अर्को निर्णय नभएसम्म अझै के के खुल्दैनन्?

गत वर्ष दसैंमा उपत्यका बाहिर जाने टिकट लिन नयाँ बसपार्कमा लागेको भीड।

काठमाडौँ – सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी साधान तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ।

त्यस्तै सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले होटल रेष्टुरेण्डलाई पनि स्वास्थ्य मापदण्ड पूरा गरेर बुधबारदेखि नै खुला गर्ने निर्णय गरेको छ।

तर सरकारले कोरोना महामारीको जोखिम कायमै रहेको जनाउँदै अझै केही निश्चित व्यवसाय र क्षेत्र भने अर्को निर्णय नभएसम्म खुला नगर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सरकारले धेरै मानिस जम्मा हुने र भीडभाड हुने क्षेत्रलाई भने तत्काल खुला नगर्ने भएको हो।

सरकारको प्रवक्ताका रुपमा भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले सिनेमा हल, विश्वविद्यालय, विद्यालय, तालिम केन्द्र अर्को निर्णय नभएसम्म खुला नहुने जानकारी दिए।

उनले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, जिम खाना, हेल्थ क्लब, समूहमा खेलिने खेलहरु, मेला प्रर्दशनी, चिडिया खाना, टिकट घर र गोष्ठी सेमिनार पनि अर्को निर्णय नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको जानकारी दिए।

लामो दूरीको यातायत खुल्यो, ५० प्रतिशत बढी भाडा लिन पाउने

सरकारले असोज १ गते (पर्सी)देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ। बुधबारदेखि लामो दूरीकाका सवारी साधान खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

लामो तथा सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनुपर्नेछ। ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउनेछन्। उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य सेनिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क पन्जा लगाउनुपर्ने छ। सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन्।

सीमा थप एक महिना बन्द
सरकारले सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म रोकलगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय ज्ञवालीले जानकारी दिए।

उनले सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामको पशुपतिनगर र दार्चुलाको एक गरी दुई नाका थपेर १२ वटा खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ।

पर्सीदेखि होटल रेस्टुरेण्ड खुल्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्। मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको छ।

अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो। प्रवक्ता प्रदीप ज्ञवालका अनुसार पर्सीदेखि होटल तथा टे«किङ व्यवसाय सूचारु हुने निर्णय गरेको हो। होटल तथा टे«किङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।

युवराज खतिवडा नियुक्त

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्त गरेको हो।

ओलीका प्रिय खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री ओलीले चाहे पनि पार्टीको दबाब कारण नसकेपछि उनलाई सल्लाहाकारमा नियुक्त गरेका हुन्।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय पनि सोमबारकै मन्त्रिपरिषद्ले गरेको थियो।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्