प्रदेश-२ मा १ सय ४८ कैदीसहित २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम-प्रदेश-२ मा १ सय ४८ कैदी सहित थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ।आज २ सय ५१ जनामा कोरोना पुष्टि भएपछि १२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर,नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

मंगलबार सिरहामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।सिरहामा १ सय ४८ कैदीसहित १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै सप्तरीमा ४३, रौतहटमा २३, महोत्तरीमा ७, बारा र धनुषामा ४-४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।

त्यस्तै मंगलबार प्रदेशमा १ सय ८१ जना कोरोना मुक्त भएका छन्। ६ महिला र १ सय ७५ पुरुष निको भएसँगै निको हुनेको संख्या ६ हजार ५ सय ८३ पुगेको छ। पर्सामा १ सय ६९ जना, बारामा ८ र धनुषामा ४ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बारा जिल्लाको डुमरवाना नगरपालिका वडा नं. १४ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १२ जना पुगेको छ। ९३ पुरुष र १९ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्