श्राद्धमा भोजन खाएर फर्केका एक जनाको मृत्यु, १८ जना बिरामी

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा श्राद्धको भोज खाएर फर्केका एकजनाको मृत्यु भएको छ भने १८ जना गम्भीर बिरामी परेका छन्।

गाउँमा भएको श्राद्धमा भोजन गरेर फर्केका गोदावरी नगरपालिका–१० खमौराका १८ जना फुड प्वाइजनका कारण बिरामी परेका र बिरामी मध्य १ जनाको मृत्यु भएको गोदावरी–१० का वडाअध्यक्ष रवीन्द्र शाहीले बताए।

फुड प्वाइजनकै कारण बिरामी परेर उपचार गराइरहेका खमौराका सुरेश बोहराको मृत्यु भएको वडाअध्यक्ष शाहीले बताए।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

वडाअध्यक्ष शाहीका अनुसार भदौ २७ गते गाउँको एकघरमा श्राद्ध भोज खाएर फर्केका गाउँले सोही दिन राती देखि बिरामी परेका थिए ।

पखाला चल्ने र बान्ता हुने समस्या देखापरेका गाउँलेले सुरुमा स्थानीय स्तरमै उपचार गरे पनि स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि सेती प्रादेशिक अस्पताल लगायत सुविधा सम्पन्न निजी अस्पतालमा बिरामीको उपचार थालिएको हो ।

उनका अनुसार बिरामी मध्ये तीन जनाको धनगढी स्थित नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पताल, केहीको अत्तरिया स्थित पद्मा अस्पतालमा र केहीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले खानाका कारण बिरामीको मृत्यु भएपनि कारण पत्ता नलागेको बताए ।

‘खाना राखेको भाँडा, खाना राखेको स्थान, पाके नपाकेको जस्ता धेरै कुराले फुड प्वाइजन हुन सक्दछ’ वरिष्ठ फिजिसियन डाक्टर कमरले भने–‘यसका अलावा खाद्य वस्तुमा मिसावट हुँदा पनि स्वास्थ्यमा असर पर्न सक्दछ ।’

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्