कोरोना संक्रमित सप्तरीका एकजनाकाे धरानमा मृत्यु

विराटनगर – सप्तरीको खडक नगरपालिकाका कोरोना भाइरस संक्रमित एकजनाकाे उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार खडक नगरपालिका ३ का स्थानीय ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालबाट भदौ ३० गते प्रतिष्ठानमा भर्ना भएका बिरामीमा मृगौलाको समस्या रहेको थियो ।

प्रतिष्ठानका अनुसार बिरामीको गत एक वर्षदेखि सातामा दुईपटक डाइलाईसिस गरिँदै आइएको थियो । उनमा उच्च रक्तचापको समेत समस्या रहेको थियो ।

भदौ २८ मा राजविराजको अस्पतालमै कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहान १० बजेर ४६ मिनेटमा भर्ना गरिएको थियो ।

यससँगै प्रदेशमा हालसम्म ५१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमा प्रदेश १ बाहिरका २ महिला र ११ पुरुष गरि कुल १३ जनाको मृत्यु भएको छ ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्