भारतमा संक्रमितको संख्या ५० लाख भन्दा धेरै

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख भन्दा बढी पुगेको छ । पछिल्लो समय दैनिक ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५० लाख २० हजार पुगेको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा हालसम्म कोभिड–१९ का कारण ८२ हजार भन्दा बढीको ज्यान गएको छ ।

भारतमा संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको भए पनि धेरै संक्रमित भएका अरु देशको तुलनामा मृत्युदर कम छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमित हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको हो ।

महामारीको सुरुवाति चरणमा भारतमा अवस्था नियन्त्रणमै थियो, तर हाल आएर अवस्था अति खराब बनेको हो । पछिल्लो दिनमा अक्सिजनको माग ह्वात्तै बढेको छ ।

यो महिनाका हरेक दिन अस्पताल तथा केयर होमहरुले २७ सय टन अक्सिजन खपत गरिरहेका छन् । अप्रिलमा दैनिक अक्सिजन खपत ७५० टन थियो ।

अस्पताल तथा व्यवसायजन्य क्षेत्रबाट पनि माग बढेकाले अक्सिनको अभाव हुँदै गएको उत्पादकहरुले बताएका छन् ।

विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६६ लाख पाँच हजार भन्दा बढी पुगेको छ । त्यहाँ एक लाख ९६ हजार मानिसको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा कुल संक्रमितको संख्या ४३ लाख ८२ हजार भन्दा बढी पुगेकोमा एक लाख ३३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

विश्वमा संक्रमितको संख्या दुई करोड ९५ लाख ७१ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । अहिलेसम्म विश्वभर कोभिड–१९ का कारण ९ लाख ३४ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्