साउदी अरबमा सामूहिक बलात्कारमा परेकी नेपाली महिलाको कहानी भन्दा संसदीय समितीमा यसरी भक्कानिए सहसचिव घिमिरे

काठमाडौं- संसदको उदयोग समितिमा सोमबार विदेशमा नेपाली महिला कामदारको अवस्थाबारे भएको छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे भक्कानिए।

छलफलका अधिकांश सहभागीले अब नेपाली महिला कामदारलाई विदेश पठाउनु हुँदैन भनेर राय राखिरहेका बेला सहसचिव घिमिरेले साउदी अरबस्थित नेपाली दुतावासमा आफुले काम गर्दा व्यहोरेको एउटा नमिठो अनुभव रुँदै साटे।

‘ यस्ता धेरै घटना छन्। तर यहाँहरुलाई एउटा प्रतिनिधी घटना सुनाउन चाहन्छु। साउदी अरबमा काम गर्दा एक दिन बिहानको चार बजे छिमेकमा बस्ने, एक कम्पनीमा म्यानेजरका रुपमा काम गर्ने सिरियनले मेरो क्वार्टरको घण्टी बजाए। उनले मसँग सुरुमै माफी माग्दै डिस्टर्ब गर्न नचाहेको तर बाहिर सडकमा दुई घण्टादेखि रुँदै कराइरहेकी महिला नेपाली जस्तो लागेकाले खबर गरेको बताए। नेपाली भएकाले उनको रेखदेख गर्नु मेरो जिम्मेवारी भएको बताए’, घिमिरेले भने।


घिमिरेका अनुसार ती महिला नवलपरासीको रिता पाछी थिइन्। उनको शरिरमा लगाएका कपडा च्यातिएका थिए। कपडा लगाएपनि निर्वस्त्र झैँ थियो। शरिरभर चोट थियो। नेपाली भाषा राम्रोसँग बोल्न सक्दिन थिइन्। निकै विक्षिप्त थिइन्। घिमिरेले भने, ‘ त्यो देख्ने वित्तिकै मैले मेरो कर्मचारीलाई बोलाएर ती महिलालाई मेरी श्रीमतीको कपडा लगाउन दिएँ।’

ती महिला सामूहिक बलात्कारमा परेर त्यहाँ आइपुगेकी थिइन्। बलात्कारपछि तीन तलाबाट तल फ्याँकिएको थियो। ‘हामीले ती महिलालाई चार महिनासम्म राखेर उपचार गर्‍यौँ किनभने उनका हात खुट्टा भाँच्चिएका थिए। हामीले ती महिलाको न्यायका लागि कहाँ धाएनौँ ! त्यहाँको मानव अधिकार आयोग, पुलिस प्रशासन तर अहँ, कहिँकतै सुनुवाई भएन’, उनले भने।

ती महिला कसरी साउदी अरब पुगेकी थिइनन्, उनलाई कसले पठाएको थियो भन्नेबारे केही बताइनन्। पछि आफन्त नाता पर्नेले नै पठाएको थाहा भयो। ‘हामीलाई ती व्यक्तिको पहिचान दिन नमान्ने उनले नेपाल फर्कने बेलामा त्यही व्यक्तिलाई नेपाल ओर्लिएपछि लिन बोलाइन्’, उनले तीतो अनुभव साँटे।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्