लकडाउनले चर्काएको घाउ

सरकारले नदेखेका मजदुर, परिवार बचाउन १३० किलोमिटर साइकलको यात्रा

रत्नराजमार्गमा साइकल डोहोर्याउँदै राजकुमार थारु र साथीहरु। तस्बीरहरु/ दीपा दाहाल

रत्नराजमार्ग–सुर्खेतको पूर्वी भेग रामघाट, दशरथपुरलगायत क्षेत्रमा रिर्पोटिङ गरेर भेरी गंगा नगरपालिका, छिन्चुबाट वीरेन्द्रनगरतर्फ मोडिदै गर्दा राती पौने दश बजेको हुँदो हो। जसरी हुन्छ चाँडो  गन्तव्य पुग्नु थियो। जगंलको बाटो त्यसमा पनि निष्पट्ट अध्याँरो। मोटरसाइकलको हेडलाइटले सोझ्याएको प्रकाशको भरमा यात्रा गर्नुपर्ने बाध्यता थियो मेरो।

घुमाउरो सडकमा बतासिँदै आएका ठूल्ठूला मालबाहक ट्रक र ट्रिपरहरु छेउमा जाँदा सात्तै गएको जस्तो हुन्थ्यो । त्यसमा उनीहरुले दिने प्रेसर हर्नको चर्को आवाज। डरले बेलाबेला सडक छेउमै टक्क उभिन पुग्थे म।

छिन्चु बजार सकिए लगत्तै जंगलबीचमा पुग्दा एउटा अनौठो दृश्य देखियो। करीब एउटै हुलियाका चारजना अधबैँसे  पुरुष।  साईसुई गर्दै साइकल हाँकिरहेका । पसिनाले निथ्रुक्क। आँखा अगाडि एकाएक परेको त्यो दृश्यलाई बेवास्ता गर्न सक्ने कुरै भएन।कौतुहलताका साथ उनीहरुलाई पछ्याउन थालेँ। आफू सवार मोटरसाइकलको प्रकाशले उनीहरुलाई केही राहत भएको ठानेँ।

प्रत्येकको साइकल पछाडि प्लास्टिकका थोत्रा झोला अड्काइएका थिए। थिचिएका रित्ता पानीका बोटल र टिफिनहरु झुण्डिएका। शुरुमै उनीहरुसँग कुरा गर्न धक लाग्यो। सोचेँ– हतारमा होलान, नजिकै पो हो कि गन्तव्य भनेर। तर उकालो र घुमाउरो काट्दा पनि उनीहरुको साइकलको पेडल चलिनै रह्यो। केही ठाउँमा बढी उकालो भएकाले डोराए पनि उनीहरुले।

उनीहरुलाई पछ्याउँदै गर्दाका आँखा सामुन्नेका दृश्यहरु मनै हल्लाउने खालका थिए। एक जनाको खुट्टामा पातलो प्लास्टिकको चप्पल थियो। त्यो पनि नाम मात्रको। खिइएर कुर्कुच्चातिरको भाग नै नभएको। अर्का एकजनाको तीन–चार ठाउँमा सिलाएको। अनि अर्का एकजना खुट्टा खच्याङ-खच्याङ गर्दै साइकल गुडाउँदै थिए । खुट्टाभरि फोका । बेलाबेला खुट्टा चहर्याएपछि ‘ऐया’ भन्दै सुस्केरा हाल्थे। र, अर्का साथीलाई केही बेर बिसाउन भन्थे। घरीघरी खुट्टा टक्टकाउँछन्। शरीर थरथर कापेको छ। शरीरमा कपडाका नाममा दुईजना जाँगे र पातलो कमिजमा बाँकी दुईजना पाइन्ट र टिर्सटमा छन्। थकाईले आलसतालस ।

साइकलको ह्यान्डल थेग्न पनि गाह्रो भइरहेको थियो उनीहरुलाई । भोक र प्यासले सबैको ओठ सुकेर कलेटि परेका । अनुहारमा धेरैदिनको भोकप्यास प्रष्टै देखिन्थ्यो । उकालो सकिएपछि उनीहरु साइकल छेउ लगाएर रुखमा अडेस लाग्छन्।

कुराकानीका लागि त्यही मौका छोप्छु ।  हेर्दै उराठलाग्दो यात्राको पोयो फुकाउन अघि सरे २८ वर्षीय राजकुमार थारु। बर्दिया बाँसगढी नगरपालिका २, राझबेतहनी बसाई। चारैजना  देसौरी थारु। मजदूरी गरेर जेनतेन आफ्नो र परिवारका लागि दुई छाक जोहो भइरहेको थियो ।

सरकारले कोरोना महामारी (कोभिड-१९) को रोकथामका लागि भन्दै विगत ६ महिनादेखि कुनै न कुनै रुपमा जारी राखेको लकडाउनका कारण रोजगारी गुमाएका थिए उनीहरुले।

राहतको पर्खाइमा कयौँ दिन बिते । देशका अन्य मजदूरको जस्तै भोकै बस्ने अवस्था आयो । धैर्य टुट्यो। छटपट्टी बढ्यो। आफू त आफू, परिवार नै भोकै मर्छ कि भन्ने चिन्ता हुन थाल्यो उनीहरुलाई।

सरकारले औपचारिक रुपमा सिमामा आउजाउ गर्न रोक लगाए पनि भारत जाने नाकामा गाउँले दाजुभाई लावालस्कर देख्दा त्यही भिडमा सामेल हुन मन नलागेको पनि होइन, उनीहरुलाई। तर एकपटक भारतीय भूमिमा पसिना बगाएर आएका उनीहरुले पुनः त्यो नियति दोहोर्याउन चाहेनन्। स्वाभिमानले रोक्यो उनीहरुकाे हृदयलाई ।

उनीहरुलाई सरकारले जिल्ला बाहिर जान निषेध गरेको छ भन्ने थाहा नभएको पनि होइन । तर, परिवारलाई भोकै राख्नुभन्दा सरकारको आदेशको उल्लघंन गर्नु नै उनीहरुले उचित ठाने । त्यही भएर मजदुरीका लागि कहिल्यै पाइला नटेकेको उत्तरतर्फ पहाडमा पर्ने सुर्खेतका लागि कठिन यात्रा तय गरेका थिए उनीहरुले।

गाडी पाइहाले पनि भाडा तिर्ने हैसियत थिएन । त्यही भएर उनीहरुले साइकलबाटै सुर्खेत पुग्ने अन्तिम विकल्प रोजेका  थिए । बर्दियादेखि  सुर्खेतसम्मको करीब १३० किलोमिटर यात्राका लागि आफूहरुसँग भएका थोत्रा साइल मर्मत गरे । त्यो पनि उधारोमा ।

र, परिवारसँग मजदुरी गरेर छिट्टै पैसा पठाउने बाचा गर्दै घाम झुल्किनु अघि नै घर छाडे ।बर्दियाबाट बाँकेको चिसापानीसम्मको यात्रा त खासै असहज थिएन। जसै रत्नराजमार्गले सुर्खेत प्रवेश गर्छ त्यसपछि शुरु हुन्छ उकाली-ओराली, खाल्डा-खुल्डी र घुमाउरो।

कतिपय ठाउँमा सडकमै पहिरोको थुप्रो। जसले गर्दा बाटै हिलाम्य । बिहानै पकाएर ल्याएको एक छाक चिसो दाल–भात र एक बोतल पानी बाहेक उनीहरुको पेटमा केही परेन। सडकको अवस्था र दूरीबारे अनविज्ञ उनीहरु एकअर्कालाई ढाडस दिँदै अघि बढिरहे । भदौरे घामले तातेको पीच सडकबाट उठेको तातो रापले रन्किएका उनीहरुका खुट्टालाई साँझ पर्दै गर्दा केही राहत मिल्दै गयो ।

तर गन्तव्य अझै टाढा थियो।

‘लामो लकडाउनले श्रीमती, दुई छोरा–छोरीको पेट पाल्न मुस्किल पर्यो। नजिकै काम खोजेँ। पाएन। पैसा थिएन। उधारोमा साइकल बलियो बनायौँ अनि कामका लागि सुर्खेत हिँडेको हो अहिले,’ राजकुमारले भने । उनले केही वर्ष भारतको सिमलामा स्याउ टिपेर बिताए छन् । त्यहीँबाट कमाएको पैसाले गाउँमा माटोले लिपेर एउटा काठको कटेरो बनाएछन्। त्यही कटेरोमा बर्षौदेखि ओत लाग्दै आएको थियो उनका परिवार।

त्यो कटेरो बाहेक राजकुमारको र उनको परिवारको नाममा अरु कुनै जायजेथा छैन। न त आम्दानीका लागि अन्य कुनै स्रोत। तर, पुरै परिवार पाल्ने कठोर दायित्व छ उनको काँधमाथि । त्यसमाथि श्रीमती बिरामी छन्। पैसा अभावले उपचार रोकिएको छ, रोग बढ्दै छ।

राजकुमारसँगै साथै लागेर हिँडेका १८ वर्षीय करण थारुको अनुहारमा त निराशाको बादल झनै प्रष्ट देखिन्थ्यो । भन्छन्, ‘आफू भोकै बस्न सकिएला तर परिवारलाई भोकै राख्न सकिन्न। आफैले काम गर्ने हो जहाँ गएर भए पनि। जति गाह्रो भए पनि।’

राजकुमार र करणको कुरा सुनिरहेका अर्का सहयात्री ३६ वर्षीय मायाराम थारु पनि आफ्नो व्यथा सुनाउन अघि  सरे । मायाराम भन्छन्, ‘श्रीमती, तीनवटा बच्चा छन्। उनीहरु काम गर्न सक्दैनन्। मैले जे गरेर भएपनि उनीहरुलाई पाल्नुु छ।’ लकडाउनअघिसम्म मायारामको परिवार निकै खुसी थियो । मजदुरी गरेरै भए पनि महिनामा कम्तिमा ३५ हजार आउँथ्यो । तर, लकडाउनले एकाएक त्यो आम्दानी सुक्यो ।उनी घरभित्रै थुनिए। सँगै उनीहरुको त्यो खुसी पनि खोसियो।

‘मेरो पीडा पनि उही हो। त्यही भएर सँगै कामका लागि हिडेँको,’ श्रीमती र एउटा बच्चाको पालनपोषणको जिम्मेवारी बोकेका २३ वर्षीय दिनेश थारु मन फुकाएर कुरा गर्ने अवस्थामा थिएनन् । त्यसमाथि रात पनि छिपिँदै थियो। घना जंगल भएकाले जंगली जनावरको डर त्यत्तिकै । ठाउँठाउँको प्रहरीको केरकार उनीहरुलाई थप गलाएको थियो ।

एकछिन सुस्ताई पछि उनीहरु फेरि आफ्नो गन्तव्यतर्फ लम्किए। तर, मैले उनीहरुलाई पछ्याउन छाडिन् । केही बेरमै आकाश गर्जियो र पानी पर्न थाल्यो । उनीहरुको एक सरो कपडा पनि निथ्रुक्क भिज्यो । तर, त्यस्तो अवस्थामा पनि राजकुमारले भन्दै थिए, ‘हामीलाई राज्यले चिन्दैन। हाम्रो व्यथा उसलाई थाहा छैन। थाहा पाउने कोसिस पनि गरेन। गरिब हुनु हाम्रा लागि श्राप रहेछ।’ त्यसमा मायाराम थप्थे, ‘हाम्रा लागि न नेता छन् न सरकार न प्रहरी प्रशासन। गरीबको बोल्दिने कोही छैन यो देशमा।’

यात्राका क्रममा अन्य दुई सहयात्रीले पनि राज्यप्रति त्यस्तै गुनासो र आक्रोश पोखिरहे ।  उनीहरुको आक्रोश र पीडा सुन्नु बाहेक मैले त्यतिबेला के गर्न सक्थे र ? जंगलको बाटो शान्त थियो तर, उनीहरुको मनभित्र उठिरहेको आक्रोश र पीडाको ज्वाला सहजै महसुस गर्न सकिन्थ्यो ।उनीहरुको बेदना र पीडा सुन्नेक्रम वीरेन्द्रनगर प्रवेश गर्ने नाका सुब्बाकुना आइपुग्दासम्म चलिरह्यो ।

आफ्नो ज्यान धान्न नसक्ने अवस्थामा पुगेका उनीहरुलाई  सुब्बाकुनामा प्रहरीले रोके ।  यात्रुलाई सोधपुछ गर्नु प्रहरीको जिम्मेवारी हो। तर उनीहरुको असभ्य र रुखो बोलीले राजकुमारको समूहलाई झन गलायो। जब उनीहरुले साइकल यात्रा गरेर आएको भन्ने सुनाए तब प्रहरी  अचम्भित भए । तर, आफ्नो ड्युटी भन्दै उनीहरुसँग पीसीआर रिपोर्ट मागि। नेपालको कानुन दैवले जानुन त्यसै भनिएको होइन ।

कर्णाली प्रदेश सरकारले अन्य प्रदेशबाट आउने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य नहुने निर्णय अघिल्लो साता नै गरिसकेको थियो । प्रहरी त्यसबारे बेखबर रहेछन् । त्यही भएर प्रहरीले रिपोर्टका लागि धेरै बेर केरकार गरेपछि मैले मुखै फोरेर भन्नुपर्यो –कर्णाली प्रदेश सरकारको पछिल्लो निर्णय सरहरुलाई थाहा छैन हो? त्यसपछि भने प्रहरी हच्किए । मजदुरहरुलाई छोडिदिए।

त्यसपछि पुनः शुरु भयो राजमार्गको यात्रा र उनीहरुको आक्रोश पोख्नेक्रम। र, वीरेन्दनगर बजार नपुगिन्जेल त्यो चलिनै रह्यो । राजकुमारका अनुसार मजदुरहरुलाई पेट पाल्नकै लागि अहिलेजस्तो समस्या पहिले कहिल्यै परेको थिएन। ‘सरकारले काम गर्ने ठाउँ र त्यहाँ जाने सहज वातावरण बनाए मात्रै पनि पर्याप्त हुन्थ्यो त्यति पनि गरेन,’ उनले भने ।

हुन पनि उनीहरुसँग बलियो पाखुरा, जाँगर र साहस  थियो । तर, त्यसलाई राज्यले चिनेन र बुझेन । राज्य त प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोही भोको पर्दैन, भोकले कोही मर्दैन’ भन्ने भाषणलाई प्रचारप्रसार गर्नै व्यस्त रह्यो ।

तर, भोक मार्न गरिने मजदुरहरुको यस्ता जोखिमपूर्ण यात्रा कहिलेसम्म त?

बिदाईका हात हल्लाउँदै गर्दा एकाएक करणले आक्रोश पोखे। आक्रोशको अन्तर्य थियो– सरकारले मजदुर लक्षित राहत घोषणा गर्न बिर्सियो।

हुन पनि यदि राज्यले सम्झिएको भए यी चार सहयात्रीको त के कुरा राजधानीकै मुटु मानिने रत्नपार्कमा खानाका लागि कोही किन घन्टौं लाइन बस्थ्यो ?

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू