सामाजिक सञ्जाल बहिष्कार अभियानमा सेलिब्रेटी–मुनाफाका लागि घृणा फैलाउन बन्द गरौँ!

हलिउडका सेलिब्रेटीहरुले घृणा तथा द्वेष फैलाउने खालका प्रोपोगाण्डा र गलत सूचनाहरु फैलिएको विरोधमा सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेको छन् ।

ओस्कार अवार्ड विजेता अभिनेता लियोनार्डो डिक्याप्रियोसहितका दर्जनौँ कलाकार तथा टेलिभिजनकर्मीहरुले प्रोपोगाण्डा र गलत सूचना विरोधी  #StopHateforProfit अभियानमा सामेल भएर सामाजिक सञ्जाल बहिष्कार गर्ने भएका हुन् ।

नागरिक अधिकारकर्मीहरुले सुरु गरेको अभियानमा कलाकारहरु पनि सहभागी हुने भएका हुन् । सेलिब्रेटीहरुले बुधबार २४ घण्टाका लागि आफ्ना सामाजिक सञ्जालहरु बन्द गर्ने छन् ।

सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियानमा सामेल हुनेहरुमा अभिनेता डिक्याप्रियोसहित साचा बारोन कोहेन, जेनिफर लरेन्स, गायिका केटी पेरी तथा टेलिभिजनकर्मी तथा मोडल किम कार्डासियन वेष्टसहित रहेका छन् ।

अभिनेता एश्टन कुट्चरले पनि सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियानमा सहभागी हुने जानकारी दिँदै यस्ता माध्यमहरु घृणा र हिंसा फैलाउनका लागि नरहेको बताएका छन् ।

गएको जुनमा घोषणा गरिएको  #StopHateforProfit अभियानका आयोजकले फेसबुक र इन्स्टाग्रामले घृणा फैलाउने खालका सामग्री तथा गलत सूचनाहरु नियन्त्रण गर्नका लागि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।

अभियान विशेष गरी फेसबुकमा केन्द्रित छ, जसको स्वामित्वमा इन्स्टाग्राम र ह्वाट्सएप पनि छ । गएको वर्ष यी सामाजिक सञ्जालले विज्ञापनदाता मार्फत झण्डै ७० अर्ब अमेरिकी डलर बराबरको आय गरेका थिए ।

अभियानमा हजारौँ व्यवसाय र नागरिक अधिकारको पक्षमा वकालत गर्ने प्रमुख समूह तथा संस्थाहरु सहभागी भएका छन् ।

फेसबुकले प्रजातन्त्रमाथि नै गम्भीर असर पार्ने खालका गलत सूचना र घृणायुक्त सामग्रीहरु नियन्त्रणका लागि काम नगरेकाले अभियान सुरु गर्नु परेको अभियन्ताले बताएका छन् ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू