मृत्युशय्याबाट फर्केका चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको कोरोना अनुभव

‘मलाई चार कुराले बचायो, तपाईँलाई पनि बचाउन सक्छ’

‘मलाई चार कुराले बचायो, तपाईँलाई पनि बचाउन सक्छ’

उनलाई लाग्थ्यो, आज पनि सूर्योदय भयो। भोलि पनि हुनेछ। तर भोलिको सूर्योदय उनीबिनाको हुने छ। ९ दिन अस्पतालको आइसियूको बेडमा सुतिरहेका उनी त्यो कालो रातमा यही कल्पना गर्थे। आफू बिनाको संसारको कल्पना गर्दै गरेका उनले त्यो रातलाई पनि जिते।

अनि उदाउँदै गरेको सूर्यलाई आफ्नै आँखाले नियाले।

अहिले उनी सूर्योदयसँगै आँखा खोल्छन्, अनि दिनको सुरुवात गर्छन्। एक महिना भयो अस्पतालबाट डिस्चार्ज भएको। शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनी मृत्युको मुखबाट बाँचेर आउलान् र पहिलेकै अवस्थामा फर्केलान् भन्ने कमैले सोचेका थिए!

उनी स्वयम् पनि सोच्थे, अब म लामो समय रहन्न। मृत्यु निश्चित रहेछ। कहिले, कहाँ र कसरी यो कसैलाई पत्तो नहुने रहेछ। उनी आफूले गरेका एक–एक कुराको गहिराइमा डुबेर सोच्न थाले, ‘मैले गर्न बाँकी के रहेछ?’

आफू कहिले निको हुन्छु होला भन्ने भन्दा पनि उनी आफूले गरेका राम्रा अनि नराम्रा कामलाई नियाल्थे। उनलाई लाग्थ्यो, ‘मैले गर्न बाँकी केही रहेन छ अब।’

अनि आफैँभित्र मुसुक्क मुस्कुराउथे।

जीवन अनि मृत्यु दोसाँधमा चलिरहेको थियो, डा. ज्ञानेन्द्रमान सिंह कार्कीको जिन्दगी। दिन प्रतिदिन अक्सिजनको मात्रा घटिरहेको थियो। कृतिम अक्सिजन दिइएको थियो। उनको उपचारका लागि अनेक उपाय अपनाइरहेका थिए, उपचारमा संलग्न चिकित्सकहरु। स्वास्थ्यमा सुधार आउनुको साटो अझ धेरै स्वास्थ्यस्थिति खस्किँदै थियो। डा. कार्कीको परिवार उनलाई बचाउनका लागि अनेक विधि अपनाउन तयार थिए। अन्य देशमा कुन उपचार विधि अपनाइएको छ, उनीहरु इन्टरनेटमा यही खोजेर बस्थे।

डा. कार्कीले सोचेका थिएनन्, कोरोना भाइरसको संक्रमण देखिएपछि आफू यो स्थितिमा पुग्नुपर्ला।

कसरी भयो संक्रमण

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै सरकारले देशभर लकडाउन गर्‍यो। तर एक चिकित्सक भएका कारण डा. कार्कीलाई कुनै लकडाउनले असर गरेन। उनी आफ्नो काममा खटिरहे। बिरामीको सेवामा लागिरहे।

डाक्टरी पेसा कामको चाप सधैँ उस्तै हुन्छ। लकडाउन भएपनि बिरामीको चाप कम हुन सकेन। उनी हरेक बिरामीसँग कन्ट्याकमा आउनै पर्ने थियो। यसरी काम गर्न उनीको रहर सँगसँगै बाध्यता पनि थियो।

डा. कार्कीलाई लागिरहेको थियो, ‘म स्वस्थ छु।’

साउन २ गते उनले एउटा सर्जरी गरे। भोलिपल्ट शनिबार थियो। हल्का रुघा लागेजस्तो भयो। ज्वरो आयो। उनलाई लाग्यो, ‘यो समय भनेको हेल्चेक्र्याइँ गर्ने होइन।’ उनले छोरालाई भने, ‘के मौसमको बाजा बजेजस्तो भयो, एक पटक पीसीआर परीक्षण गरिहेरौँ है।’

डा. कार्कीले पीसीआर परीक्षणका लागि नमूना दिए। उनलाई मनमा लागिरहेको थियो, ‘म संक्रमित भइसकेँ।’

उनको परिवारले यो कुरा पत्याउन सकेन। किनभने करिव १० महिना अगाडि उनलाई उस्तै रुघाखोकी सँगै ज्वरो आएको थियो। तर पनि रिपोर्टको प्रतिक्षा गरिरहेका थिए। मंगलबार उनको रिपोर्ट आयो, ‘पोजेटिभ।’

डा. कार्कीको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले विराट अस्पताल सिल गर्‍यो जसका कारण उनले एक्सरे गर्न पाएनन्। संक्रमणले खासै क्षति नपुगेको हुन सक्ने भन्दै उनी होम आइसोलेसन बसे।

साउन ९ गते अस्पताल खुलेपछि उनले एक्सरे गरे। एक्सरेको रिपोर्ट हेरेपछि उनले थाहा पाए- संक्रमणले फोक्सोमा धेरै असर गरिसकेको थियो। डा. कार्की आफ्नो स्वास्थ्यमा जटिल समस्या देखिने संकेत पाएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए।

संक्रमणका कारण फोक्सो धेरै खराब भइसकेका कारण उनको उपचारमा समस्या देखिने भएपछि भोलिपल्ट बिहानै हेलिकप्टरमार्फत महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भए। उनको उपचार सुरु गरियो। तर स्वास्थ्य स्थिति खस्किँदै गएपछि उनलाई आइसियूमा राखेर उपचार सुरु गरियो।

गम्भीर संक्रमण

डा. कार्की उमेरले ६० कटिसकेका छन्। उनलाई हल्का सुगर देखिएको छ। यस्तै विश्व स्वास्थ्य संगठनले बारम्बार भन्दै आइरहेको छ,‘दिर्घ रोगीहरुमा संक्रमणको जोखिम धेरै हुन्छ। संक्रमणले गम्भीर रुप लिन सक्छ। यस्ता व्यक्ति सचेत भएर बसौँ। घरमै बसौँ।’

अनि चिकित्सकले भन्ने गरेका छन्, ‘रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिलाई संक्रमणको जोखिम कम हुन्छ।’

तर डा. कार्की रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साटो कम गरिरहेका थिए। हातमा एलर्जी भएका कारण उनी प्रतिरोधात्मक क्षमता कम गर्ने औषधीको प्रयोग गरिरहेका थिए जुन उनका लागि घात बन्यो।

उनले साबधानी अपनाउन भने नखोजेका होइनन्, तर पनि उनी संक्रमित भए। संक्रमित हुन भन्दा दुई हप्ता अगाडि उनलाई लाग्यो यो समयमा एलर्जीको औषधी प्रयोग गर्नु ठिक हुँदैन। उनले औषधी सेवन गर्न छोडे।

सायद उनका लागि उक्त दुई हप्ता पर्याप्त भएन।

उनी संक्रमित भएरै छोडे।

कसरी निको भए?

आइसियूमा उपचारत डा. कार्कीको अक्सिजन लिन सक्ने क्षमता कम हुँदै भयो। उपचारमा संलग्न चिकित्सकले अनेक उपाय अपनाउन थाले। स्वास्थ्यमा सुधार हुने कुनै छाटकाँट देखिएको थिएन।

डा. कार्कीको उपचारमा संलग्न चिकित्सक अनि उनको परिवारले जुक्ति निकाल्न थाले। अन्य देशमा संक्रमितको उपचार कसरी भइरहेको खोज्न थाले। त्यही बेला उनीहरुले एउटा औषधीको नाम फेला पारे, ‘रेमडेसिभिर।’

तर यो औषधी नेपालमा उपलब्ध थिएन। नेपाल औषधी ल्याउनु डा. कार्कीको परिवारका लागि चुनौतीपूर्ण काम थियो। तर उनीहरुले हार मानेनन्। डा. कार्कीसँग सल्लाह गरे, ‘कसरी रेमडेसिभिर ल्याउन सकिन्छ!’

रेमडेसिभिर भारतमा पाइने भएका कारण डा. कार्कीको परिवारलाई अझ केही सहज भयो। डा. कार्कीले आफ्ना नजिकका साथी, चिनेका व्यक्तिहरु सबैको नाम भनिदिए। यसले गर्दा उनको परिवारलाई सम्पर्क गर्न सहज भयो।

उनको परिवारले भारतको दिल्ली, चेन्नई, कलकत्ता, मुम्बई सम्पर्क गरे। उनले भने, ‘औषधी ब्ल्याकमा ल्याउनु पर्ने रहेछ। जे होस् मेरो परिवारले रातारात औषधी मगायो। प्लेन चार्टर गरेर औषधी विराटनगर ल्याइयो। विराटनगरबाट फेरि काठमाडौँ ल्याइयो।’

त्यो बेला ४५ देखि ५० हजार रुपैयाँ खर्च गरेर डा. कार्कीको उपचारका लागि भारतबाट रेमडेसिभिर औषधी ल्याइएको डा. कार्कीले बताए।

रेमडेसिभिर औषधी ८ भाइल चलाएपछि डा. कार्कीले ५ दिनमा ‘रेस्पोन्स’ गरेका थिए। उनले भने, ‘मलाई भेन्टिलेटरमा भने राखिएन। तर भेन्टिलेटरमा पुग्ने स्थितिमा भने पुगिसकेको थिएँ। भेन्टिलेटरमा पुगेपछि बिरामी बाहिर निस्कने सम्भावना एकदमै न्यून हुन्छ।’

रेमडेसिभिरपछि उनको परिवारले अर्को विकल्प खोजे, ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी।’

डा. कार्कीको परिवारले संक्रमण भएर निको भएका २६ वर्षीय युवकलाई भेटे। उनले डा. कार्कीका लागि रगत दिए। डाक्टरले उक्त रगतबाट प्लाज्मा छुट्याए र डा. कार्कीलाई चढाए।

उनी कृतज्ञ छन्, उनीप्रति जसले उनलाई प्लाज्मा दिएका थिए।

उनलाई रेमडेसिभिरले निको बनायो वा प्लाज्मा थेरापीले? उनी ठ्याक्कै यही उपचार विधिले निको भयो भनेर भन्न सक्दैनन्। उनी भन्छन्, ‘म कुनै एउटा तन्त्र, एउटा इलाज, एउटा दबाईले निको भएको पट्क्कै होइन होला। त्यसमा सबैभन्दा ठूलो भूमिका भनेकै प्रभुप्रतिको अघाध विश्वास हो। म यसलाई भगवानको कृपा भन्छु। अनि मेरा लागि हजारौँ हजार मान्छेले गरेका प्रार्थना। मेरा लागि दिनरात खटेका डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको मेहनत। अन्त्यमा दबाई, यी चार चिजको सम्मिश्रणबाट म निको भएको हुँ।’

‘र मलाई लाग्छ। जुनसुकै व्यक्तिलाई पनि निको हुन त्यही सम्मिश्रणको जरुरत छ’, उनले थपे।

अर्थात् प्रभुप्रतिको अपार विश्वास, सहृदयीहरुको प्रार्थना, स्वास्थ्यकर्मीहरुको मेहनत र औषधि—डा. कार्कीको अनुभवमा यी चारले संक्रमित बच्न सक्छन्।

उनले आफूलाई निको हुन मदत पुर्‍याउने सम्पूर्ण व्यक्तिप्रति आभार प्रकट गरे।

भारतबाट कति औषधी आयो?

भारतमा ५ देखि ६ हजार रुपैयाँ पर्ने रेमडेसिभिर औषधी डा. कार्कीले ४५ देखि ५० हजारमा आफ्नो उपचारका लागि ल्याए। उनलाई औषधी भारतका विभिन्न सहरहरुबाट आएका थिए। डा. कार्कीलाई ८ भाइल प्रयोग गरिएको थियो।

भारतबाट मगाएको रेमडेसिभिरले डा. कार्कीसँगै सँगै अन्य बिरामीको समेत ज्यान बचाएको छ। डा. कार्कीले करिव एक सय भाइल रेमडेसिभिर आफु जस्तै गम्भीर संक्रमितलाई आफूलाई परेकै मूल्यमा दिएको बताए। उनले भने, ‘थुप्रै व्यक्तिको ज्यान बच्यो। हामीले उनीहरुलाई आफूलाई परेको मूल्यमा औषधी उपलब्ध गराएका थियौँ। अहिले नेपाललाई विभिन्न कम्पनीहरुले सहयोग गरेका छन्। आशा गरौँ- उक्त औषधी अब नेपालीले किन्नु परे १०/१५ हजारमा खरिद गरेर उपचार गर्न सकून्।’

अहिले पनि उनलाई औषधी दिनुपर्‍यो भन्दै फोन आउने गरेको उनी बताउँछन्।

सोचाइमा परिर्वतन

संक्रमित भइसकेपछि आफ्नो मात्र नभएर संक्रमित भएका अन्य व्यक्तिको सोचमा परिवर्तन आउने गरेको उनले बताए। उने भने, ‘सतर्क त पहिला पनि थियौँ तर अहिले अझ बढी भयौँ। भिडभाडमा कम गइन्छ। मास्कको प्रयोग गरिन्छ। एक अर्काबीच दूरी कायम गरिन्छ। साबुन पानीले हात धोइरहिन्छ।’

मास्क लगाउने, दुरी कायम गर्ने, साबुन पानीले हात धुने काम संक्रमण हुनभन्दा अगाडि पनि गरिरहेकै थिए।

निको भएर घर फर्किएका उनी अहिले पनि यस्ता साबधानी कडाइका साथ अपनाइरहेका छन्। उनले भने, ‘निको भइसकेपछि खासै लामो समयसम्म असर गर्दैन भन्ने गरिएको छ। केही वर्षसम्म ‘रिइन्फेक्सन’ हुँदैन भन्ने छ। तर कसैलाई ‘रिइन्फेक्सन’ भएको भन्ने कुराहरु पनि आइरहेको छ।’

डा. कार्कीका अनुसार यो भाइरस नयाँ भएको हुनाले र भाइरस आफैँमा पनि छुद्र हुने हुनाले यसले यति छिटो आफ्ना गुणहरुलाई परिर्वतन गर्छ- भन्नै सकिँदैन। त्यही भएर ‘प्रिभेन्सन इज वेटर देन क्योर।’ एक पटक बिरामी भइसकेपछि अझ धेरै सजग हुने गरेको उनले बताए।

रिपोर्ट पोजेटिभ आएपछि

परीक्षणका लागि नमूना दिएका उनी बारम्बार श्रीमती र छोरालाई भन्ने गरेका थिए, ‘म संक्रमित भइसके जस्तो छ तिमीहरु दुरी कायम गरेर बस्।’ तर श्रीमती र छोराले उनलाई टेरेनन्। उल्टै उनीहरुले जबाफ दिए, ‘यसै पनि हामी तपाईसँग कन्ट्याकमा आइसकेका छौँ। तपाईलाई पोजेटिभ भए हामी पनि हुन्छौँ।’

पीसीआर परीक्षणका स्वाब दिएर रिपोर्ट कुरेर डा. कार्की घरमै बसिरहेका थिए। डा. कार्कीलाई खबर आयो, ‘तपाईको रिपोर्ट पोजेटिभ आएको छ।’ आफू पोजेटिभ आएको खबर सुन्ने बित्तिकै डा. कार्कीको होसहवास उड्यो। शरीर हावामा तैरिएजस्तो भयो। उनले भने, ‘एक दिन संक्रमित कसो नभइएला र भन्ने त मनमा थियो तर यति चाँडो मैले सोचेको थिइन। रिपोर्ट पोजेटिभ छ सुन्ने बित्तिकै मुटु सिरिङ्ग भयो। प्लेनमा चढेका बेला प्लेन बादल माथिबाट तल झर्दा मन सिरिङ्ग हुन्छ, शरीर चिसो हुन्छ। हो, ठ्याक्कै त्यस्तै भयो।’

मुटुको चल बढे पनि आफूलाई दह्रो बनाए। आफू संक्रमित भएको खबर श्रीमती र छोरालाई सुनाए। संक्रमित भएको कुरा सुनेर उनीहरुको मुहारमा कुनै परिर्वतन पाएनन्। संक्रमण भएको थाहा पाएपछि समेत उनीहरु पहिलेकै जस्तो व्यबहार गरिरहेका थिए। दुरी कायम गरेनन्। डा. कार्कीले श्रीमती र छोरालाई सम्झाए- दुरी कायम नगरे पनि तिमीहरु आमा छोराले मास्क त लगाइदेऊ।’

जे होस् यो कुरा भने उनीहरुले माने र मास्क लगाउन थाले।

डा. कार्कीलाई परिवारले हौसला दिइरहे।

संक्रमणका बारेमा जतिसुकै ज्ञानगुणका कुरा गरेपनि एक पटक मनमा डर पलाउने उनी बताउँछन्। उनले भने, ‘भयभीत भइँदो रहेछ। चाहे जस्तो सुकै व्यक्ति किन नहोस् मनमा एक प्रकारको डर पलाउँदो रहेछ। तर बिस्तारै त्यही डरसँग बाँच्न सकिँदो रहेछ। अनि आफूले आफूलाई बलियो बनाउँदै लैजान सकिन्छ।’

उनले मुस्कुराउँदै भने, ‘अहिले निको भएपछि मैले यस्तो त्यस्तो भन्न सकिरहेको छु, त्यो समयमा त मलाई पनि डर लागेको थियो। म पनि भिरबाट खसे जस्तो भएको थिएँ।’

सत्यता र भ्रम

‘कोरोना भाइरसको संक्रमण भएका ९७ प्रतिशत व्यक्तिलाई कुनै औषधीको जरुरत गर्दैन। कोरोना भाइरसको सबै भन्दा उत्तम पक्ष भनेको यही हो। ९५ देखि ७८ प्रतिशत संक्रमितलाई सामान्य सिटामोल अनि आवश्यक परेको खण्डमा साधारण एन्टिबायोटिक्स चलाउनु पर्ने हुन सक्छ’, डा. कार्कीले भने।

पछिल्लो समय संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधी, बेसार पानी, गुर्जो प्रयोग गर्नु भन्ने गरेको पाइन्छ। यस्ता कुराहरु मानिसले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने भएका कारण संक्रमणबाट बच्नका लागि कुनै फाइदा नपुर्‍याए पनि स्वास्थ्यमा असर नपुर्‍याउने डा. कार्कीले बताए। उनले भने, ‘यी कुराले फाइदा गरेनन् भने पनि बेफाइदा गर्दैनन्। परापूर्वकालदेखि नै यो चलिआएको हो। यसले फाइदै गर्छ। तर यी प्रयोग गरेर निको भइन्छ वा संक्रमणबाट बच्न सकिन्छ भनेर कृपया कसैले पनि नभनिदिनु होला।’

संक्रमित भइसकेपछि ठ्याक्कै कसरलाई के भइदिन्छ, कसैलाई पनि थाहा हुँदैन। उनका अनुसार हामी ९८ प्रतिशत सुरक्षित छौँ भने किन डराउने? किन आत्तिने? उनले भने, ‘२ प्रतिशत व्यक्तिको प्लान सर्जरी गर्दा पनि कहिलेकाहिँ हामी उनीहरुलाई गुमाउँछौँ। त्यसैले हामीले यो बुझ्न जरुरी छ, कोरोना भाइरसको संक्रमणले मात्रै मानिसको मृत्यु नहुँदो रहेछ।’

नेपालमा मृत्यु भएका धेरै जसो व्यक्तिमा संक्रमणभन्दा अगाडि अन्य रोग भएका कारण हरेक मृत्युलाई कोरोना भाइरससँग जोडेर नहेर्न उनले सबैलाई आग्रह गरेका छन्।

डा. कार्कीका अनुसार कोरोना भाइरस भन्ने बित्तिकै डराउनु पर्दैन। तर सचेत भने भइरहनु पर्छ। सधै सकारात्मक कुराहरु साँच्नुपर्छ। संक्रमणका बारेमा लेखिएका सकारात्मक लेख वा समाचारहरु पढ्नु पर्छ।

कोरोना भाइरसलाई कहिल्यै पनि मजाकको रुपमा लिन नहुने उनी बताउँछन्। ‘भाइरस आफैँमा दुष्ट हुन्छ’, उनले भने।

कस्तो सावधानी अपनाउने ?

‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनुलाई नै उत्तम मान्निछ’, उनले भने। सबैका लागि यो भनाइ लागू हुन्छ। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भएका कारण उनले गर्भवती अझ बढी सजग हुनुपर्ने बताए। उनले भने, ‘जो गर्भवती हुनुहुन्छ, उहाँहरु पहिला जस्तो अबस्थामा चेकजाँचका लागि पटक–पटक अस्पताल नजानुस्। अहिले सबै अस्पतालले आफ्नो अनलाइन सर्भिस दिएका छन्। चिकित्सकसँग सम्पर्कमा रहनुस्। एकपटक अस्पताल पुगेर जाँच गराउनुस्, त्यसपछि केही समयपछि चिकित्सकले बोलाउने छन्। यो कुरालाई ध्यानमा राख्न जरुरी छ। यो बेला कसैले पनि बच्चाको प्लान गर्दै हुनुहुन्छ भने यसलाई केही समय पोस्टपोन गर्नुस्, वा गर्भनिरोधक साधन प्रयोग गर्नुस्।’

उनका अनुसार संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेकै दुरी कायम गर्ने, भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने हो।

‘स्वास्थ्यमा कुनै प्रकारको सारो–गाह्रो भएको खण्डमा घरमा नबसी अस्पताल पुगिहाल्नु पर्छ’, डा. कार्कीले थपे।

कुनै पनि व्यक्ति मलाई केही हुँदैन भन्ने भावना मनमा राख्न नहुने उनी बताउँछन्।

सरकारले के गर्न आवश्यक

सरकारले संक्रमण बढेको भन्दै दुई पटक लकडाउन गरिसकेको छ। तर संक्रमणको दर घटाउनका लागि लकडाउन भन्दा पनि कन्ट्याक ट्रेसिङ गरी परीक्षणको दायरा बढाउन आवश्यक भएको डा. कार्की बताउँछन्।

लकडाउन यसको विकल्प होइन। कति मानिसहरुले खाना पाएका छैनन्, कतिको घरमा आगो बलेको छैन। उनहिरुका लागि पनि सरकारले सोच्नु पर्छ। परीक्षणको दायरालाई जतिसक्यो त्यति धेरै बढाउँदै जानु पर्छ।

परीक्षणको दायरा बढ्दा संक्रमण स्वत: घट्दै जान्छ।

‘राज्य सम्वेदनशील हुनुपर्ने अवस्था हो यो’, डा. कार्कीले बताए।

अबको जीवन

संक्रमण हुनुभन्दा अगाडि उनी एक कुशल चिकित्सक थिए। संक्रमण पछि पनि उनी कुशल चिकित्सक नै हुने छन्। मैले पाएको नयाँ जीवन बिरामीहरुकै सेवामा समर्पित गर्नेछु भन्छन् उनी। ‘अझ बढी सक्रिय भएर काम गर्ने छु। सबै भन्दा महत्वपूर्ण कुरा कोरोना भाइरसको संक्रमणका बारेमा जनचेतना फैलाउने छु।’

 

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू