जलवायु परिवर्तनको विज्ञानलाई ट्रम्पले गरे पुनः अस्वीकार

जलिरहेको क्यालिफोर्निया पुगेर ट्रम्पले भने–हेर्दै जानुस् अवस्था चिसिँदै जानेछ

सीमित समयका लागि भए पनि अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जलवायु परिवर्तनको विषय चर्चाको केन्द्रमा आएको छ ।

कोरोना भाइरसको महामारी र रंगभेद विरोधी आन्दोलनका कारण जलवायु परिवर्तनको मुद्दा छायामा पर्दै आएको थियो ।

तर क्यालिफोर्निया, ओरिगन तथा वासिङ्गटन राज्यका विभिन्न क्षेत्रमा भीषण डढेलो लागेसँगै जलवायु परिवर्तनको मुद्दा अगाडि आएको हो । अगस्टको सुरुदेखि फैलिएको डढेलोका कारण झण्डै २० लाख हेक्टर क्षेत्र डढेको छ । अहिलेसम्म आगलागीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन् ।

वैज्ञानिक तथा डेमोक्र्याट र संरक्षणकर्मीहरुले हरेक वर्ष भयानक बन्दै गएको डढेलोको समस्या जलवायु परिवर्तनका कारण रहेको र तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताउँदै आएका छन् । तर हप्तौँसँग डढेलोबारे मौन रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने डढेलोको कारण जलवायु परिवर्तन नरहेको बताएका छन् ।

भीषण डढेलोको चपेटामा परेको पश्चिमी तटीय राज्य क्यालिफोर्नियाको भ्रमणमा गएका ट्रम्पले जलवायु परिवर्तनलाई लिएर व्यक्त गरिएको चासो खारेज गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी चासो खारेज गरेका ट्रम्पले क्यालिफोर्नियाका अधिकारीलाई ‘अब अवस्था चिसिन थाल्ने’ बताए ।

जलवायु परिवर्तनलाई शंकाका रुपमा हेर्ने र छल भन्दै आएका ट्रम्पले डढेलोको वास्तविक कारण कमजोर वन व्यवस्थापन रहेको दाबी गरे ।

तर डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ट्रम्प ‘जलवायु अपराधी’ रहेको बताए ।

डेलवरमा भएको कार्यक्रममा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले थप चार वर्ष ट्रम्पलाई ह्वाइट हाउसको जिम्मा लगाएमा अमेरिकाले थप आगोका मुस्ला र बिस्तारित डढेलो देख्ने बताए ।

आफ्नो क्यालिफोर्निया भ्रमणको क्रममा ट्रम्पले भने डढेलोविरुद्धको युद्धमा सामेल अधिकारीहरुसँगको भेटमा कमजोर वन व्यवस्थापन नै कारक रहेको भन्दै आफ्नो पुरानो अडान दोहोर्‍याए ।

एक अधिकारीले विज्ञानलाई बेवास्ता गर्न नहुने भनि ट्रम्पलाई जलवायु परिवर्तनको मुद्दामा ध्यान दिन भनेका थिए । तर उनले त्यसलाई खारेज गरेर भने, ‘अवस्था सामान्य हुँदैछ, चिसिँदैछ, हेरिराख्नुस्…मलाई लाग्दैन कि विज्ञानले वास्तविकता जान्दछ ।’

ट्रम्प अधिकांश समय विज्ञानको विपक्षमा देखिँदै आएका छन् । उनले कोरोना भाइरसको महामारीलाई लिएर वैज्ञानिक तथा स्वास्थ्यविज्ञले भनेका कुरालाई लगातार अस्वीकार गर्दै आएका थिए र छन् कम्तीमा सार्वजनिक रुपमा । यस्तै उनले जलवायु परिवर्तन र डढेलोलाई लिएर पनि विज्ञानलाई अस्वीकार गर्दै आएका छन् ।

डेमोक्र्याटिक उम्मेदवार बाइडेनले भने जलवायु परिवर्तन अमेरिका र पूरै विश्वले सामना गरिरहेको सबैभन्दा गम्भीर समस्या रहेको बताएका छन् । विज्ञानलाई सुनेर सोही अनुसार तत्काल प्रयासको खाँचो रहेको र त्यस्तो गर्न नसकिए मानव सभ्यतामा गम्भीर असर पर्ने उनले बताएका छन् ।

अवस्था सामान्य अर्थात कोरोना भाइरसको महामारी र प्रहरी ज्यादती तथा रंगभेद विरोधी प्रदर्शन नचर्किएको भए अहिलेको अमेरिकी चुनावमा जलवायु परिवर्तन प्रमुख मुद्दा बन्ने थियो । तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्कालका लागि भए पनि यसलाई केन्द्रमा ल्याएको छ ।

तस्बिरहरु : गेट्टी इमेज

(यो सामाचार बिबिसी र सिएनएनको सहयोगमा तयार पारिएको हो ।)

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्