भारतको राजस्थानमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, केही अझै बेपत्ता

उद्धारका लागि गएको डुङ्गा। तस्बिरः दैनिक भास्कर।

भारतमा राजस्थान राज्यको कोटा जिल्लाको इटावा क्षेत्रमा रहेको चम्बल नदीमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ। तीन जना अझै बेपत्ता छन्।

बुधबार बिहान करिब ९ बजे उक्त डुङ्गा पल्टिएको थियो। ज्यान गुमाउनेमा ६ पुरुष, चार महिला र एक बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२५ जना क्षमताको डुङ्गामा ४० जना रहेको बताइएको छ। त्यसबाहेक डुङ्गामा १४ वटा मोटरसाइकल समेत राखिएको थियो। डुङ्गा पल्टिएको स्थानमा नदीको गहिराइ ४० देखि ५० फिट रहेको बताइएको छ।

घटना लगत्तै स्थानीयले उद्धार गर्न खोजे पनि नदीको तीब्र बहावका कारण सबैको उद्धार गर्न नसकिएको बताइएको छ। डुंगामा सवार सबै कमलेश्वर धाम जान निस्किएका थिए।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्