रुघा, खोकी वा फ्लू कारण हुनसक्ने कुरालाई नकार्न सकिएला जस्तो लाग्दैन ।
६०/७० वर्षअघि नेपालीहरु मूलतः घरेलु औषधी, आयुर्वेदिक औषधीमै भर पर्दथे । नेपालमा यातायातको सुविधा विस्तार हुँदै गएपछि एलोप्याथी औषधीले हाम्रा होम्योप्याथी र आयुर्वेदिक औषधी उपचारलाई रछानमा मिल्काइदिएको छ किनकि आयुर्वेदिक औषधीका लागि गरिएको प्याकिङ चरिच्याँट्ट पारी प्याकिङ गरिएको एलोप्याथिक दबाइ बढी आकर्षक लाग्छन् । प्रायः मानिसहरु कुनै पनि वस्तुको आन्तरिक गुणभन्दा बाहिरी रुपसँग आकर्षित हुने गर्दछ र त्यो बाहिरी आवरणले मानव समुदायलाई लठ्याउने पनि गरेको छ ।

कतिपय रोगसँग लड्नका लागि सामान्य नियमले पनि धेरै मद्दत गर्दछ । जस्तै कब्जियतबाट बच्न, बाथ रोग तथा युरिक एसिडबाट बच्न सिधै औषधी लिनुभन्दा दिनमा २/३ लिटर पानी पिउनाले राम्रो गर्ने, पिनासले सताएमा जलनेती विधि अपनाउने आदिले सकारात्मक काम गर्दछ । एउटा वास्तविकता यहाँ राखौँ आज पनि हाम्रो घर–गाउँमा सामान्य रुघा, खोकी र निमोनियामा समेत बेसार, जीरा, धनियाँ, ज्वानो, मुग्रेलो, जिम्मु, सिधे नून वा बीरे नून मिलाएको पानी उमालेर दिनमा ३/४ पटक पिएर ठीक पार्ने गर्दछन् ।

हाम्रो भान्छा कोठा घरेलु औषधीको भण्डार हो र हाम्रा आमा, छोरी–बुहारी तिनको सही प्रयोग गर्ने घरका डाक्टर हुन् भन्ने विचार पनि विभिन्न माध्यमहरुमा आइरहेका छन् । हुन पनि हाम्रो भान्छा कोठामा रहेका जीरा, धनियाँ, मरिच, दालचिनी, बेसार, लसुन, अदुवा, ज्वानो, जाइफल, प्याज, आदिमा औषधीय गुण रहेका छन् जसले हामीलाई विभिन्न रोगबाट मुक्त पार्न सहयोग गरिरहेका छन् ।

हामीले बेलाबखत प्रयोग गर्ने प्रकृतिका उपजहरु तुलसी, पदिना, कागती, अमला, गोलभेडा आदिले रुघा, खोकी लगायतका रोगप्रतिरोधी क्षमता अभिवृद्धिमा मद्दत गर्ने गर्दछन् । अहिले कोरोनाबाट बच्नका लागि कतिपय सञ्चार माध्यमले तुलसी, गुर्जो, लगायतका माथि उल्लिखित विभिन्न औषधीजन्य मसलाहरुले सहयोग गर्ने कुराहरु अगाडि आइरहेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालय र आयुर्वेदिक डाक्टरहरुले पनि वर्तमान महामारीबाट भयभीत नभई हाम्रा घरेलु औषधी र आयुर्वेदिक औषधी लिनाले फाइदा हुने गरेको तथ्यलाई निर्देशिकाका रुपमा प्रकाश पारेको पाइएको छ । यो खुशीको कुरा हो । तर यसलाई जति व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्ने हो त्यो भने हुने सकेको छैन । त्यसमा हामी दुःखी छौं ।

अझ थप सत्यतालाई उजागर गर्नु पर्दा गतः फागुन, चैत र वैशाख महिनामा यस पङ्क्तिकारलाई रुघा, खोकी, टन्सिल, पिनासले ग्रस्त पारेको थियो । लामो समयसम्म त्यसबाट छुट्कारा नपाउँदा कतै कोरोना भाइरस लागेको त होइन भन्ने त्रास सिर्जना नभएको होइन । बेलाबखत हाम्रा काका डा. कृष्णबहादुर श्रेष्ठ र दाजु सनतकुमार श्रेष्ठ तथा अन्य साथीभाइसँग भेटघाट हुँदा जँचाउने हो भने आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको भन्न सक्ने कुरा पनि चर्चा गर्ने गरियो ।

यसका लागि छोरी आभाको सल्लाहमा अमोक्सिसिलिन एक हप्तासम्म लिइयो । यसले पनि ठीक नभएपछि एजिथ््राोमाइसिनको पूरा मात्रा सेवन गरियो । तर यसबाट पनि छ्याङ्ङ निको भएको महसुस नहुँदा सनत दाजुले पिनासका लागि वहाँको छोरीले जलनेती विधि अपनाउने गरेको कुरा सम्झाइदिनुभयो । यो जलनेती विधि पहिले–पहिले यस पङ्क्तिकारलाई पिनासको समस्या हुँदा अपनाइरहेकै विधि हो । यो सुझाबपछि यो विधिलाई नियमित हरेक बिहान अपनाउने गर्दा हप्ता दश दिनमै सञ्चो भएको थियो ।

यसप्रकार यी सरल विधिहरुलाई एकातिर थन्काई केवल महँगो औषधी र परीक्षणतिर सर्वसाधारणलाई धकेलिदिनुले कतै हाम्रा विज्ञ भनाउँदाहरुलाई अप्रत्यक्ष रुपमा फर्मासिस्ट र एलोप्याथीका उत्पादकहरुले बाँड्ने गरेको प्रलोभनले आँखामा पत्ती लगाइदिएको त होइन ? यस पङ्क्तिकार कुनै विषय विज्ञ होइन ।

त्यसैले यी प्रश्न गर्ने अधिकार यो पङ्क्तिकारलाई छ छैन ? थाहा छैन । तर एउटा सचेत नागरिकको हैसियतले सबै नागरिकले भोगेको मनोवैज्ञानिक आतङ्क र समाजमा फैलिरहेको यो महामारीसम्बन्धी व्यापक भ्रम चिर्न आवश्यक भएको र निम्न प्रश्नहरु आज पनि अनुत्तरित अवस्थामै रहेकाले सम्बन्धित सबैको ध्यानाकर्षणको लागि यहाँ प्रस्तुत गरिएको छ । सरोकारवाला जिम्मेवार पक्षबाट यससम्बन्धमा यथाशीघ्र भ्रम चिर्ने पहल हुने आशा गरिन्छ ।

सुनिएको छ, कोरोना भाइरस ६ किसिमका छन् । कोरोना भाइरस र नोवल कोरोना भाइरसबीच के भिन्नता छ ? पिसिआर टेष्ट गर्दा सबैलाई सिटीको जानकारी दिइन्छ वा दिइँदैन ? बिरामी व्यक्तिको मृत्यु भइसकेपछि त्यसको गणना कोरोनाको कारणबाट भन्ने गरिएको छ, यो के हो ? नेपालमा प्रति दिन विभिन्न रोगबाट मर्ने मानिसहरुको सङ्ख्या कति छ ? ती कुन–कुन रोगबाट मर्ने गरेका छन् ? त्यस्तै विश्वमा विभिन्न रोगबाट मर्ने मानिसहरुको सङ्ख्या कति छ ? ती कुन–कुन रोगबाट मर्ने गरेका छन् ? हाल नेपाल र विश्वमा घोषित कोरोनाको सङ्क्रमण कुन किसिमको हो – नोवल कोरोना भाइरस वा सामान्य कोरोना भाइरस ?

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्