कुलमानको फेरि नियुक्ति हुन्छ : नारायणकाजी, मन्त्रालय भन्छः तयारी छैन

संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ – सत्तारुढ नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनःनियुक्ति हुने विश्वास व्यक्त गरेका छन्।

चार वर्षे कार्यकाल पूरा गरेर घिसिङ आइतबार बिदाइ भएका छन्। १६ घण्टासम्मको लोडसेडिङको अन्त्य गरेर सर्वसाधरण जनताको मन जितेका कुलमानलाई पुनः जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेका बेला सत्तारुढ दलकै शीर्ष नेताले उनलाई फेरि प्रमुख बनाउने विश्वास व्यक्त गरेका हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा कुलमानको पुनःनियुक्ति हुन सक्ने सम्भावना व्यक्त भइरहेका छन्।

उनको पुनः नियुक्तिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा औपचारिक प्रस्ताव लैजानुपर्ने कानुनी व्यवस्था छ। तर मन्त्रालय स्रोतका अनुसार सोमबार घिसिङलाई पुनःगर्ने प्रस्ताव पेश गर्ने सम्भावना कम रहेको जनाएको छ।

मन्त्रालय स्रोतले भने, ‘कुराकानी भइहरेको छ। तर आजै पुनःनियुक्तिको प्रस्ताव जाने सम्भावना छैन।’

चार वर्षे कार्यकालमा घिसिङ लोडसेडिङ अन्त्य गर्नुका साथै घाटामा रहेको प्राधिकरणलाई ९ अर्ब सञ्चित नाफामा पु¥याएका छन्। त्यस्तै विद्युत् चोरीमा उल्लेख्य नियन्त्रण, नयाँ आयोजनाको निर्माणमाले पनि उनको कार्यकालमा गति लिएको छ।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्