फोटो फिचर

कुलमानको पक्षमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बुधबार दिउँसो माइतीघरमा प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरी तितरवितर पारेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले ठाउँ खाली गर्न केही मिनेटको समय दिएको थियो ।

तर प्रदर्शनकारीहरु नहटेपछि पानीको फोहोरा प्रहार गरिएको प्रहरीले दाबी गरेको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।

कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी त्यसको भोलिपल्ट औपचारिक रुपमा बिदाई भएका थिए । लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएका उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब आए पनि सरकारले त्यसो गरेको छैन ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्