'सोसल डिलेमा'को चिरफार

सामाजिक सञ्जालले कसरी हामीलाई एडिक्ट बनाउँछ?

‘धेरै राम्रा परिवर्तनहरु भएका छन्। बिछोडिएका आफन्त भेटिएका छन्। कतिले यही माध्यमबाट अंगदाता पाएर जीवन बाँचेका छन्। यी माध्यमहरुले विश्वमा धेरै संरचनागत राम्रा परिवर्तन ल्याएका छन्। तर यसको अर्को पाटो पनि छ, जसको प्रभाव हामीले सोच्न सक्ने भन्दा विकराल र टड्कारो छ।’

पिन्टरेस्टका पूर्वअध्यक्ष टिम केन्डलले हाल निकै चर्चामा रहेको वृतचित्र ‘द सोसल डिलेमा’ मा भनेका हुन् यी कुरा। फेसबुकको विज्ञापन विभागको निर्देशकका रुपमा समेत काम गरेका उनी हाल मोमेन्ट नामक एप्लिकेशनका सिइओ हुन्।

नेट्फ्लिक्सका लागि जेफ अरलोस्कीको निर्देशनमा तयार पारिएको वृत्तचित्र ‘द सोसल डिलेमा’ अगस्टको अन्तिम साता रिलिज भयो। यस वृत्तचित्रमा सामाजिक सञ्जालले मानव समुदायमा पारेको गम्भीर मनोसामाजिक प्रभावलाई केन्द्र बनाएएको छ र सो विषयलाई प्रविधि क्षेत्रको विश्वकै राजधानी मानिने सिलिकन भ्यालीमा रहेर नेतृत्वदायी भूमिकामा काम गरिसकेका केन्डलसहितका व्यक्तिसँग कुराकानीका आधारमा प्रस्तुत गरिएको छ।

ट्रिस्टान ह्यारिसले गुगलमा डिजाइन एथिसिस्टका रुपमा काम गरे। ‘गुगलमा बसेर काम गर्दा विशेष गरी म जिमेलमा एडिक्टेड भएँ। काम गर्दै जाँदा प्रविधिगत कुराले पार्ने प्रभाव प्रविधि उद्योगले मात्रै होइन, प्रयोगकर्ताले पनि थाहा पाउनु पर्न भन्ने लाग्यो। तर उद्योग भित्र यस्तो विषयलाई कुनै स्थान नै छैन। केन्द्र जहिले मुनाफा नै रहन्छ।’

प्रविधिसँगै विकास भएका सामाजिक सञ्जालबाट मानिसमा परेको असरले चिमोटिएपछि उनले सिलिकन भ्यालीमै महत्वपूर्ण पदमा रहेर काम गरेका एजा रास्किनसँग मिलेर सेन्टर फर ह्युमेन टेक्नोलोजी नामक संस्था स्थापना गरे सन् २०१३ मा। सो संस्था मार्फत ह्यारिस र रास्किनले प्रविधिका प्रयोगकर्ताहरुको आचारसंहितालाई केन्द्रमा राखेर सचेतनामुलक काम गर्दै आएका छन्।

ट्रिस्टानले वृत्तचित्रमा भनेका छन्, ‘म आफू जिमेलमा एडिक्टेड भएँ र त्यहाँ कसैले पनि यसलाई कम एडिक्टेड बनाउनका लागि काम गरिरहेका थिएनन्।’

द सोसल डिलेमाले सामाजिक सञ्जालमा निर्भर बन्दै गएको मानवीय गतिविधि र गुमाउँदै गएको मानोसामाजिक स्वास्थ्य तथा विचारणीय क्षमतालाई लिएर गम्भीर छलफलको उठान गरेको छ।

सिलिकन भ्यालीका पूर्व कर्मचारी, लगानीकर्ता, प्रविधि क्षेत्रको व्यवसायको संरचनामा विशेष ज्ञान राख्ने प्राध्यापक तथा प्रविधि र सामाजिक सञ्जालले मानवीय स्वास्थ्यमा पारेको प्रभाव बारे अध्ययन गरेका मनोसामाजिक विज्ञसहितको विस्तृत विश्लेषणात्मक टिप्पणी समेटिएको वृत्तचित्रले चम्किलो सञ्जालको गाँठोमा निसास्सिने गरी कसिँदै गएको सामाजिक–व्यवासायिक नैतिकतालाई प्रस्तुत गरेको छ।

ट्रिस्टान ह्यारिस

फेसबुकमा सुरुमा लगानीकर्ताका रुपमा रहेका पूँजिपति रोजर म्याकनेमीले भनेका छन्, ‘सिलिकन भ्यालीमा सुरुको व्यवसाय सजिलो थियो, सामग्री बनायो बेच्यो। तर पछिल्लो १० वर्षदेखि सिलिकन भ्यालीका ठूला कम्पनीहरुले आफ्ना प्रयोकर्तालाई बेचिरहेका छन्।’

फायरफक्स र मोजिला ल्याबका पूर्व कर्मचारी तथा सेन्टर फर ह्यूमेन टेक्नोलोजीका सह–संस्थापक तथा इनफिनिटी स्क्रोलका आविष्कार एजा रास्किनले सामाजिक सञ्जालले गर्ने प्रयोगकर्ताको व्यापारलाई थप प्रष्ट पारेर भनेका छन्, ‘हामीले कुनै पनि सेवाका लागि हामीले पैसा तिरेका छैनौँ भने विज्ञापनकर्ताले तिर्छन्, त्यसको अर्थ हामी बेचिइरहेका छौँ।’

सेन्टर फर ह्युमेन टेक्नोलोजीका अर्का सह–संस्थापक ट्रिस्टान भन्छन्, ‘यदि सामानका लागि पैसा तिरिएको छैन भने तिमी नै सामान हो। अर्थात सामाजिक सञ्जालका लागि प्रयोगकर्ता सामान वा बस्तु हुन्।’

उनीहरु सबैले आफूहरुले सिलिकन भ्यालीमा रहेर काम गर्दा प्रत्यक्ष अनुभूत गरेको कुरा र त्यसले पारेको तथा पार्न सक्ने प्रभावबारे बताएका छन् वृत्तचित्रमा।

सामाजिक सञ्जालहरु आफन्तसँग कुरा गर्ने वा तस्बिर पोस्ट गर्ने निःशुल्क माध्यम मात्रै हो भन्ने बुझाइ अधिकांश प्रयोगकर्तामा रहेको तर त्यो वास्तविकता नरहेको भन्दै सिलिकन भ्यालीका पूर्व कर्मचारीहरुले वृत्तचित्रमा त्यहाँको भित्री कथा बताएका छन्। सिलिकन भ्याली भित्र हुने प्रयोकर्ताको आकर्षणका लागि हुने प्रतिस्पर्धा र त्यसका लागि गरिने प्रयासहरुको कुरा बुझ्ने अवसर द सोसल डिलेमाले दिएको छ।

सामाजिक सञ्जाललाई दुविधाको व्यापारका रुपमा प्रयोकर्ताले नबुझेको वा कम्पनीहरु बुझाउने प्रयासमा कत्ति पनि नरहेको र उनीहरु मात्रै उनीहरुको ध्यान प्रयोकर्तालाई ‘एडिक्टेड’ बनाएर बढीभन्दा बढी समय ‘इन्गेज’ गराइरहने खेललाई वृत्तचित्रका वास्तविक र फिक्सनल पात्रहरुले बुझाउने प्रयास गरेका छन्।

सामाजिक सञ्जालहरुको प्रभाव किशोरकिशोरीमा पारेको मनोसामाजिक प्रभाव र त्यसले निम्त्याएको आत्महत्यासम्मका गम्भीर चुनौतीको उठान गरेको वृत्तचित्रले प्रयोगकर्ताको ‘आकर्षण’ को व्यापार र त्यसले कम्पनीहरुलाई दिएको आर्थिक मुनाफा तथा प्रयोगकर्ता एवम् समाजलाई दिएको गम्भीर दुविधाको उपहारलाई प्रस्तुत गरेको छ।

‘तपाईँ (प्रयोग) कर्ताको हितमा कसैले सोच्दैन, उनीहरु तपाईँको व्यवहारलाई म्यानुपुलेट गरेर व्यापार गरिरहेका छन्।’

‘प्रविधि टड्कारो समस्या होइन । समाजमा टड्कारो समस्या निम्त्याउन सक्ने प्रविधिको क्षमता र सो टड्कारो समस्या समाजमा रहनु चाहिँ समस्या हो।’

‘प्रविधिले समाजमा समभावको अन्त्य गराउन सक्छ। प्रत्यक्ष सञ्चार हराउँदै गएको छ। एकअर्कामाथिको विश्वास गर्ने क्षमता विलीन हुँदैछ।’

‘गलत सूचना र प्रोपोगाण्डाहरु यति छन् कि प्रविधि कम्पनीहरुलाई नै थाहा छैन कुन चाहिँ सत्य हो र कुन भ्रम। यसले प्रयोगकर्ता मिसलिड भइरहेका छन्।’

यी सबै भनाइहरु सिलिकन भ्यालीमा लामो समय बिताएकाहरुले व्यक्त गरेका चिन्ताहरु हुन् र यसलाई वृत्तचित्रमा विस्तृत रुपमा समेटिएको छ।

न्यूयोर्क विश्वविद्यालयको स्कूल अफ बिजनेसका सोसल साइकोलोजिस्ट जोनथन हाइटले भनेका छन्, ‘सामाजिक सञ्जालको प्रयोग बिस्तार हुँदै जाँदा डिप्रेशन, एन्जाइटीसहितका मनोसामाजिक समस्याहरु तीव्र गतिमा बढिरहेका छन् र यसबाट विशेष गरी किशोरीहरु प्रभावित भएका छन् । स्पष्ट रुपमा सामाजिक सञ्जाल र बढ्दो मनोसामाजिक समस्याको सम्बन्ध देखिन्छ ।’

एजा रास्किन

तत्काल सामाजिक सञ्जालहरुलाई प्रयोगकर्ताप्रति उत्तरदायी र प्रयोगकर्तालाई सुसूचित गर्न नसकिएमा तथा नियमन र नियन्त्रण नभएमा मानव समाजमा निम्तिन सक्ने विखण्डन, एक्लोपन, आफैप्रतिको अविश्वास तथा राजनीतिक घटनाक्रम (चुनाव) हरुमा हुन सक्ने दखल आँकलन भन्दा बाहिर रहेको विज्ञले बताएका छन् र सो कुरालाई वृत्त चित्रले समेटेको छ ।

‘यी बजारहरुले प्रजातन्त्र र स्वतन्त्रतालाई कमजोर बनाएका छन् र यस्ता व्यवसायहरुलाई गैरकानूनी घोषित गरिनु पर्छ । यो क्रान्तिकारी प्रस्ताव होइन । हामीले मानव अंगको व्यापारलाई गैरकानूनी बनायौँ, दासको व्यापारलाई गैरकानूनी बनायौँ, किनकी ती व्यापारले मावन समाजमा असामान्य नराकारात्मक प्रभाव पारेका थिए । यो सामाजिक सञ्जालको व्यापार पनि यस्तै गम्भीर छ,’ हार्वर्ड बिजनेश स्कूलकी प्राध्यापक तथा ‘द एज अफ सर्भिलेन्स क्यापिटालिजम’ पुस्तककी लेखक शोशाना जुबफको प्रस्ताव र तर्क हो यो ।

प्रयोगकर्ता निरन्तर निगरानीमा रहेको र सम्पूर्ण जानकारी प्रविधि कम्पनीसँग रहेको र उनीहरुले त्यसको व्यापार गरेर हामीलाई दिग्भ्रमित पारेको तथा मनोसामाजिक रुपमा अस्थिर बनाएको बताउने वृत्तचित्र द सोसल डिलेमाले सोच्च बाध्य पार्छ। विषय सोच्नु पर्ने र काम तत्काल गर्नु पर्ने पनि छ कम्तीमा व्यक्तिगत तवरबाटै भए पनि।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्