लिदीको पहिरोदेखि काभ्रेको एसओएससम्मको यात्रा

अनि पहिरोमा आमा गुमाएका रञ्जित र उनकी बहिनीले नयाँ घर पाए…

त्यो दिन रञ्जित (नाम परिवर्तन) को आँखा खुलिसकेको थियो, उनी सुतेर मोबाइलमा भिडियो हेरिरहेका थिए। एक्कासी उनको कानमा ‘गुडुडुङ’ आवाज आयो। घर ‘थरर’ थर्किन थाल्यो, छानामा केही खसेजस्तो सुनियो। रञ्जितका बुवा शौचालय गएका थिए, बाहिरबाट बोलाउन घर भित्र आए। ६ वर्षकी बहिनी बुवाको नजिक देखेका थिए। आमा बुवा नजिकै आइपुगेकी थिइन्। उनीहरुले ढोका खोलेर बाहिर हेरे।

रञ्जितले भने ‘के भयो’ भन्ने मेसो नपाउँदै झ्यालबाट बाहिर फाल हाले । उनको कानमा बुवाले ‘भाग भाग’ भनेको मात्र आवाज आयो। उनले आँखैअगाडि माटो बगेको देखे अनि त्यही माटोले उनलाई पनि पुर्‍यो। ‘मलाई छिमेकीको छोराले झिक्यो,’ तामाङ लवजमा रञ्जितले भने, ‘बहिनी बुवालाई पनि छिमेकीले नै झिके।’ उनीहरुलाई अस्पताल लगियो। राम्ररी होश आउँदा उनी अस्पतालमा थिए, उनले बहिनी र बुवालाई मात्रै देखे।

बिहानको ६ बजे आसपासको त्यो समयमा उनलाई आमा र दाजु कता थिए, थाहा छैन। त्यसपछि उनले आमा र दाइलाई कहिले पनि देखेनन्। उद्धारपछि उनले सुने, आमा र दाजुलाई पहिरोले लग्यो।

साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा एकाबिहानै भीषण पहिरो गयो। पहिरोले २९ घरमा क्षति पुर्‍यायो। एउटा घरका सपरिवारको निधन भयो। सँगै ३७ जनाको ज्यान गयो भने दुईजना अझै बेपत्ता छन्। अन्य ११ घरले आफ्नो परिवार गुमाएका छन्। यही कहालीलाग्दो दुर्घटनामा रञ्जित र उनकी बहिनीका आमा र दाइ पनि परे। भीषण पहिरोले पुरेको उनको आमा र दाइलाई न छिमेकी न काठमाडौँबाट गएको नेपाली सेनाको हेलिकप्टर गएको टोलीले पनि बचाउन सके।

शुक्रबार भएको उक्त घटनाले रञ्जित र उनकी बहिनी जस्तै १४ जनाले अभिभावक खोसेको जुगल गाउँपालिका वडा नं २ का अध्यक्ष प्रताप तामाङले बताए।

पहिरोपछि

रञ्जितलाई धेरै कुरा याद छैन। ९ वर्षका रञ्जितलाई मात्रै ‘पहिरो गएपछिको डर’ स्मरण छ। पहिरो आयो भन्ने थाहा पाउँदा उनी अत्तालिएका थिए, त्यसपछि उनलाई भागेर झ्यालनिर जाने सुझ आयो। घरी रोक्किदै, घरी सम्झँदै उनी पहिरो स्मृति बताउँछन्। बोल्दाबोल्दै रोक्किन्छन्, उनको अनुहारको रंग परिवर्तन भइरहन्छ। अनि बेला बेलामा टोलाउँछन् पनि।

अस्पतालमा सामान्य उपचार गराएर उनी फर्के। उनको घर भएको लिदी तहसनहस भएको थियो। उनी खेल्ने आँगन, फराल्ने काल्ना, साथी–साथी दौडने गोरेटो बाटो सबै कहालीलाग्दो भिर भएको थियो। पहिरोले उनको घरसँगै सुन्दर बालापन, आमाको ममता अनि दाजुको स्नेह सोरेर बगाएको थियो।

सिन्धुपाल्चोक बाँसखर्कको अस्थायी टहरा।

त्यसपछि उनीहरु बाँसखर्क, सेराङ आइपुगे। लिदीको घरभन्दा ८ घण्टा पर निलो टेन्टमा उनी बहिनी र बाबासँग बस्न थाले। त्यहाँ ११४ वटा अस्थायी टहरा छन्। लिदीको गाउँ पूरै सरेर सेराङको थलीमा बसाइँ सर्‍यो। रञ्जितलाई अनौठो लाग्दै थियो। उनी बसेको ठाउँमा नयाँ नयाँ मान्छेहरु आउन थालेका थिए। सेना, रेडक्रस अनि कतिपयलाई उनी चिन्दैनन्। घर भत्किएको एक महिना हुँदै थियो, रञ्जित सेराङमा रमाउँन थालेका थिए। फुटबल खेल्थे, उनलाई कसले हो, नयाँ नयाँ लुगा पनि दिएका थिए।

एसओएससम्मको यात्रा

भदौको २५ गते बिहान उनलाई बाबाले टाउको सुम्सुमाए। अनि उनलाई सम्झाए, ‘आज तिमी र बहिनी यहाँबाट जानुपर्छ।’ उनलाई कहाँ जाने, कोसँग जाने केही थाहा भएन, मनमा चिन्ता परिरहेको थियो। बाबाले सम्झाए, ‘म भोलि लिन आउँछु।’ त्यसपछि गाडी आयो। उनकै गाउँका अरु पाँचजना साथीहरु पनि गाडीमा थिए । गाडीले चौतारामा लगेर छोड्यो ।

त्यहाँ अर्को माइक्रोभ्यान रहेछ, गाडीबाट केही पुरुष निस्किए, उनीहरुलाई गाडीमा चढ्न भनियो। बाबुको हात छोडेर रञ्जितजस्तै ७ जना त्यो गाडीमा चढे। गन्तव्य कता थियो, उनीहरुलाई पत्तो थिएन। पहिरोमा सर्वस्व गुमाएका यी बालबालिका मुखमा मास्क लगाएर माइक्रो चढे। शायद उनीहरुसँग विकल्प थिएन। पहिरो आएदेखि आफूभन्दा ठूलाले जता भन्छन्, उनीहरु त्यतै गइरहेका थिए, जे भन्छन्, त्यही मानिरहेका थिए।

जसोजसो गाडी अगाडि बढ्यो, उनीहरुसँग आफ्नो ठाउँ छुट्न थाल्यो। पहिले लिदी, त्यसपछि सेलाङ अनि अब आफ्नो जिल्लाभन्दा पनि धेरे टाढा। आफ्नो जीवनमा के भइरहेको छ भनेर कमै अन्दाज लगाउन सक्ने उमेरका यी बालबालिकाले छिनछिनमा नयाँ मोडहरु सामना गरिरहेका थिए। सिन्धुपाल्चोकदेखि एसओएस बालग्राम, काभ्रेसम्मको यात्रामा बाटोभरि धेरैलाई वान्ता भयो। रञ्जित र उनकी बहिनीलाई पनि गाडीमा हिँड्ने बानी थिएन। दोलालघाटमा खाना खान गाडीले रोक्यो। तर वान्ता गरेर बटारिएको पेटमा खाना छिरेन। राति १० बजे आसपास उनीहरु बल्ल बालग्राम आइपुगे।

एसओएस बालग्राममा आइपुगेपछि

भदौ २६, दिउँसो दुई आन्टीहरु १० जना बालबालिकालाई खेलाउँदै थिए। तीन जनालाई केही दिन अगाडिमात्रै सिन्धुपाल्चोकबाट बालग्राम ल्याइएको थियो। यी तीनले पनि पहिरोबाट अभिभावक गुमाएका थिए।

दुई आन्टीले बालबालिकालाई तातोपानी र डेटोलले हात र खुट्टा धोइदिए, उनीहरुको हात खुट्टामा सानो सानो घाउ लागेको छ। त्यसपछि उनीहरुको कपडा फेरिदिए, खाना खान दिएपछि सुत्न पठाइयो।

‘१२ बजे आसपास नानीहरुलाई सुतायौँ,’ आन्टी संगीता बन्जाराले भनिन्, ‘केही नानीबाबुहरु रातभरि रोए, आज भर्खर घर छोडेर आएको भएर होला। हामी दुईजना रातभर सुत्न पाएका छैनौँ।’ राति रुने समूहमा रञ्जित पनि थिए, रञ्जितकी बहिनी दाजुको हात समातेर टुलुटुलु हेरिरहेकी थिइन्। उनी नेपाली बोलेको बुझे पनि राम्ररी बोल्न जान्दिनन्।

एसओएस बालग्रामको नियमले बालक र बालिका एउटै ओछ्यानमा सुत्न मिल्दैन। तर आत्तिएका रञ्जित र उनकी बहिनी छुट्टिन मानेनन्। त्यो रात रुँदारुँदै बित्यो। भोलिपल्ट उनीहरु थोरै आत्मीय महशुस गरिरहेका आन्टीले बताइन्।

घर छोडेर बाहिर आउँदा नबोल्नु, अनौठो लाग्नु सामान्य हो तर पहिरोले छोडेको डर बालबालिकाको मनमा ताजै छ। भोलिपल्ट आन्टीले नुहाइदिँदै गर्दा कोही कोहीले बोले, ‘हाम्रो आमालाई पहिरोले लग्यो, बाबा हुनुहुन्न।’ लिदीबाट आएका बालबालिकाहरु ५ वर्षदेखि १२ वर्षसम्मका छन्।

उनीहरुलाई बालग्रामको स्कूलमा राखिएको थियो। बालग्रामका निर्देशक सुरेन अमगाईका अनुसार, ‘कोरोना कहरको बेला भएकोले उनीहरुलाई स्कूलकै एउटा भवनमा क्वारेन्टिनमा राखिएको हो। बालग्रामका अरु बालबालिकाहरुलाई जोखिम नहोस् भनेर क्वारेन्टाइनमा राखिएको हो। क्वारेन्टाइन अवधि सकिएपछि बालबालिकालाई बालगृहको आमाको जिम्मा लगाइन्छ। क्वारेन्टाइनमा उनीहरुलाई दुई आन्टीहरुले ख्याल गरिरहेका छन्।’

कसरी आइपुगे एसओएस बालग्राम?

पहिरोले बिल्लीबाठ बनाएपछि बाँसखर्कमा अस्थायी बसोबास बसाइएको छ। यहाँ भएका बालबालिका जसले आफ्नो अभिभावक गुमाएका छन्, तिनको संरक्षण र शिक्षाको दीर्घकालीन व्यवस्थाको बारेमा छलफल भइरहेको थियो।

यसै क्रममा सभामुख अग्नि सापकोटाको पहलमा यी बालबालिकालाई एसओएस बालग्राम, काभ्रेमा लैजाने व्यवस्था मिलाइयो र वडा अध्यक्ष प्रताप लामासँगको समन्वयमा एसोएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अमगाई, नायब निर्देशक बिनोदमणि भट्राईसहितको टोली भदौ २५ गते सिन्धुपाल्चोक गए। अहिले रञ्जितसहित ६ बालक र १ बालिका बालग्रामको संरक्षणमा छन्।

बालग्राममा उनीहरु कसरी बस्छन्?

एसोएस बालग्राम विशेषगरी अभिभावक नभएका बालबालिकाको घर हो। सन् १९४९ अष्ट्रियाबाट सुरु भएको यो बालग्रामको विश्वभर १३५ देशमा ५७० ओटा बालग्रामहरु छन् । नेपालमा सन् १९६० मा एसओएस बालग्रामको स्थापना भएको हो। अहिले नेपालमा विभिन्न १० ठाउँमा एसओएस बालग्रामहरु छन्। नेपालभर एसोएस बालग्राममा नै बस्ने बालबालिकाहरु १९२३ जना रहेको तथ्यांक छ।

‘अब यी बालबालिकाहरु बालग्रामका छोरा छोरी भए,’ एसओएस बालग्राम काभ्रेका निर्देशक अमगाई भन्छन्, ‘क्वारेन्टाइनको समयअवधिपछि बालग्रामभित्रको १४ वटा घरमा यी बालबालिकालाई कहाँ मिल्छ त्यहाँ राख्छौँ।’

एसोएसको गेट किपिङ पोलिसीमा ‘सिब्लिङ’ अर्थात एकै आमाका सन्तान बालग्राममा आइपुगेका छन् भने उनीहरुलाई छुट्याइन्न।

बालग्रामभित्रका हरेक घरमा एकजना आमा हुन्छन्। उनीहरुको कम्तिमा १० सन्तान हुन्छन्। उनीहरुको लालन पालन, शिक्षा दीक्षाको काम एसओएसले नै गर्छ। १६ वर्षपछि उनीहरुलाई एसओएसको निगरानीमा बालग्राम बाहिर बस्ने व्यवस्था गरिन्छ। उनीहरुको विवाह, पढाई खर्च एसओएसले नै व्यहोर्ने गर्छ। कक्षा ३ पढ्ने रञ्जित र शिशु कक्षामा पढ्ने उनकी बहिनी अब एसओएसको परिसर भित्रको विद्यालयमा नै पढ्नेछन्।

‘नयाँ आएका बालबालिकालाई एसओएसले यहाँको वातावरणमा घुलमिल गराउन काउन्सिलर राखेको हुन्छ,’ अमगाई भन्छन्, ‘हामी सकेसम्म उनीहरुको मनस्थिति बुझेर बालबालिकालाई अडजस्टेबल वातावरण निर्माण गर्छौ।’

एसओएस बालग्रामको परिसरभित्र पुगेपछि बालक छोरा र बालिका छोरी भनेर सम्बोधन गरिन्छन्। निर्देशक अमगाई अब रञ्जित लगायत अरु बालबालिकाका बुवा भए। अहिले आन्टीको संरक्षणमा रहेका उनीहरुले केही दिनमा नै नयाँ आमा पाउनेछन्। रञ्जित र उनको बहिनी अब नयाँ घर आए।

साउन १३ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीका बासिन्दाले बस्ती जोखिममा परेको भनि विपद् जोखिम व्यवस्थापन समिति सिन्धुपाल्चोकमा स्थानान्तरण गर्न निवेदन दिएका थिए। प्रशासनले बेलैमा निवेदनलाई ध्यान दिएको भए सायद यो दुर्घटना नहुँदो हो।

एसओएसले आफ्नो पोलिसिभन्दा बाहिर बसेर यी बालबालिकाको उद्धार गरेको छ। निर्देशक अपगाई लिदीमा रहेका १२ वर्ष माथिका बालबालिकाको संरक्षणको बारेमा पनि सोचिरहेका छन्। रञ्जित र उनका साथीहरुलाई भने पछि परिवार लिन आएमा फर्काउने व्यवस्था गरी ल्याइएको छ।

तर डाँडै सोरेर लगेको लिदीमा बस्ती कहिले बस्ला यसको टुङ्गो छैन । पहिरोले पुर्दा रञ्जितको ढाँडमा र गालामा घाउँ लागेको थियो। घाउ पुरिएर खाटा बसेको छ। दुखाइ कम भएको छ। तर उनको मनमा लागेको घाउँ पुरिएला त ?

 

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्