जीवनमा बाटाहरु छन्, जीवनमा बाटाहरु छैनन्

जीवनमा बाटाहरु छन् । जीवनमा बाटाहरु छैनन् । हुनु र नहुनमा चिन्ता नगरौँ । आँखा चिम्म गरौँ, बिस्तारै लामो सास भित्र तानौँ । बिस्तारै आँखा खोलौँ । सासलाई यसकै गतिमा बाहिर छोडौँ । अनेकौ बाटाहरु छन् जीवनमा । आफुले चाहेको बाटो समातौ । जीवनले सधैँ हामीले चाहेको बाटो नदिन पनि सक्छ । चिन्ता नगरौँ, यसले चिताको बाटोमा पुर्‍याउँछ । जुन बाटो देखा पर्छ, हिँडौ । आफूले हिँड्न नपाएको बाटोको कल्पना गरौँ । कल्पनामा कुनै हानि छैन । यसको आनन्द पनि चाहिन्छ हामीलाई । यहिँ कल्पना र तथ्यको छायाँमा हामी जीवनको माया पाउँदछौँ । नसुनिएका गीत झन् मिठा हुन्छन् । सुनेका गीतसंगीतको सुनाइबाट दिक्क भयौँ भने त्यसतर्फपनि कान उघारौँ जसले अस्तित्व छोडेर विराट अस्तित्वको संसारतर्फ आँखा उठाउन लत बसाउँछ ।

बाटाहरु छन् जीवनमा । हिँडौ, अघि बढौँ । अलि पर पुग्दा बाटो सकिन सक्छ । नयाँ बाटो बनाऊँ वा पहिल्याऊँ । सकिएन? किन चिन्ता? त्यहि बाटो फर्कौँ । फर्कनुमा कुनै लज्जाबोध वा क्षोभ गर्नु छैन । जीवन अघि बढ्नु मात्र होइन, पछि फर्कनु पनि हो । यो स्वादलाई जान्न हामी फर्कन पर्छ । अलि पर पछि रहेका अघिल्तीरका हामीले आफू अघिल्तीरका दृश्यसँग दाँजिदा पो खल्लो लाग्ने हो तर पुछारबाट हेर्नेले त कृपाप्राप्त पात्र भनेका होलान् र अमूकले टेकेको पुगेको ठाउँमा पुग्ने कल्पनामा बसिरहेका होलान् । मनलाई चिलाउँने र बिसाउँने अनेकौ माध्यमहरु छन्, खासमा ती पनि बाटा हुन्, मनका मलिला बाटाहरु ।

बाटाहरु छन् जीवनमा । अघि मात्र नबढौँ, पछि मात्र नफर्कौँ । दाँया हेरौँ , बाँया हेरौँ । माथि हेरौँ, तल हेरौँ । आफैमाथि एक नजर लगाऊँ (अर्कामाथि लगाउने नजरको अर्थ छैन) । नजर बिस्तारै आफैभित्र पुर्याउ । आफुभित्र धेरै बाटा भेटिन्छन् । एकैछिन पर्खौँ । आँखा चिम्म गरौँ, बिस्तारै लामो सास भित्र तानौँ । बिस्तारै आँखा खोलौँ, सासलाई यसकै गतिमा बाहिर छोडौँ । आफुभित्रका बाटाहरु डरलाग्दा हुन सक्छन्, त्यसभित्रको बाटो जटिल र गाह्रो हुन सक्छन् । आफुभित्रका बाटामा फोहोरको थुप्रो हुन सक्छ । चिन्ता नगरौँ । जीवनको मुख्य उद्देश्य आफैँभित्रका बाटा सफा गर्ने, सजिलो बनाउँने र भयरहित यात्रा जारि राख्ने होइन र? बाटो सफा गर्ने खजानाको जोहो गर्नुपर्छ ।

बाटाहरु छन् जीवनभित्र । अर्थात मनभित्र । मनका तहतहमा । मनभित्रका अध्यारा साँघुरा बाटो हिँडौँ । अध्यारोमा देखिँदैन, दियो बालौँ । दियो हामीसँगै हिँडेको हुन्छ । त्यसलाई खोज्नु पर्यो । कसैले खोजिदेलाको आशाले दियोलाई निभाउँछ । ‘अप्पो दिप भव’ हामी आफै आफ्नो जीवनका गुरु हौँ । हामी आफ्नै यात्राले अध्यारो हटाउँदै उज्यालो खोज्ने हो, ‘तमसोमा ज्योतिर्गमय’ ।

सुफी परम्पराको एउटा छोटो कथा पढौँ । कथाका अनुसार दुईजना मानिस बाटोमा हिँडिरहेका छन् । एक व्यक्तिको हातमा लालटिन छ । अर्को मानिसको हातमा लालटिन छैन । तिनीहरू सँगै हिँडिरहेका छन् । मध्यरातको समय छ । तर जसको हातमा लालटिन छैन, उसले आफ्नो हातमा लालटिन नभएको कुरा सोच्दैन । अर्थात उसलाई लाग्छ, अर्को व्यक्तिको हातमा लालटिन छ भने मैले किन बोक्न पर्यो र? उसैको लालटिनको उज्यालोमा यात्रा जारी छ । दुवै गफमा मस्त हुँदै यात्रा जारी राख्छन् । एउटा दोबाटो आउँछ जहाँ उनीहरु छुट्टिनुपर्ने हुन्छ । लालटीन बोकेको व्यक्तिले भन्छ, अबको मेरो बाटो अलग छ । त्यसपछि आकाश झन् अँध्यारो हुन्छ ।

बाटाहरु छैनन् जिवनमा । हो, छैनन, बाटो नहुनुको चिन्ता नगरौँ । चिन्तालाई चिन्तनमा रुपान्तरण गरौँ । बाटो अगाडी आउँछ तर अस्पष्ट लाग्न सक्छ । स्पष्ट गर्ने बाटोमा हिँडौँ । ध्यानको बाटोमा हिँडौँ । हिँड्दै जाँदा बाटै सकिएझैँ हुन्छ । ‘सकिएझैँ’ लाई सकिदिनु नै राम्रो । सुन्दर नयाँ बाटो शुरु भएको हुन्छ । शुरुवात आफैँबाट गरौँ ।

बाटाहरु छैनन जीवनमा । हो, छैनन । चराहरुले बाटो बनाउँदैनन् । आकाशमा स्वतन्त्र, निडर उडिरहेका हुन्छन् । बाटोको चिन्ता नै गर्दैनन् । बाटो बनाउँन टाउको नै दुखाउँदैनन् । हामी बाटोको खोजीमा टाउको दुखाउँदै जीवन सकाउँछौ । त्यो जीव उडिरहेछ, यो जीव (हामी) घस्री रहेछ । बाटोको चिन्ता ‘घर्साई’ हो र ‘घर्साई’ दुखाई हो, घुँडा र कुइनोलाई सोधौँ। शरीररमा रहेका हरेक अंगको आफ्नो बाटो छ । ती अंगको रहस्यलाई जानौँ र मोज गरौँ । केवल बाटोमा अलमल मात्र नगरौँ ।

बाटाहरु छैनन् जीवनमा । हो, छैनन् । माझीले नदीमा कुनै बाटो बनाउदैन । डुंगा खियाउँदै जान्छ, बाटो बिलाउँदै जान्छ । ऊ किंचित चिन्तित छैन । पारिपट्टि किनारामा यात्रुहरु छोडीदिन्छ । केहिबेर सुस्ताउँछ । नदीमा नजर दौडाउँछ । नदि अविरल बग्दो छ । आफु अघि आएको बाटोमा डोब नदेखेर हडबडाउँदैन । हडबडको जिन्दगी गडबड हुन्छ । फेरी यात्रुहरु बोकेर अर्को किनारामा छोडिदिन्छ । सतत् उसको जीवनलीला चलि नै रहेको छ ।

बाटाहरु छैनन् जीवनमा । हो, छैनन् । यहि अभावले बाटाहरु जन्मन्छन् । अभावमा किन आत्तिने ? यसैले त हो नि आखिर बाटाहरु खोल्ने । सम्पन्नतामा किन सन्कने? किन मात्तिने ? यसैले त हो नि बाटाहरु रोकिने । त्यसो भने आत्तिने र मात्तिनेको मध्यम मार्ग किन नपहिल्याउने । यो जीवनमा पहिल्याउन पर्ने बाटो होइन र ? जीवनले छनोटको अवसर दिएकै छ । अवसरको सदुपयोग र दुरुपयोग तपाई हाम्रो कुरा हो ।

सिद्धार्थ गौतमले दरबारको बिलासी बाटो त्यागेर जंगल पसे । खोज्दै जाँदा खडेबाबा शैलीको कडा ‘एसिटेसिज्म’ को बाटोमा फसे । तर उनि अल्झिएनन् । अल्झिनु बाटो गुमाउनु हो भनि उनि बुझ्दथे । अन्त्यमा उनले मध्यममार्गको अनुसरण गरेर बुद्ध भए । उनको मध्यममार्ग यसरी बुझौः ‘नमस्तीन सास्ती’ । मस्तीको बाटोले मान्छे मात्तिन्छ भने सास्तीको बाटोले मान्छे आत्तिन्छ । जीवनको बाटो मात्तिन र आत्तिन पक्कै होइन ।

एकैछिन पर्खौँ । आँखा चिम्म गरौँ, बिस्तारै लामो सास भित्र तानौँ । बिस्तारै आँखा खोलौँ, सासलाई यसकै गतिमा बाहिर छोडौँ। सिद्धार्थ भनेको बाटो बिराउनु हो । बाटो बिराउनु भनेको बुद्ध बन्नु हो । बुद्धको बाटो बिराई भनेको अरुले हिँडेको बाटो नहिँड्नु हो । बुद्ध हुनु भनेको आफ्नै बाटो पहिल्याउनु र सोहि बाटोमा हिँड्नु हो । यसलाई नभुलौँ सिद्धार्थ भएरै बुद्ध भइने हो । मुक्तिको बाटो हिँड्न बन्धनको बाटो बुझ्नुपर्ला ।

बाटाहरु छैनन् जीवनमा । हो, छैनन् । माझीले नदीमा कुनै बाटो बनाउदैन । डुंगा खियाउँदै जान्छ, बाटो बिलाउँदै जान्छ । ऊ किंचित चिन्तित छैन । पारिपट्टि किनारामा यात्रुहरु छोडीदिन्छ । केहिबेर सुस्ताउँछ । नदीमा नजर दौडाउँछ । नदि अविरल बग्दो छ । आफु अघि आएको बाटोमा डोब नदेखेर हडबडाउँदैन । हडबडको जिन्दगी गडबड हुन्छ । फेरी यात्रुहरु बोकेर अर्को किनारामा छोडिदिन्छ । सतत् उसको जीवनलीला चलि नै रहेको छ ।

मध्यमार्ग सहज हुँदैन । यो कष्टकर छ । यसका लागि मनभित्रको दुर्योधनसँग लड्न सक्नुपर्छ । जोसँग कष्टले युद्ध गरिन्छ, त्यो दुर्योधन हो, दुःखेन युद्द्यते अनेनसह इति दुर्योधनः । जान्न सके कष्टको अर्को मजा छ । कष्टको बाटो हिँडेर नै बुद्धले चट्टको बाटो भेटेका हुन् । आँखा चिम्म गरौँ, बिस्तारै लामो सास भित्र तानौँ । बिस्तारै आँखा खोलौँ, सासलाई यसकै गतिमा बाहिर छोडौँ । सास प्राण हो र प्राण नै जिन्दगी । जिन्दगी रहे, बाटो रहन्छ ।

हाम्रो जिन्दगी नरहेपनि बाटो रही नै रहन्छ । बाटो हिजो थियो, आज छ र भोलि पनि रहनेछ । हामी नरहेपनि सुर्य उदाईरहनेछ । चन्द्रमाले आफ्नो धर्म निभाईरहनेछ । ताराहरु आकाशमा टिलपिलाइरहनेछन् । नदीहरु सतत बगीरहनेछन् । हिमालका हिउहरु हाँसीरहनेछन । फूलहरू सँधै फक्रिरहनेछन, फूलिरहनेछन, र चराहरू गाउँदै र आकाशको कावा खादै स्वतन्त्र उडी रहनेछन ।

जीवनमा बाटाहरु छन । हामि धेरैबाटो हिँड्ने लोभमा धेरै खुट्टाको चाहना राख्छौँ । धेरै बाटाहरु हिँड्न धेरै खुट्टा चाहिदँैन । प्रकृतिले दिएको दुई खुट्टा काफी छ । खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यसलाई सयौँ खुट्टाहरु भएको कीरा भनेर जानिन्छ । यसका धेरै खुट्टाले यसलाई शिकारी बनाएको हुन्छ । यसका धेरै खुट्टाले यसलाई छिटोछिटो हिँड्न दबाब दिएको हुन्छन् । केहि खुट्टा यसले विष बोक्न प्रयोग गर्छ । धेरै खुट्टा मानवजीवनको लागि होइन ।

जीवनमा बाटाहरु छन् । बाटो उक्लिनुमा उच्चताभाष र ओर्लनुमा लघुताभाष जरुरी छैन । उकालो ओरालो बाटोको प्रकृति हो । बाटो उक्लनु भनेको ओर्लनु पनि हो, ओर्लनुले आफैसँग उक्लाई ल्याएको हुन्छ । उक्लाई र ओर्लाई जीवनका अभिन्न पाटा ।

जीवनमा बाटाहरु छन् । तर बाटो प्राप्तिको आशक्तिले हामीलाई अशक्त बनाउँछ । हाम्रो आशक्तिले मूलबाटो हराउँछ । बाटोलाई आफ्नै बाटोमा छोडिदिउ। यात्रा गर्दै जाउ । बाटो फैलिदै जान्छ । बाटो लम्बिदै जान्छ । यात्राको निरन्तरता चलिरहन्छ । सचेततापूर्वक यात्रालाई हेरी राखौँ । बाटाहरु छन् जीवनमा । ज्ञानीहरु भक्ति, योग र ज्ञानमार्गका कुरा गर्छन् । भक्ति आफैभित्रको बाटो हो ।

आफुभित्रको बाटोलाई गरिने विश्वास । आत्मविश्वास । आफैभित्र निहित स्वर्गको ढोकामा पुर्याउने बाटो । स्वर्ग मनको निकाय हो, यसको भूगोल खोज्नु महाभूल हो । अदृश्य देवताको भक्ति नगरौँ । दृश्य देवता जीवनको सहजयात्राको लागि आवश्यक छ भन्ने बुझौँ । धेरै टाउको नदुखाई बुझौँ, देवता भनेको दिनेवाला हो । जसले दिन्छ, त्यो देवता । सूर्य, पृथ्वी र ग्रह देवता हुन । नदीनाला, वनजंगल र रुख बिरुवा देवता हुन । यिनको भक्ति गर्नु हाम्रो आफ्नै अस्तित्व जोगाउनु हो ।

योग अर्को मार्ग छ । योगले विपरितहरुको संयोजन गर्छ । संसार र मन दुवैको बाटो हेर्न सिकाउँछ । जीवनको साँघुरो बाटो र साँघुरो सोचलाई फराकिलो बनाउदै लैजान्छ । ज्ञानको बाटो बेजोड छ । ज्ञान जीवनका बन्धन तोड्न आवश्यक चेतना हो । किताबी कुरा इन्फर्मेशन मात्र हो, ज्ञान होइन । ज्ञान आगो हो । जसरी आगोले काठलाई जलाएर खरानी बनाउँछ, त्यसरी नै ज्ञानले अहंकारको जडतालाई जलाएर जीवनलाई तरल बनाउँछ ।

बाटाहरु फरक देखिएपनि गन्तव्य एउटै हुदोरहेछ । हामीले आफ्नो रुचिअनुसारको कुची चलाउँन सक्छौ तर आफ्नो रुचि जान्न पर्यो र त्यो बाटोमा हिँड्न पयो । रुचि जान्नु बाटो जान्नु हो । एउटा सुन्दर ताओ कथा छोटकरीमा पढौँ ।

‘एक साधु जंगलमा बस्थे । उनले केहि बाँदरलाई घरपालुवा जनावरका रुपमा पालेका थिए । एकबिहान एउटा मान्छे साधुकहाँ आयो र भन्यो ‘तपाईका भनाइहरू प्रायः विरोधाभाषपूर्ण हुन्छन र त्यसले मलाई भ्रमित गर्छन् ।’ मिठो मुस्कानसहित साधुले आगन्तुकलाई भन्छन्, ‘केहिबेर प्रतीक्षा गर्नुहोस्, के हुन्छ हेर्नु होस् ।’ त्यसपछि उनले आफ्ना बाँदरहरूलाई छेउमा बोलाउँछन र भन्छन, ‘सुन, म तिमीहरुको मेनूमा केही परिवर्तन गर्छु ।’ बाँदरहरू अचम्मित देखिन्छन् । साधु भन्छन्, ‘अब देखि तिमीहरुले बिहान तीनरोटी र बेलुका चार रोटी पाउँनेछौ ।’ यो परिवर्तन सुनेर बाँदरहरू क्रोधको साथ जंगली व्यवहार देखाउन थाल्छन र प्रस्तावित परिवर्तनको विरूद्ध विद्रोह गर्ने धम्की दिन्छन् । तिनीहरू पुरानो प्रणाली जारी गर्नुपर्नेमा जोड दिन्छन् । यसको बाबजुद साधुले आफ्नो प्रस्तावमा आउनको लागि हदसम्म आग्रह गर्छन् । तर बाँदरले साधुलाई आक्रमण गरेर हानि पुर्याउन तयार हुन्छन । साधुले फेरि मन्द मुस्कानसहित बाँदरलाई भन्छन, ‘ल ठिकै छ, तिमीहरुले पहिलाको जस्तै बिहान चारवटा रोटी नै पाउनेछौ’ । यो सुनेर बाँदर शान्त हुन्छन । साधु आगन्तुकलाई हेर्दै भन्छन्, ‘तपाईले बुझ्नुभयो?’ जीवन तरल हुनु राम्रो, पानी जस्तै । रुपान्तरण समय, परिस्थिति र मनस्थितिले निर्धारण गर्दै लैजान्छ ।’

समयले जीवनलाई हिउँ जस्तो चिसो र कडा बनाउन सक्छ । प्रतिक्षाको परिक्षामा उतिर्ण हुनसक्नु पर्छ । समयले पगाली दिन्छ र बाफ बनाईदिन्छ । बाफ भई उडीजानु जीवनको बिसर्जन होइन, बादल बनेर नयाँ जीवन बर्सन्छ । बाटाहरु छन जीवनमा । बाटाहरु छैनन जीवनमा । जीवनका धेरै प्राथमिकता र इच्छाले बाटो छेकी दिन्छन ।

हामीले बाटो बिराउँछौ । बाटोमै हराउँछौ । यस्ता बाटा हुनु भनेको बाटा नहुनु हो । बाटाहरु खुल्दै जान्छन जब मान्छे थोरैमा बाँच्न सक्छ, थोरैमा रमाउन सक्छ र सिक्छ । बाटाहरु छन जीवनमा । बाटाहरु छैनन जीवनमा । बाटो हुनु सहज हुनु हो र बाटो नहुनु असहज हुनु हो ।

असहजताले बाटो खोल्न प्रेरित नै गर्छ । त्यसैले बाटो नहुनु पनि बाटो हुनु हो । बाटो पहिल्याउन सजिलो छ, बाटो पहिल्याउन गाह्रो छ । हाम्रो सीमितताले बाटो पहिल्याउन गाह्रो हुन्छ । हामीभित्रको असिमित सम्भाव्यताले बाटाहरु पहिल्याउन सजिलो छ ।

बाटाहरु छन् जीवनमा । बाटाहरु छैनन जीवनमा । ज्ञानीका बाटाहरु हुदैनन । उनीहरु मृग तृष्णा बोकेर हिँड्दैनन् । अस्तित्वको बाटोमा सतत हिँडीरहन्छन । मुर्खहरु बाटाको दुरी नाप्दानाप्दै त्यसैमा नापिन्छन । स्वतन्त्रताको बाटो पो बाटो, बन्धनको बाटो के बाटो ? बाटाहरु छन् जीवनमा । बाटाहरु छैनन जीवनमा । बाटो बुझ्नेहरुले यसमा जोड गर्दैनन् उनीहरु अस्विकार पनि गर्दैनन् । उनीहरुले बुझेकाछन बाटोलाई अस्विकार गर्नु भनेको जीवनको गहिराइमा नपुग्नु हो । बाटो छ भनी जोड गर्नु जीवनको ’शुन्यता’ गुमाउनु हो । ’शुन्यता’ गुमाउनु पूर्णता गुमाउनु हो । बाटाहरु छन जीवनमा । बाटाहरु छैनन जीवनमा । भ

रपर्दा बाटाहरू सुन्दर हुँदैनन, सुन्दर बाटाहरु भर पर्दा हुँदैनन । ज्ञानीले दुबैलाई महत्व दिदैनन् । अज्ञानीहरु सुन्दरता पछ्याउँछन् । बोक्रो भेट्छन् । बोक्रो भेट्नु मात्र जीवन होइन । बोक्रोमा बहकिँदा गुदी गुम्छ । गुदी गुमाउनु बाटो गुमाउनु हो । सुन्दरता बुझ्न कुरुपतापनि जान्नुपर्छ । बाटाहरु छन जीवनमा । बाटाहरु छैनन् जीवनमा । गोरेटो छ । घोडेटो छ । ग्राबेल बाटो छ । पिचबाटो छ । राजमार्ग छ । अहो ! बाटैबाटा छन् । गोरेटो गुम्नु बाटो गुम्नु हो । गोरेटोमा नै अल्झिनु राजमार्ग गुमाउनु हो । राजमार्गमा दौडनु मात्र पनि जीवनको बाटो गुमाउनु हो ।

बाटाका धेरै नाम उल्लेख गरियो । शब्दले व्याख्या गर्ने बाटाहरु बाटो होइन । अहिलेसम्म यात्रा गर्यौ । तर बाटो, शब्द भन्दा धेरै पर छ । शब्दले बाटोको चर्चा मात्र गर्छ । शब्दले बाटोको वर्णन मात्र गर्न सक्छ । शब्दले बाटोको व्याख्या र अपव्याख्या गर्छ । दुर्भाग्य ! शब्दले हामीलाई बाटोमा हिँडाउन सक्दैन । बाटो समाउन खोजे भेट्टाईदैन, पछ्याउन खोजे हराउँछ, सुम्सुमाउँन खोजे औँला थाक्छन् । समाउने, खोज्ने, र सुम्सुमाउने वस्तु होइन बाटो । बाटोमा हिँड्ने मात्र हो, बस निरन्तर हिँड्ने । ‘चरैवेति, चरैवेति’ उपनिषद भन्छ, “चरन्वैमधु विन्दति चरन्स्वादु मुदुम्बरम् । सूर्यस्य पश्यश्रेमाणं योन तन्द्रयते चरंश् चरैवेति ।’ आँखा चिम्म गरौँ, बिस्तारै लामो सास भित्र तानौँ । बिस्तारै आँखा खोलौँ, सासलाई यसकै गतिमा बाहिर छोडौँ । बिदा लिनै लाग्दा एउटा जेन सूक्ति बुझौः ‘मन पर्ने र मन नपर्ने, मनको रोग हो । बाटोको गहिराइ बुझ्नु, आरोग्य पाउनु हो ।’

अन्त्यमा, बाटो छ ? अति ज्ञानी नबनौ । बाटो छैन ? अति अज्ञानी नबनौ । अति सर्वत्र बर्जयते । बाटो छ र छैन ? मतलब नगरौँ । भए हिँडौ, नभए खोलौँ । तथागत ! बाटो देखाइदिने सबै महान आत्मालाई नमन ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्