राष्ट्रपतिद्वारा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमले मनोनीत गरेकी छिन्।

सरकारी उच्चस्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा तत्कालै राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा मगंलबार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता गौतमको मनोनयनबारे समय आएपछि जानकारी भइहाल्छ नि भन्दै अस्पष्ट उत्तर दिएका थिए।

नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा नभएपनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयमा सरकार पुगेको यही भदौ १८ गतेको पार्टी सचिवालय बैठकमा सुनाएका थिए।

पेरिसडाँडामा केन्द्रीय सचिवालय बैठक


यसैबीच पार्टी अध्यक्षको कार्यकारी अधिकार प्राप्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा केन्द्रीय सचिवालयको बैठक शुक्रबार बिहान ११ बजे पार्टी मुख्यालय  पेरिसडाँडामा बोलाएका छन्।

पूर्वएमाले र माओवादीबीच एकता भएपछि पेरिसडाँडामा जनसंगठनहरूको कार्यालय र पार्टीको मुख्य कार्यालय धुम्बाराही नै बनाउने नेकपामा सहमति भएको पृष्ठभूमिमा दाहाल केन्द्रीय सचिवालय बैठक पेरिसडाँडामा बोलाउने निर्णयमा पुगेका हुन्।

पार्टी एकताका काम अझै बाँकी रहेको हुँदा पेरिसडाँडामा सुनसानै थियो। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका कारण प्राय बालुवाटारमा केन्द्रीय सचिवालय बैठक हुँदै आएको थियो।

ओली र दाहालले अन्तिम रुप दिएपछि भदौ २६ गतेको स्थायी कमिटी बैठकले पारित गरेको प्रतिवेदनमा ओली पूर्णरुपमा सरकारमा  र दाहाल पार्टीको काम कारवाहीमा केन्द्रित हुने सहमति जनाइएको थियो।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्