क्रिकेटर भण्डारीको अवस्था खतरामुक्त

ललित भण्डारी । फाइल तस्बिर
नेपालगञ्ज – दुर्घटनामा परेर घाइते भएका नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीलाई थप उपचारका लागि बाँकेको कोहलपुरमा ल्याइएको छ।
आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका थिए।
भण्डारीलाई बिहान ३:३० बजे कोहलपुर ल्याइएको हो। भण्डारीको सिटी स्क्यान नर्मल देखिएको चिकित्सकले बताएका छन्।
अस्पताल स्रोतका अनुसार, दाहिने खुट्टा र दाहिने हात भाँचिएको छ। उनी खतरामुक्त रहेका छन्। होसमा आइसकेका छन्।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा बसोबासरत राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना दुर्घटनामा घाइते भएका थिए।
झलारीस्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी हुँदै बाँके ल्याइएको हो।