अमेरिकामा हुर्किएर जापानलाई चम्काइरहेकी ‘अफ्रिकन ब्लड’ ओसाका अर्थात ग्रान्डस्लाम च्याम्पियन

नाओमी ओसाकाको नाम सुन्नेले पक्कै पनि भन्छन्- उनका बुबा जापानी होलान्। उनको अनुहार हेर्ने द्विविधामा पर्न सक्छन्- नाम जापानी तर वर्ण भने जापानी-अफ्रिकन!

पाँच फिट ११ इन्च उचाई भएकी ओसाका आम जापानी महिलाभन्दा निकै अग्ली र उनको शारिरिक बनावट पनि फरक देखिन्छ।

नाओमीको उमेर ३ वर्ष मात्र थियो जब उनी बसाई सर्ने आमा तामाकी ओसाकाको निर्णयपछि लागेर अमेरिका पुगेकी थिइन्। तामाकी माइती देशबाट श्रीमान लियोनार्द  फ्रान्कोइसको घर सर्दै थिइन्। हैटीका फ्रान्कोइस अमेरिकामा अध्ययन गर्ने क्रममा जापान घुम्न आउँदा होक्काइडोमा तामाकीसँग भेट भएका थिए। उनीहरुको लभ पर्‍यो। पहिलो सन्तान मारी जन्मिइन्। दोस्रो सन्तानका रुपमा नाओमीलाई पाए।

जापानको नियमअनुसार विदेशीसँग विवाह गर्ने केटा वा केटीका छोराछोरीले थर जापानी नागरिककै लेख्नुपर्छ, परिवारमा दर्ता ‘फ्यामिली रजिस्ट्री’ हुन।  जापानी आमा तामाकी ओसाका र हैटियन बाबु लियोनार्द फ्रान्कोइसकी छोरी जापानमा ‘नाओमी ओसाका’का रुपमा दर्ता भइन्। त्यसयता उनले थर कहिल्यै फेरिनन् वा फेर्न चाहिनन्। सायद उनले कहिल्यै सोचेकी थिइनन्- यहि नाममा विश्व टेनिसको सबैभन्दा ठुलो प्रतियोगिता ग्रान्डस्लाम टेनिसमा एसियाली कीर्तिमान बन्ने छ।

भर्खरै अमेरिकामा सम्पन्न यूएस ओपन ग्रान्डस्लाम जितेर उनी महिला टेनिसको विश्व वरियतामा पहिलो नम्बरमा पुगेकी छिन्। यसअघि उनीबाहेक कुनैपनि एसियाली खेलाडीले यो सफलता हात पारेका छैनन् । उनी एकल ग्रान्डस्लाम टेनिस जित्ने केवल दोस्रो एसियाली खेलाडी हुन्। यसअघि चीनकी लि नाले सन् २०११ मा फ्रेन्च ओपन जितेर पहिलो खेलाडीका रुपमा कीर्तिमान बनाएकी थिइन्।

ओसाकाले ग्रान्डस्लाम जितेको भने पहिलोपटक होइन्। सन् २०१८ मा आयोजित यूएस ओपन पनि जितेकी थिइन्, जतिबेला उनको उमेर १८ वर्ष मात्र थियो। लगत्तै आयोजित अस्ट्रेलियन ओपन पनि उनले जितिन् र करियरका सुरुका दुई ग्रान्डस्लाम लगातार जित्ने सन् २००१ यताकै पहिलो महिला खेलाडी बनिन्। त्यसअघि यस्तो सफलता अन्तिमपटक जेनिफर काप्रियाटीको नाममा थियो। अस्ट्रेलियन ओपन जितेपछि उनी विश्व वरियतामा पहिलो नम्बरमा पुगेकी थिइन्।

यूएस ओपनमा प्राप्त पछिल्लो सफलतापछि नाओमी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने एसियाली खेलाडी बनेकी छिन्। यसअघि लि नाले दुईपटक ग्रान्डस्लाम जितेकी थिइन्।  उनी विश्व वरियतामा दोस्रो नम्बरसम्म पुगेकी थिइन्, सन् २०१४ मा अस्ट्रेलियन ओपन जितेर।

विलियम्स दिदी बहिनीका बुबाबाट प्रभावित भएका फ्रान्कोइस  

फ्रान्कोइसले विलियम्स दिदी बहिनीलाई उनिहरुका बुबा रिचर्ड विलियम्सले प्रशिक्षण गरेको देखेका थिए। सन् १९९९ को फ्रेन्च ओपनमा विलियम्स दिदि बहिनीलाई कोर्ट बाहिर बसेर रिचर्डले निर्देशन दिइरहेको दृश्यले साना-साना दुई छोरीका बाबु फ्रान्कोइस प्रभावित बने। त्यस वर्ष सेरेनाले  यूएई ओपन जितिन्। सेरेनाको त्यो पहिलो ग्रान्डस्लाम उपाधि थियो। १८ वर्षीया सेरेनाको त्यो सफलताको चर्चा ग्रान्डस्लाम टेनिस जगतमा ब्यापक भयो। त्यस वर्ष सेरेना र भेनसले फ्रेन्च ओपन र यूएस ओपनको महिला युगलतर्फ पनि उपाधि जिते।

सन् २००० मा भेनसले दुई वटा एकल ग्रान्डस्लाम जितिन्, यूएस ओपनसहित। त्यसपछिका वर्षहरुमा विलियम्स दिदि बहिनीको राज चल्यो। कहिल्यै टेनिस नखेलेका रिचर्डले दुई छोरीलाई कसरी सिकाएर त्यो उचाईमा पुर्‍याए भन्ने कुराले फ्रान्कोइसलाई उत्सुकता जगाइरह्यो।

सामान्य टेनिस खेल्ने गरेका फ्रान्कोइसलाई रिचर्डको यस्तो प्रभाव पर्‍यो की उनले पनि आफ्ना छोरीहरुलाई भविस्यमा टेनिस खेलाडी बनाउने निर्णय लिए। त्यसका लागि छोरीहरुलाई अमेरिका ल्याउनु पर्थ्यो। उनले त्यसै गरे।

एक अन्तर्वार्तामा फ्रान्कोइसले त्यतिबेला विलियम्स दिदीबहिनीलाई प्रशिक्षण गरिरहेका रिचर्डलाई संकेत गर्दै भनेका छन्,’ छाप पहिल्यै बसिसकेको थियो। मैले पछ्याउनु मात्र थियो।’

नाओमी र मारी दुवैलाई आफैले टेनिस सिकाउन थाले। सन् २००६ मा छोरीहरुलाई राम्रो टेनिस प्रशिक्षण दिलाउन फ्रान्कोइस फ्लोरिडामा बसाई सरे। छोरीको उमेर बढ्दै जाँदा फ्रान्कोइसले उनिहरुलाई आईएसपी एकेडेमी, हारोल्ड सोलोमन टेनिस एकेडेमी र पछि प्रो वर्ल्ड टेनिस एकेडेमीमा प्रशिक्षणका लागि भर्ना गरे। दुवै छोरी व्यावशायीक र प्रतिस्पर्धात्मक टेनिसमा कोर्ट उत्रन तयार हुँदै थिए। फ्रान्कोइसले छोरीहरुलाई जापानका लागि खेलाउने निर्णय लिए।

एक अन्तर्वार्तामा भनेका छन्,’  हामीले सुरुका वर्षहरुमा नाओमीलाई जापानको प्रतिनिधित्व गरेर खेलाउने निर्णय गर्‍यौँ। किनभने उनी (नाओमी) ओसाकामा जन्मिइन् र जापानी र हैटियन घरायसी संस्कारमा हुर्किन्। नाओमी र उनकी दिदीले आफुलाई सँधै जापानी भएको महसुस गर्छन्।’

यो कस्तो पनि समय थियो भने ग्रान्डस्लाम टेनिसमा एसियाली खेलाडीले सफलता हात पार्न सक्छन् भन्ने प्रमाणित हुँदै थियो। सन् २०११ को अस्ट्रेलियन ओपनमा फाइनल पुगेर चिनियाँ लि नाले त्यस्तो छनक दिएकी थिइन्। उपाधि भिडन्तमा उनलाई सन्तानकी आमा किम क्लाइज्टर्सले निरास बनाइन्। लगत्तै फ्रेन्च ओपनमा पनि उनी फाइनल पुगिन्। यसपटक उनी चुकिनन्। उपाधि भिडन्तमा फ्रान्सेस्का सिआभोनलाई सोझो सेटमा हराइन्।

सन् २०१३ र २०१४ को अस्ट्रेलियन ओपनमा पनि लि ना फाइनल पुगेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलमा दोस्रोपटक पनि निराश भएकी उनी तेस्रो प्रयाशमा भने डोमिनिका सिबुल्कोभालाई सोझो सेटमा हराएर विजेता बनिन्। सोही वर्ष उनले सन्याश लिइन्। त्यसै वर्षको यूएस ओपनमा जापानका केई निसिकोरी फाइनलमा पुगेका थिए। ग्रान्डस्लाम टेनिसको पुरुषतर्फ यो अर्को एसियाली कीर्तिमान थियो। यद्यपी निसिकोरीलाई फाइनलमा मारिन सिलिचले हराई दिए। महिला टेनिसमा सेरेना विलियम्सको रवाफ उस्तै थियो। दिदी भेनसको प्रदर्शन पनि कम थिएन।

आईटीएफ वुमन्स सर्किटमा नाओमी र उनकी दिदी मारी प्रतिस्पर्धा गर्दै थिए। कतिपटक युगलमा मिलेर खेल्थे त कतिपटक एकल स्पर्धामा आपसमा भिड्थे। ग्रान्डस्लाम टेनिस र डब्लूटिए टुर छिर्न नाओमी आँतुर थिइन्। पहिलो डब्लूटीए प्रतियोगिताका रुपमा सन् २०१४ मा स्टानफोर्ड क्लासिकका लागि छनोट भइन्। उनले त्यहाँ विश्व वरियतामा १९ औँ नम्बरमा रहेकी समन्था स्टोसुरलाई हराइन्। सोही वर्ष उनले जापान वुमन्स ओपनमा पनि एक खेल जितेकी थिइन्। सन् २०१५ मा उनी विश्व वरियताको १ सय ४४ औँ स्थानमा पुगिन्।

उनले पहिलो ग्रान्डस्लामका रुपमा अस्ट्रेलियन ओपन खेलिन् सन् २०१६ मा। उनी प्रतियोगितामा भिक्टोरिया अजारेन्कासँग पराजित हुनुअघि तेस्रो चरणसम्म पुगिन्। फ्रेन्च ओपनमा तेस्रो चरणसम्म पुगेर सिमोना हालेपसँग पराजित भइन्। यूएस ओपनमा पनि तेस्रो चरणसम्म पुगेकी उनी मेडिसन किजसँग पराजित भएर बाहिरिएकी थिइन्।

सोही वर्ष वाइल्ड कार्डमार्फत पान पासिफिक ओपन खेलेकी उनी फाइनलसम्म पुगिन्। डब्लूटीए प्रतियोगितामा उनको यो पहिलो फाइनल थियो जहाँ उनी क्यारोलिन वोज्निएस्कीसँग पराजित भइन्। विश्व वरियतामा १२ औँ स्थानकी डोमिनिका सिबुल्कोभा र २० औँ स्थानकी स्भितोलिनालाई हराउनु उनको अर्को उल्लेख्य सफलता रह्यो।

त्यस वर्ष उनी डब्लूटिए न्युकमर अफ दी इयर घोषित भइन् भने विश्व वरियतामा पनि ५० औँ स्थानमा पुगिन्। सन् २०१७ को अन्त्यमा उनी वरियतामा ६८ औँ स्थानमा झरेपनि विम्बल्डन र  यूएस ओपन दुवैको तेस्रो चरणसम्म पुगिन्। विम्बल्डनमा उनी भेनस विलियम्ससँग पराजित भइन्। यूएस ओपनको पहिलो चरणमा त्यतिबेलाकी साविक विजेता तथा छैटौँ वरियताकी एन्जेलिक कर्बरलाई हराउनु उल्लेख्य सफलता बन्यो। त्यही वर्ष उनले हङकङ ओपनमा पाँचौँ वरियताकी भेनसलाई हराइन्।

सेरेनालाई हराएर पहिलो ग्रान्डस्लाम उपाधि 

वरियता सुधार र उपाधिका लागि नाओमीले प्रशिक्षक सास्चा बाजिनलाई ‘हायर’ गरिन्। जर्मन बाजिन कुनै समय सेरेना विलियम्सका ‘हिटिङ पार्टनर’ थिए। नाओमी र बाजिनको तालमेल अस्ट्रेलियन ओपनमै देखियो। नाओमी चौथो चरणमा पुगिन्, त्यतिबेलाकी विश्व नम्बर एक खेलाडी सिमोना हालेपसँग पराजित भएर बाहिरिनुअघि।

ग्रान्डस्लाम टेनिसमा उनी पहिलोपटक तेस्रो चरण पार गर्न सफल भएकी थिइन्। अर्को महिना उनले इन्डियन वेल्स ओपन जितिन्, पहिलो डब्लूटीए उपाधिका रुपमा। उनले विश्व वरियताको शीर्ष पाँच भित्रका कारोलिना प्लिसकोभा र हालेप(पहिलो वरियता)लाई क्वाटरफाइनल र सेमिफाइनलमा हराएकी थिइन्। पहिलो वरियताकी खेलाडीलाई नाओमीले हराएको यो पहिलो अवसर थियो। उनी यो प्रतियोगिता जित्ने १० वर्षयताकै सबैभन्दा कान्छि खेलाडी बनिन्। नाओमी विश्व वरियतामा २२ औँ स्थानमा पुगिन्।

सेरेना र नाओमी।

एक सातापछि उनले मिआमी ओपनमा सेरेना विलियम्सलाई हराइन् जो आमा बनेपछि दोस्रो प्रतियोगिता खेल्दै थिइन्। त्यस वर्ष पनि उनी फ्रेन्च ओपन र विम्बल्डनमा तेस्रो चरणभन्दा अगाडि बढ्न सकिनन्। तर अस्ट्रेलियन ओपन ? यो खास बन्यो। उनी फाइनल पुगिन्। उपाधि भिडन्त उनको बाल्यकालकी ‘आदर्श’ सेरेनासँग पर्‍यो। त्यतिबेला ३६ वर्ष उमेरकी सेरेना ग्रान्डस्लाम टेनिसको महिला एकलतर्फ सर्वाधिक २४ उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने दाउमा थिइन्।

यो खेल नाओमीले यति सजिलै जितिन् की जुन विश्वास गर्न सजिलो थिएन। यो प्रतियोगिताको ६ पटककी पूर्व विजेता र दुईपटककी उपविजेता सेरेना ६-२ र ६-४ को सोझो सेटमा पराजित भइन्। खेलका क्रममा सेरेना अम्पायरसँग विवाद गर्न पुगेकी थिइन् जुन पछि निकै विवादित बन्यो, उनको आलोचनाको विषय बन्यो। एेतिहाँसिक त्यस सफलतापछि नाओमीले ‘थोरै तितोमिठो अनुभव’ र ‘आवश्यकजति सबैभन्दा खुसीको क्षण’ नभएको उल्लेख गरेकी थिइन्।

यो नतिजामा सेरेना र नाओमीमा केही खास समानता देखिएको थियो। सेरेनाले पनि पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा यूएस ओपन जितेकी थिइन्। सेरेनाजस्तै, नाओमी पनि पहिलो ग्रान्डस्लाम उपाधि जित्दा १८ वर्षकी थिइन्। उचाईमा नाओमी, सेरेनाभन्दा दुई इन्च अग्लि छिन्।

यूएस ओपन उपाधिले नाओमी विश्व वरियतामा शीर्ष १० भित्र पुगिन्। लगत्तै उनी पान प्यासिफिक ओपनको पनि फाइनल पुगिन्। तर यसपटक उनी उपविजेतामै सिमित भइन्। वर्षको अन्त्यमा उनी वरियताको चौथो स्थानमा पुगिन्।

नाओमीलाई एेतिहाँसिक सफलता दिलाएका बाजिन सन् २०१८ का लागि ‘डब्लूटीए कोच अफ दी इयर’ घोषित भए। नाओमीसँग पराजित भएयता सेरेना चारपटक ग्रान्डस्लामको फाइनल पुगेपनि उपाधि जित्न सकेकी छैनन्। यसपटक यूएस ओपनको फाइनलमा नाओमीले हराएकी भिक्टोरिया अजारेन्काले सेमिफाइनलमा सेरेनालाई हराएकी थिइन्। भिक्टोरियाविरुद्ध पहिलो सेट १-६ ले गुमाएपनि नाओमीले त्यसपछिका सेट ६-३ र ६-३ ले जित्दै उपाधि जितेकी हुन्। उनी ग्रान्डस्लाम टेनिसको फाइनलमा नहारेको इतिहास कायम राख्न सफल भइन्।

सँधै जापान र अस्वेत(काला जाती)को पक्षमा 

यसपटक यूएस ओपन जितेपछि नाओमीले ट्वीटरमा लेखेकी छिन्, ‘ म मेरा पुर्खाहरुलाई धन्यवाद दिन चाहन्छु। जब म मेरो शरिरमा उनिहरुको रगत बगिरहेको सम्झन्छु, मैले हार्न सक्दिन भन्ने याद हुन्छ।’

पछिल्लो समय अमेरिकामा अस्वेतहरुमाथी भइरहेको व्यवहारका घटनाविरुद्ध उनले यूएस ओपन प्रतियोगिताभर सांकेतिक समर्थन जनाइन्। उनी अमेरिकी सुरक्षाकर्मीद्धारा मारिएका अस्वेतहरुको नाम लेखिएका मास्क लगाएर कोर्ट आउने गर्थिन्। फाइनल पुगेपछि उनी महान् बास्केटबल खेलाडी कोब ब्रायन्ट , जो अस्वेत हुन् ,को नाम उल्लेखित जर्सी लगाएर कोर्ट बाहिर आराम गरिरहेको देखिएको थियो।

नाओमीले फाइनल जितेपछिका क्षणका तस्विरहरु राखेर गरेको ट्वीट सेयर गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेलले लेखेकी छिन्,’ नाओमी ओसाका, तिमीदेखि निकै गर्व लागेको छ।’ नाओमी ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा सक्रिय देखिन्छिन्।

नाओमी १६ वर्षको हुँदा उनलाई अमेरिकी टेनिस संघले आफ्नो ट्रेनिङ सेन्टरमा आएर प्रशिक्षण गर्न आग्रह गरेपनि अस्विकार गरेकी थिइन्। उनले सन् २०१९ मा अमेरिकाको नागरिकता त्यागेकी छिन्, टोकियो ओलम्पिक खेलकुदमा जापानको प्रतिनिधित्व गर्न। जापानको कानुनअनुसार दोहोरो नागरिकता भएका व्यक्तिले २२ वर्षको उमेरसम्म मात्र आफ्नो देशको नागरिकता लिन पाउन सक्ने व्यवस्था छ जसका लागि अर्को देशको नागरिकता त्याग्नुपर्छ।

खासमा, फ्रान्कोइससँग तामाकीको सम्बन्धलाई उनका अभिभावकले रुचाएका थिएनन्। त्यसैले उनिहरु होक्काइडोबाट ओसाका बसाई सरेका थिए। मारी र नाओमी ओसाकामै जन्मिएका हुन्। तामाकी र उनका अभिभावकबीच १५ वर्षसम्म सम्पर्क भएको थिइन्।  नाओमीले ११ वर्षको हुँदा बल्ल जापान पुगेर आमाका बुबाआमालाई भेट्न पाएकी थिइन्। टेनिसमा नाओमीको सफलताले उनकी आमा र मामाघरबीचको सम्बन्ध सुध्रिएको थियो। तर अझैपनि जापानीहरु नाओमीलाई ‘आधा जापानी’ भन्ने गर्छन्।

आफ्नो बहुसांस्कृतिक पहिचानबारे नाओमीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरा बुबा हैटियन हुन्। म न्युयोर्कस्थित हैटियन घरायसी सस्कृतीमा हुर्किएँ। मेरो आमा जापानी हुन् र जापानी सस्कार पनि ममा छ। यदि तपाई मलाई अमेरिकन भन्नुहुन्छ भने हो म त्यो पनि हो किनभने म अमेरिकामा बस्छु।’

नाओमी जापानी भाषा बुझ्छिन् तर त्यही भाषामा राम्रोसँग कुराकानी गर्न सक्दिनन्।  तर जापान र अस्वेतप्रति उनको अगाध माया देखिन्छ।

नाओमीको नाम अहिले विश्वभर सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडीको सूचीमा अग्रपंक्तिमा आउँछ।

 

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्