‘हार्डवेयर’ फेर्न सहयोग गर्नुहोस् तर ‘सफ्टवेयर’ मेरै हुनुपर्छ!

‘स्क्रिन’को मोडेल हेर्दाहेर्दा दिक्क भइसक्यो। त्यसमाथि ‘स्क्रिन’मा बीच्चैमा आउने कालो धर्कोले झर्को लाग्छ । ‘हार्डवेयर’को साइज र मोडेल एवम खुइलिदैं गएको स्वरुप हेर्दा सुन्दरताकै भान र भाव खण्डग्रसित हुन्छ । बेलामौका हुने ‘ह्यांग’ले केसम्म विचार आउँछ भन्नै परेन।

मेरो दिक्दारीपनले दिक्क मानेर एकजना मित्रले सुझाव पेश गरे- आफुलाई मन पर्ने मोडेलको नयाँ कम्प्युटर लिए भयो नि ! केको सधैंको गुनासो?

‘होइन यसमा मेरा अनेकौं स्मृति, उपलब्धि, अनुभवको भण्डारण छ ,नयाँमा यो सब कहाँ हुन्छ?’

‘के सिल्ली कुरा गरेको होला ?’ यी सबैलाई त कुनै साधारण ‘मेमोरी चिप’ मार्फत नयाँमा ‘ट्रान्सफर’ गर्न सकी हालिन्छ नि ! व्यर्थमा राईको गेडालाई पहाड बनाएर शोकमग्न भइराख्नु भएको छ।

मित्रको सुझाव मानी नयाँ ‘हार्डवेयर’ (कम्प्युटर सेट) लिने अवसरको प्रतीक्षामा छु, स्वर्णिम अवसर (अर्थ आधारित) उपलब्ध हुनासाथ पुरानो पट्यार लाग्दो ‘हार्डवेयर रिप्लेस’ गरेर नयाँसँग नयन आनन्द लिनेछु।

 

एउटा ‘हार्डवेयर’ बारेको समुचित समाधान दिए एकजना मित्रले।

मसँग एउटा अर्को पनि ‘हार्डवेयर’ छ। साह्रै पुरानो भइसकेको ! यति पुरानो कि यसलाई चलाईराख्न, यसबाट काम लिइराख्न पटक पटक अनेर्कौं ‘एन्टी भाइरस’ प्रयोगमा ल्याउनु पर्छ।

झण्डै ५४ वर्ष पुरानो यस मोडेलमा अनेकौं दोष, अनेकौं विकृति, अनेकौं विकार मात्रै होइन, साँचो भन्ने हो भने यो ‘हार्डवेयर’ पूर्णरुपेण जर्जर भइसकेको छ । ३० मिनेट पनि लगातार काम गर्न सक्दैन र यसको ‘मेन्टिनेस’ यति चर्को ! भनौं धान्नै गाह्रो।

दैनिक ‘मेन्टिनेस’ खर्च २ सयबाहेक मासिक २ हजारका अतिरिक्त भैपरी आउने खर्चको हिसाब नै छैन । पुरानो ‘कलयन्त्र’सँग समस्या नै यही, अति बढी ‘मेन्टिनेन्स’ खर्च र ‘माइलेज’ अति थोरै ! साथै विश्वसनीयता सधैं शंकास्पद !!

कुनै प्रबुद्ध मित्रले यस ‘हार्डवेयर’लाई ‘रिप्लेस’ गर्ने उपायबारे केही समाधान दिए, त्यो अर्को ‘हार्डवेयर’ रहेसम्म कृतज्ञ रहने थिए। कैयन पटक यस ‘हार्डवेयर’लाई ध्वस्त गरी नयाँ मोडेलमा जाउँ भन्ने विचार आउँछ तर समस्या त्यै ‘सफ्टवेयर’ कै!

मलाई यस पुरानो ‘हार्डवेयर’मा ५४ वर्षसम्म संचित गरिएका ‘मेमोरी’ नयाँ ‘हार्डवेयर’मा चाहिएको छ । यही मन, यही बुद्धि, यही चित्त, यही अहंकार, साराका सारा यिनै अनुभव, यही ‘एटीट्युड’ यही बिन्दासपन ‘ट्रान्सफर’ गर्नु परेको छ नयाँ ‘हार्डवेयर’ अथवा नयाँ देहमा।

विगत झण्डै चार वर्षदेखि समाधान पाउन प्रयास गरिरहेको छु तर आशाको कुनै किरणसम्म फेला पार्न सकेको छैन ।

कट्टर हिन्दु भएकाले पुनर्जन्ममा गहिरो विश्वास मेरो ‘सफ्टवेर’मा भएर पनि इच्छामरणको उपायमा जान सकिन।

कारण मेरो विश्वास अनुसार नयाँ ‘हार्डवेयर’ (अब शरीर शब्द प्रयोग गर्छु) पाइए पनि ‘सफ्टवेयर’ (अब मन, बुद्धि, चित्त शब्द प्रयोग गर्छु) ‘ट्रान्सफर’ हुने कुरामा ०.०००००१ प्रतिशत पनि भरोसा छैन।

तिब्तीयनहरुको ‘रिनकारनेस’ अवधारणा (दलाई लामा लगायत अन्य रिम्पोछे) ले मन, बुद्धि, चित्त जस्ताको त्यस्तै ‘ट्रान्सफर’ हुने प्रमाणिकता राख्दैन। त्यसैले ‘वाड्रो’ लगायत यसका अन्य प्रविधि अपनाएर नयाँ देह धारणा गर्ने प्रयास अबलम्बनतिर म लागिन।


‘रिनकारनेट’ भइ आएका सबै टुल्कुलाई बीसौं वर्ष लामो गहन प्रशिक्षण दिनु पर्ने यथार्थले नै मन, बुद्धि, चित्त डल्लै ‘ट्रान्सफर’ नहुने कुरा स्पष्ट नै छ । आदरणीय दलाई लामा जत्तिको पुर्वजन्मको सम्झना मलाई पनि बाल्यकालमा थियो। तर यसले वर्तमानको जीवनमा कुनै उपलब्धि दिएन।

इतिहास पढ़नै पर्‍यो, गणित पढ़नैपर्‍यो ,साइंस पढ़नै परयो। साधना गर्ने परयो,ध्यान गर्ने परयो। कुनै पनि क्षेत्रमा पुर्वजन्मका लेश मात्र पनि स्मृति उजागर भएनन्। ल मानी लिउ ज्ञान गुनका गहकिला अनुभव थिएनन होला मेरो पुर्वजन्ममा, तर यौन ,क्रोध, लोभ ,ईर्ष्या आदिका कटु अनुभव त पुर्वजन्ममा निश्चय पनि थिए नै।

‘हर्डवेयर’ फेर्ने अर्को उपाय एकपटक शंकाराचार्यले आफ्नो जीवनमा गरेको पढ़न पाइन्छ। तत्कालीन प्रसिद्ध विद्धान मण्डन मिश्रलाई शास्त्रार्थमा पराजित गरे पछि मिश्राइन उभय भारतीले (मण्डन मिश्रको पत्नी ) शंकरलाई आफुसँग शास्त्रार्थ गर्ने चुनौती दिईन ।

भारती निश्चय पनि विदुषी थिईन, तर आफ्नै आँखा अगाडि युवक शंकरसँग आफ्नो श्रीमानको हविगतको साक्षी पनि थिइन्। दर्शन र तर्कमा शंकरलाई पराजित गर्न सकिन्न भन्ने तत्वबोध उनलाई आफ्ना श्रीमान पराजित भएको घोषणा गर्दा नै भइसकेको थियो।

उनले शंकरसँग काम विषयक प्रसंग तेस्राएर चर्चा थालिन । अब शंकर थिए बाल ब्रह्मचारी, काम र यौनबारे सर्वथा अनभिज्ञ।
कथा भन्छ शंकरले भारतीसँग यस विषयक चर्चाका लागि केही समय मागे।

यस मागिएको समयमा शंकरले परकाया प्रवेश सिद्धिद्धारा एकजना मृतक राजाको शरीरमा सूक्ष्मरुपले प्रवेश गरी (उनको देहरुपी ‘हर्डवेयर’लाई उनका शिष्यले सुरक्षित राखे) यौन र काम अनुभव लिएर राजाको देह त्यागी (राजा फेरी मरे) पुनः आफ्नै शरीरमा आई भारतीसँग शास्त्रार्थ गरेका थिए।

तिब्बतियनहरुको विधि भन्दा मलाई यो विधि बढी विश्वसनीय लाग्छ। दुइटा शरीरमा यात्रा गर्दा ‘सफ्टवेयर’ डल्लै यता उति ‘ट्रान्सफर’ भएको लख काट्न मिल्छ।

तर मेरो दुर्भाग्य मलाई परकाया प्रवेश सिद्धिको ज्ञान छैन, न त यस सम्बन्धी कुनै विज्ञको नाम ठेगाना नै थाहा छ जे उनलाई भेटेर यस विधिको ज्ञान हासिल गरी आफ्नो अभीष्ट पुरा गर्न सकौं।

यसै ऊँटपटाँग चिन्तन-मनन् कै क्रममा कायाकल्प बारे पनि आफ्नो ‘सफ्टवेयर’लाई खंगाले। सम्झना आयो ,एकजना अंग्रेज धुमक्कडले लेखेको यात्रा संस्मरण। उनले भारतको हिमालय क्षेत्रमा एउटा सन्यासीले आफ्नो कायाकल्प गरेको उल्लेख गरेको थिए। हिमालयमा पाईने कुनै जडीबूटी खाएर ती सन्यासी सुते।

उनको शरीरबाट कोपिला पलाए झैं नयाँ शरीर पलायो र सात दिनभित्र पुरै नयाँ शरीर बाहिरियो, पुरानो शरीर सर्पको काँचुली झैं पृथक भयो। कति साँचो र कति मनगढन्ते हो ती ब्रिटिश घुमक्कडले लेखेको यो घटना, यसबारे यकिनसाथ केही भन्न सकिदैन ।

आफ्नो यायावरी जीवनमा विभिन्न साधु सन्तको संगतमा मह र घिउको प्रयोगले कायाकल्प हुने सुनेको छु । यसका अतिरिक्त पारद (मर्करी) को ‘फ्युजन’ बाट पनि कायाकल्प हुनसक्ने सुनेको छु।

बद्रीनाथभन्दा पहिला आउने पान्डुकेसरमा एकजना नेपाली सन्तलाई पारद विज्ञानको ज्ञाता भनिन्थ्यो । अब त शायद उहाँको शरीर रहेन होला । सन २००५ मै उहाँलाई भेट्दा उहाँको अवस्था ९० – १०० बीचमा रहेको थियो । उहाँले पारद विज्ञानका अनेकौं कथा त सुनाउनु भयो तर कुनैको पनि प्रयोग विधि भन्नु भएन।

तपाईंले आफैं कायाकल्प किन नगरेको ? उपाय थाहा हुँदा हुँदै बुढ्यौलीको कष्ट किन झेलेको?भन्ने प्रश्नमा उहाँको भनाई थियो – म ययाति जस्तै मूर्ख होइन, म भौतिक शरीर र सुक्ष्म शरीर त के, कारण शरीरको पनि कारण दग्ध गर्ने अभियानमा निमग्न ! मलाई भौतिक शरीरसँग के चासो !!

महाराजजी तपाईंसँग मेरो कुरा ट्याक्क मिल्यो, म पनि कारण शरीरको आदि कारण दग्ध गर्ने अभियानमै छु । अवस्था मेरो पनि ४० भइसक्यो, शरीर दिनप्रतिदिन अशक्त हुँदै गइरहेको छ।

यौवन र सामर्थ्य हुँदै कारणको पनि कारण दग्ध गर्न सकिएन र सफल नभइ यो भौतिक शरीर समाप्त भयो भने यस शरीररुपी ‘हर्डवेयर’ले आर्जित र विकसित गरेको मन, बुद्धि, चित्त, अनुभव, जानकारी लगायत सबै स्मृतिरुपी ‘सफ्टवेयर समाप्त हुन्छ।

फेरी शुन्यबाटै यात्रा थाल्नु पर्छ। त्यसैले म कायाकल्प गरेर आफ्नो यसै ‘सफ्टवेयर’लाई यथावत राख्न चाहान्छु । मलाई विश्वास छ ५ – ६ चोटी कायाकल्प गरे भने (झण्डै ३ सय वर्षको अवधिमा) म कारणको कारणलाई पूर्णतया दग्ध गर्न सक्छु।

सम्झना सरोज शर्मा गैरीपिप्लेको आयो । एकपटक उनी म बसेको आश्रममा बस्ने गरी आएका थिए। राति १० बजे हामी दुबै बीच ईश्वर छ कि छैन भन्नेबारे चर्चा चल्यो। उनी छैनको पक्षमा र म छको पक्षमा वकालत गर्दै थियौ। बिहान सात बजे उनले आफु मण्डन मिश्र भएको स्वीकार गरे।

साँझमा मैले उनलाई पुनः त्यसै विषयमा छलफल गर्ने निम्तो दिए। यसपटक उनले ईश्वर ‘छ’ को पक्षमा र मैले ‘छैन’को पक्षमा तर्क स्थापित गर्नु पर्ने शर्त थियो। उनले निमंत्रण स्वीकार गरेन।

उनको भनाइ थियो -तीन दिनसम्म चर्चा चले पनि तर्क तपाईकै विजयी हुन्छ। हिजो राति तपाईंले ‘छ’ को पक्षमा राखेका सबै तर्क प्रयोग गरेर पनि म विजयी हुन सक्दिन ।

तर्कको सारा खेल ‘टाइमिंग’ र ‘प्लेसमेन्ट’माथि निर्भर गर्छ। समानरुपका बौद्धिकमै वाद- विवाद हुँदा (सत्य – असत्य छाडिदिनुस) तर्क प्रस्तुत गर्ने कला र कौशलमा जुन प्रवीण हुन्छ, असत्यकै पक्षमा भए पनि विजयश्री उसकै वरण गर्छ ।

पाण्डुकेशरका नेपाली सन्त मेरो तर्कले प्रभावित भए । उनले भने तिम्रो कुरा ठीक भए पनि म तिमीलाई सिकाएर आफ्नो कर्म बढाउन चाहान्न । तर उपाय भन्न सक्छु।

काठमाडौंको जय वागेश्वरी बस्ने एकजना (अहिले नाम बिर्से) उनको भगत हो कि कुनै आफन्तले उनीबाट पारद प्रयोग विषयक पुस्तक लगेका छन्। काठमाडौंमा उनलाई भेटेर त्यों पुस्तक लिएर प्रयोग गर। तिम्रो भाग्यमा छ भने सफल हुन्छौ , विधि पुस्तकमा लेखिएको छ।

२ -३ वर्षसम्म पशुपति -जयवागेश्वरी क्षेत्रमा उनको खोजी गरे, तर व्यक्ति नै भेट्न सकिन्। कथम कदाचित यो लेख त्यो पुस्तक रहेका व्यक्तिसम्म पुग्छ भने कृपया एकपटक (पुस्तक नदिए पनि) सम्पर्क गर्नु होला।

निराशाकै स्थिती छ ,अध्यात्म क्षेत्रबाट यही मन, बुद्धि, चित्त लिएर नयाँ देह धारण गर्ने मनोरथ पूरा हुने संभावना न्यूनातिन्यून छ। विज्ञानतिर झीनो आशा राखेर दृष्ट्रिदपात गर्दा आफ्नो जीवनकालमा यो सम्भव रहेको पाइन्।

‘क्लोनिंग’ सँग केही आशा गर्न सकिन्थ्यो तर यस विज्ञान माथि नै प्रतिबन्ध लाग्यो । प्रतिबन्धित विज्ञानसँग के आशा गर्ने ?
जेलीफिश तिर हेर्दा मेरो आशा अलि अलि भए पनि जीवन्त रहेको छ।

‘टुर्रीटोप्सीस डोहर्नो’ नामक जेलीफिशसँग अमरताको विज्ञान छ । यो जेलीफिशसँग बुढेशकाललाई युवावस्थामा फर्काउने कला छ। यसले आफ्नो शरीरका सारा कोषिकालाई नयाँ बनाई यौवनमा फर्किने गर्छ । विज्ञानले यस प्राणीलाई ‘बायोलोजिकली इम्मोर्टल’ प्राणीको संज्ञा दिएको छ।

‘सेलुलर ट्रान्सडिफरेनिएसन ( cellular trans differentiation ) प्रक्रियाका माध्यामले यस जेलीफिशले चाहेका बेला आफ्नो शरीरलाई युवा बनाउन सक्छ । सबै अंगलाई नयाँ बनाउन सक्छ।

कुनै न कुनै दिन विज्ञानले ‘टुर्रीटोप्सीस नुट्रिसुला (turritop sis nutricula) प्रजातिको डोहर्नी जेलीफिशसँग रहेको प्रकृति प्रदत्त यस क्षमतालाई ‘डिकोड’ गरी मानिसमा प्रयोग गर्ने सफलता पाउँछ होला।

तर मेरो जीवनकालमा यो सफलता पाईने संभावनाको प्रतिशत अति न्युन छ । मेरो ‘सफ्टवेयर’ जस्ताको त्यस्तै नयाँ ‘हर्डवेयर’मा ‘ट्रान्सफर’ गर्ने चाहना विज्ञानबाट पनि सम्पन्न हुनसक्ने आशा छैन।

आउँदो सय दुई सय वर्षभित्र यो निश्चय पनि सम्भव हुन्छ। तर दुई सय वर्षसम्म मेरो देहरुपी ‘हर्डवेयर’ तन्किन सक्दैन। मलाई ‘हर्डवेयर’ ध्वस्त हुनुको कुनै दुख हुन्न, आजै भएपनि हुन्न।

चिन्ता ‘सफ्टवेयर’को हो, यसलाई जोगाएर अर्को ‘हर्डवेयर’मा राख्न चाहान्छु। के कुनै महानुभावसँग सुरक्षित रुपले मेरो ‘सफ्टवेयर’ मन,बुद्धि, चित्त, अहंकार कुनै नयाँ मोडेलको ‘हर्डवेयर’मा, नयाँ शरीरमा ‘ट्रान्सफर’ गर्न सकिने कुनै उपाय अथवा सुझाव छ?

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्