प्याजको अभाव सिर्जना हुन नदिन चीन-भारतसँग कूटनीतिक प्रयास गर्ने मन्त्री भट्टको दाबी

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ता बनेर कालीमाटी बजार अनुगमन गरेका छन्। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धसँगै प्याजको मूल्य आकासिएपछि मन्त्री भट्ट स्वयमले बुधबार अनुगमन गरेका हुन्।

मन्त्री भट्टले कालिमाटी तरकारी बजार, खुद्रा तथा होलसेल पसलमा अनुगमन गरेको बताए।

उनले भने, ‘म पनि उपभोक्ता हो। प्याजको मूल्य बढेकोमा बजार अनुगमन गरियो। व्यापारीहरुले अभाव सिर्जना गर्न खोजेका हुन्। तर अभाव हुँदैन।’

यस्तै मन्त्री भट्टले छिट्टै प्याजको मूल्यमा नियन्त्रण आउने दाबी गरे। ‘प्याजको मूल्यमा नियन्त्रण नआउने प्रश्नै उठ्दैन’, उनले भने, ‘कालिमाटीका इन्चार्जसँग होलसेल तथा खुद्रा प्याज व्यापारीहरुको लिस्ट मगाएको छु। महंगो मूल्यमा प्याज बेच्नेलाई आवश्यक कारबाही हुन्छ।’

मन्त्री भट्टले नेपालमा प्याजको अभाव सिर्जना हुन नदिन भारत–चीनसँग कूटनीतिक पहल गर्ने बताए। हिन्दु नेपालीहरुको महान पर्व दसैँ–तिहार नजिकिँदै छ। यस समयमा प्याजको बढी खपत हुने भएकाले त्यसलाई मध्यनजर गर्दै आफूहरुले कसरी अगाडि बढ्न सकिन्छ भनी छलफल गरिरहेको मन्त्री भट्टले जानकारी दिए। ‘दसै–तिहारमा प्याज खपत धेरै नै हुन्छ’, उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै यस विषयमा सचिव लगायत अन्य वाणिज्य तथा आपूर्ति विभागका प्रमुखसँग छलफल गरेर रणनीति बनाउँछौ। त्यो रणनीति अनुसार नै काम अघि बढ्छ।’

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्