अन्तरपार्टी निर्देशन –५

भारतद्वारा अतिक्रमित नेपाली भू-भागमा आफ्नो हकभोग स्थापित गर्न नेकपा दृढ

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। तस्विर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ-आफ्नै अविश्वास र अन्तरविरोधले टुट्नै लागेको पार्टीलाई हाललाई जोगाउन सक्षम सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)ले भारतद्वारा नियन्त्रित नेपाली भूभागहरुमा नेपालको प्रशासनिक र राजनीतिक हकभोग स्थापित गर्ने अठोट लिएको छ।

स्थायी कमिटीको पछिल्लो बैठक सकिएलगत्तै नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन-५ जारी गर्दै नेपालको नक्सामा समेटिसकिएको भारतद्धारा नियन्त्रित नेपाली भूभागमा प्रशासनिक-राजनीतिक लगायत सबै प्रकारको हकभोग स्थापित गर्न दृढतापूर्वक अगाडि बढ्ने अठोट लिएका हुन्।

ओली र दाहालले यससम्बन्धमा सरकारले चाल्ने आगामी कदमहरुमा सिंगो पार्टी दृढताकासाथ खडा हुने विश्वास पनि व्यक्त गरेका छन्।  भारतसँगको सीमा समस्याका सम्बन्धमा सरकारले प्रभावकारी कूटनीतिक कौशलका साथ भारतसँग वार्ता गर्नुपर्ने विषयमा पनि उनीहरुले जोड दिएका छन्।

नेपाल सरकारले पटकपटक गरेको आग्रहलाई बेवास्ता गर्दै सन् १९६० को दशकदेखि सुरक्षा उपस्थिति कायम गर्दै काली(महाकाली) नदी पूर्वका नेपाली भूभागहरु लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अनाधिकृत नियन्त्रण गर्दै आएको भारतले ती भूभागहरुलाई सन् २०१९ को नोभेम्बर २ मा आफ्नो राजनीतिक नक्सा प्रकाशित गरेको थियो।

भारतको उक्त कदम सुगौली सन्धीको भावनाविपरित थियो। यस्तै गत मे ८ मा भारतले नेपाली भूभाग हुँदै लिपुलेक जोड्ने सडक नै उद्घाटन गरेपछि नेपालमा भारतप्रति आक्रोश चुलिएको थियो।

भारतको उक्त कदमले नेपालको सार्वभौमुत्ताको अवमूल्यन गरेको भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गर्नुका साथै गत जेठ ५ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक सीमासहितको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गरेको थियो।

यस्तै उक्त नक्सालाई नेपालको निशान छापमा समेट्न नेपालका संघीय संसदको दुबै सदनबाट संविधान (दोस्रो संशोधन)विधेयक सर्वसम्मतरुपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको अवस्था छ।

अन्तरपार्टी निर्देशनमा भनिएको छ,‘नेपाली जनता पञ्चशीलका सिद्धान्त, सार्वभौम समानता, आपसी सम्मान र लाभका मान्यतामा आधारित सुमधुर, समस्यारहित र विश्वासयुक्त नेपाल भारत सम्बन्धको पक्षमा छन्।’

नेकपाले पुनः भारतलाई ऐतिहासिक तथ्यहरुको सम्मान गर्न, सुगौली सन्धी अनुसार काली(महाकाली) पूर्वका सबै भूभाग नेपालका हुन् भन्ने यथार्थलाई स्वीकार गर्न नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्धारा समस्याको समाधानका लागि वार्तामा आउन आग्रह समेत गरेको छ।

दोहोरिएको आत्मालोचना


नेकपाको नेतृत्वले पटकपटक पार्टीलाई फुटको संघारमा लैजाने र आत्मालोचना गररे शान्त हुने प्रवृति देखिएको छ। अन्तरपार्टी निर्देशनले सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आआफ्ना गल्ती, कमजोरीहरुप्रति आत्मसमीक्षक र र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरु दोहोरिन नदिन पनि निर्देशन दिएको छ।
अन्तरपार्टी निर्देशनमा भनिएको छ,‘अतितमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतिलाई बेवास्ता गरेर होइन तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पुरा गर्दै मुलुकको उज्जवल भविष्य सुनिनिश्च गर्ने संकल्प गर्दछ।’

गुटबन्दी हटाउने प्रण


यस्तै पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, नीति, विधि र पद्धति स्थापना गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएका आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागू गर्ने निर्णय समेत गरेको छ।

यस्तै सबैलाई, विशेषतः जिम्मेवार नेताहरुलाई पारदर्शी जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जबाफदेही हुन निर्देशन दिएको छ।

यस्तै नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।
खासगरी पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिइएको हो । यस्ता संस्थाहरुबाट सबैभन्दा बढी गुटबन्दी मौलाउँदै आएको छ।

यस्तै हालले कायम कोरोना माहामारी नियन्त्रणका लागि सरकारको कामकारवाही चुस्त बनाउन आवश्यक रहेको पनि नेकपाको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

यस्तो छ नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन-५


भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्