हामी पनि सम्पन्न हुन सक्छौं

हामी जहिले पनि भाग्यमा भर पर्ने र निराशाबादी सोचमा डुबिरहेका हुुन्छौं। हाम्रो देशमा एउटा सियो पनि उत्पादन हुुँदैन, हामी कसरी धनि हुुन सक्छौं? हाम्रा युवाहरु सबै बिदेशको रोजगारीमा जान्छन्, हामी कसरी धनी हुन सक्छौं? अनि हाम्रो देशमा राजनीतिक अस्थिरता छ भनेर भन्थ्यौं। हाम्रो छिमेकी भारतजस्तो अविवेकी र स्वार्थी देश छ जसले हाम्रो प्रगति देख्न चाहँदैन भन्छौँ। यस्तै कुराहरुमा हाम्रो बहस गरेर समय ब्यर्थ फाल्छौँ। प्रमुख समस्या नेतृत्व इमान्दार, साहसिक, दुरदर्शी सोचसहितको सक्षम र विवेकशील नभएर हो। सिंगापुरमा ली क्वान लिउले साहसिक निर्णय गर्दै भ्रष्ट मन्त्रीहरुलाई जेल हाल्ने र कर्मचारीलाई पर्याप्त तलब दिएर सुशासनसहित देशको प्रगतिको फड्को मारे । त्यसतर्फ हाम्रो नेतृत्वले कहिले पनि सोच्न सकेको देखिएन ।

स्विट्जरल्याण्ड पनि हामी जस्तै ल्याण्डलक्ड पहाडी राज्य हो। घडी, मेसिनरीलगायतका केही उद्योग, ब्याँक तथा पर्यटनका कारण आज उच्च विकसित देश बनेको छ। हाम्रो देशले केही आधारभूत कुुराहरुमा मात्र राम्रो गृहकार्य गरेर लगानी गर्ने हो भने हामी अर्बौँ डलर आम्दानी गर्न सक्छौं। यसका लागि अरुको मुख ताक्ने, कस्ले के भन्ला भनेर कमजोर मन लिएर अघि बढ्ने हो भने हामीले कहिले पनि प्रगति गर्न सक्तैनौँ। हामीले जलविद्युतपछि लगानी गर्नुपर्ने महत्वपूर्ण बिषय जडिबुटी उद्योग हो। नेपाल जैविक बिबिधता भएको देश हो। यहाँ नपाइने जडिबुटी केही पनि छैनन्। संजिबनी बुटीदेखि यार्सागुम्बा पाँचऔंले, चिराइतोजस्ता पर्याप्त मात्रमा बिभिन्न किसिमका महत्वपूर्ण जडिबुटी हिमाली भेगमा पाइन्छ। यस्ता जडिबुटीको योजनाबद्ध तरिकाबाट संकलन र खेती गर्ने र यस्बाट जडिबुटीका औषधि उद्योग चलाएर रोजगारी बृद्धि गर्दै हामी हाम्रा जनताको औषधि उपचारमा मद्दत पुर्‍याउनेमात्र होइन, बिदेश निर्यात गरेर अर्बौं रुपियाँ कमाउन सक्छौं। औषधिको रुपमा प्रयोग हुने गाँजाखेती पनि नेपालमा गुुणस्तरीय र पर्याप्त मात्रमा किसानले उत्पादन गर्न सक्ने औषधीय वनस्पति हो। गाँजाबाट बनाउन सकिने कपडा अत्यन्त महंगोमा निकासी गर्न सकिन्छ।

गाँजाखेतीसँगै गाँजाबाट उत्पादन गर्न सकिने कपडा उद्योग पनि सञ्चालन गर्न उपयुक्त हुुनेछ। गाँजाको दुरुपयोग हुन नदिन सरकारले कडा कानुन बनाई नियन्त्रित रुपमा यसको खेती गरी संकलन गर्ने र विकसित देशहरुमा निर्यात गर्ने ब्यबस्था मिलाउन आबश्यक छ। लुकिछिपी खानेले जति नै नियन्त्रण गरेपनि जसरी पनि खाइरहन्छन्। कुनैकुरा पनि जति बढी नियन्त्रण हुुन्छ, त्यति नै बढी अबैधरुपमा उपयोग हुन्छ। जसको फाइदा केही तस्कर ब्यापारी र प्रशासन प्रहरीका केही  ब्यक्तिहरुले लिइरहेका हुुन्छन्। तर सरकारले गाँजाखेतीलाई वैधता प्रदान गरे, किसानको हितमात्र होइन, देशले अर्बौँ डलर कमाउन सक्छ। प्राय: सबै विकसित देशमा डाक्टरको सिफारिसमा गाँजाको उपयोग भइरहेछ। हामीजस्ता गरीब देशहरु भने प्रकृतिको बरदानको रुपमा पाएका यस्ता औषधीय गुण भएका बनस्पतिको उपयोग गर्न नसकेर पनि हामी गरीब भइरहेका छौँ। अहिलेको सरकारले हिम्मतसाथ यस्ता कुराहरुमा योजनाबद्ध रुपमा सबै बिधाका मानिसहरुसँग सल्लाह गरी सबै किसिमका जडिबुटी तथा गाँजाको राम्रो ब्यबस्थापन गर्दै यसलाई प्राथमिकताका साथ सञ्चालन गरेमा जनता र देशको हित हुनेछ। नेपालमा गाँजाखेती अबैध घोषणा हुनुभन्दा पहिला हाम्रो देशमा ड्रग्स आयात हुन सकेको थिएन । यसलाई अबैध घोषण गरिएपछि ड्रग्सको उपयोग युवाहरुमा ह्वात्तै बढेर गयो । जडीबुटीको राम्रोसँग खोजबिन र अनुसन्धान गर्नसके ठुलाठुला रोगहरुको उपचारमा मद्दत पुग्न सक्नेछ। अहिलेको डरलाग्दो महामारी कोरोनाको नियन्त्रणमा चीनले आफैले उत्पादन गरेको परम्परगत जडीबुटीको औषधीको उपयोग गरेको कुरा बाहिर आएका छन् । त्यस्तै हामीले पनि राम्रोसँग अनुसन्धान गरी कोरोनाको उपचारमा उपयोग गर्न सकिन्छ ।

कोरोनाको महामारीका जनतालाई नियमअनुसार गरिखान भने सरकारले दिनुपर्छ । जनताका आर्थिक कारोवार रोकिनु हुँदैन। नत्र जनता रोग र भोकबाट झनै तनाबमा पर्नेछन्। भ्रष्टाचारमा निर्लिप्त भएका नेता र कर्मचारीलाई सरकारले अझै पनि त्यत्तिकै छाडा छोड्ने हो भने जनताले आशा गरेजस्तो परिणाम सरकारले दिन सक्ने छैन।

हाम्रा देशमा उत्पादन हुने कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालन गर्दा भारतले नाकाबन्दी गर्दापनि बन्द नहुने अबस्था रहन्छ । यस्ता स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुबाट हाम्रा किसान लाभान्वित हुने र धेरै युवाहरुले रोजगारका अबसर पाउने छन् । यस्ता अरु नगदेबालीमा हामीले प्राथमिकताका साथ लगानी बढाउन जरुरी छ । उखुको उत्पादन प्रसस्त भएर पनि हामीले किसानलाई समयमा भुक्तानि दिन सक्तैनौँ । यसबाट किसान उखुखेतीबाट बिचलित हुँदा चिनीको अभाव भई बिदेशबाट आयत गर्न बाध्य हुनु परेको छ। चिनी निकालिसकेको उखुबाट बायो प्रोडक्टद्वारा स्तरीय मदिरा उत्पादन गर्न सकिन्छ । यसबाट चिनी उद्योगहरु लाभान्वित हुुनेछन्।

जुटखेतीबाट बिरानगरमा जुटका ठुलाठुला मिलहरु चलेका थिए । जसबाट हजारौ मजदुर लाभान्वित भएका थिए । त्यस्तै गरेर बिद्युतबाट चल्ने यातायात साधन रोपवे, केवलकार, बिद्युतीय गाडीहरु, ट्रली, ट्राम आदिलाई प्राथमिकतामा राखी लगानी बढाउँदै लगेमा देशले आत्मनिर्भरतर्फ धेरै फाइदा लिन सक्छ ।

सरकारले बिजुलीको मूल्यमा कम गराई सबै गृहिणीहरुलाई बिजुलीबाट खाना पकाउन प्रोत्साहन गरिनुपर्छ । यसबाट ग्यासको प्रतिस्थापन गर्न सक्नेछ । जसबाट ग्यासको आयात बन्द गरी अर्बौको ब्यापार घाटा कम हुनेछ । बिजुली पर्याप्त भएकाले सरकारले नेपालमा मल कारखाना खोल्ने कुरा बाहिर सुन्नमा आएको छ । यदि यो कुरा सत्य हो भने बर्षेनि अर्बौंको मल आयात रोकिने छ ।

कोरोनाको महामारीका जनतालाई नियमअनुसार गरिखान भने सरकारले दिनुपर्छ । जनताका आर्थिक कारोवार रोकिनु हुँदैन। नत्र जनता रोग र भोकबाट झनै तनाबमा पर्नेछन्। भ्रष्टाचारमा निर्लिप्त भएका नेता र कर्मचारीलाई सरकारले अझै पनि त्यत्तिकै छाडा छोड्ने हो भने जनताले आशा गरेजस्तो परिणाम सरकारले दिन सक्ने छैन।

अख्तियारलाई स्वतन्त्रतापूर्बक निडर भएर कारबाही गर्ने आडभरोसा सरकारबाट प्राप्त भएन भने ठुुला भ्रष्टहरु संधैभरि मञ्चमा बसेर अर्तिउपदेशहरु दिइरहेका हुुनेछन् ।  सर्वोच्चबाट भएका केही गलत निर्णयहरु जसबाट भ्रष्टाचारलाई सहयोग पुग्ने र ज्यान मुद्दामा परेकालाई समेत उन्मुक्ति दिने कार्य उपर छानबिन र कारबाहीतर्फ सरकारले सही कदम चाल्नै पर्छ । यदि आज सरकार दलाल, पुँजिपति र भ्रष्टहरुको पक्षमा नलागी इमान्दार, सक्षम, निडर, भ्रष्टाचार बिरोधि भएर गुट उपगुटदेखि माथि उठेर निमुखा जनता तथा राष्ट्रहितमा ठोस कदम चाल्दै अघि बढेको भए देशका सबै संबैधानिक अंग आज सहि ठाउँमा हुने थिए। अदालत पनि निर्दोष जनता र राष्ट्रहितमा निर्णय गर्न बाध्य हुने थियो। किनकि सरकारका प्रत्येक कार्यको परिणामले देशका हरेक अंगमाथि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। जनता भाषणमा होइन, कार्यान्वयनमा विश्वास गर्छन्।

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्