विज्ञ भन्छन्, ‘भूकम्पले पहिरोको थप जोखिम बढायो, सतर्क रहौँ’

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ को भिरखर्कमा भदाै २८ गते बिहान गएकाे पहिराेका कारण क्षति भएकाे गाउँ । साे पहिराेमा १४ जनाकाे ज्यान गएकाे थियाे भने १७ जना अझै बेपत्ता छन् । तस्बिर : बजिरसिंह भण्डारीको फेसबुकबाट

काठमाडौँ – लगातार पानी परिरहेको बर्खाको समय र पहिरोको उच्च जोखिममा रहेको जिल्ला सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएकाले सचेत हुने पर्ने विज्ञले बताएका छन्।

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे क्षेत्र केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद लोकविजय अधिकारले जानकारी दिएका छन्।

भूकम्प र पहिरोको जोखिमबारे स्पष्ट पार्दै भूकम्पविद अधिकारीले भने, ‘सामान्य अवस्थामा ६ म्याग्निच्यूडको भूकम्पले ठूलो पहिरोको जोखिम त्यति हुँदैन । तर अहिलेको अवस्था भिन्न छ । सिन्धुपाल्चोक पहिरोको जोखिममा रहेको र लगातार पहिरो गइरहेको क्षेत्र हो । त्यसपछि बर्खाको समय भएकाले यहि बेला ६ म्याग्निच्यूडको भूकम्प जाँदा जोखिम बढेको छ।’

पहिरोका गतिविधि सक्रिय रहेको तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाले बुधबार बिहानको भूकम्पपछि थप सतर्कता अपनाउनु पर्ने भएको उनले बताए ।

२०७२ सालको वैशाखमा गएको भूकम्पपछि भएका अध्ययनहरुले सिन्धुपाल्चोकका पहाडहरुमा धाँजा फाटेको र विशेष गरी बर्खाको समयमा पहिरोको जोखिम उच्च हुने बताएका थिए।

अहिलेको मनसुनमा सिन्धुपाल्चोकमा लगातार जस्तो पहिरो गएका छन् । केही ठूला पहिरोले गाउँ नै बगाउँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

भौगर्भिक इन्जिनियरिङ्गका अध्येता तथा पहिरो विज्ञ डा. बसन्तराज अधिकारीका अनुसार बुधबार बिहानको भूकम्पले पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई थप चनाखो र सचेत हुनु पर्ने बनाएको छ।

पहिरो विज्ञ डा. अधिकारीले भने, ‘भूकम्पले हल्लाएको क्षेत्रको भौगर्भिक अवस्था स्थिर हुन समय लाग्छ। सिन्धुपाल्चोकसहितका क्षेत्रमा २०७२ सालको भूकम्पले हल्लाएका पहाडहरु अझै पनि पूर्णरुपमा स्थिर बनिसकेका थिएनन् । अहिले फेरि सोही क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाँदा अस्थिरता थपिएकाले जमेर बसेको माटो पनि पहिरोका रुपमा खस्ने हुन सक्छ। त्यसैले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दाले थप सावधानी अपनाउनु आवश्यक छ।’

बर्खाको समयमा पहिले नै जोखिम रहेका क्षेत्रको जमिन भूकम्पले हल्लाउँदा जोखिमको तह स्वतः उकालो लाग्ने भएकाले तत्कालका लागि सचेतना र सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको उनले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यो वर्षको मनसुन सुरु भए यता हालसम्म अर्थात गएको जेठ ३० गते यता सिन्धुपाल्चोकमा पहिरोका कारण ६९ जनाको ज्यान गएको छ भने ४० जना अझै बेपत्ता रहेका छन्।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्