शेरधन राईलाई श्रीमान कायम गराउन सकिँन भन्दै बालिका खड्काले फिर्ता लिइन अंश मुद्दा

काठमाडौँ जिल्ला अदालत

काठमाडौँ – एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई श्रीमान भएकाले उसँग नाता सम्बन्ध कायम गरी अंश माग गर्दैै दायर गरेको मुद्दा बालिका खड्काले फिर्ता लिएकी छिन्।

आफूलाई राईले विवाह गर्ने प्रतिबद्धता गर्दै पटक पटक सम्बन्ध राखेको तर धोखा दिएको भन्दै खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी हुन्।

उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएका थिइन्।

खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन्। उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो।

 

उक्त निवेदनमाथि सुनुवाई गर्दै बिहीबार नै जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६(२) अनुसार मुद्दा फिर्ताका लागि अनुमति दिएका हुन्।

खड्काले मुद्दा फिर्ताका लागि दिएको निवेदनमा भनेकी छिन्, ‘फिराद पत्रमा उल्लिखित ब्यहोरा म आफू अरुको दुरुत्साहनमा परी बिपक्षी शेरधन राईकी श्रीमति भनी दाबी गरि अंश माग गरिएको हो।

निज शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान श्रीमतिको नाता कायम भएको वा हुन सक्ने म संग कुनै आधार प्रमाण नभएको र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि म आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुंदा उक्त मुद्वा फिर्ता लिनको लागि….निवेदन दिएको छु।’

निवेदनमाथि सुनुवाइ गर्दै इजलासले गरेको आदेशमा भनिएको छ, ‘बादी बालिका खड्का र प्रतिवादी शेयरधन राई भएको अंशचलन मुद्दामा, बादीले प्रतिवादी उपरको दाबी प्रमाणित गर्न नसक्ने हुंदा मुद्दा फिर्ता गरि पाँउ भनी ईजलाश समक्ष निबेदन दिएको र

सोही निवेदन बमोजिम यो मुद्दा फिर्ताको कागज तयार पारी यसको मतलब र परिणाम समेत बादीलाई सम्झांउदा बुझाउंदा समेत मुद्दा फिर्ता लिन मन्जुर भइ सहिछाप समेत गरिदिएकोले प्रस्तुत मुद्वा मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६(२) बमोजिम प्रस्तुत मुद्दा फिर्ता गरिदिएको छ।’

यसअघि खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको आरोप लगाएकी थिइन्।

यस्तो छ खड्काले दिएको निवेदन तथा अदालतको आदेश

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्