काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउन यता थन्किएका लामो दूरीका गाडीहरु बिहीबारदेखि चल्न थालेका छन् ।

सरकारले लामो दूरीका सवारी साधान पनि आवश्यक सावधानी अपनाएर अशोज १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेसँगै बिहीबारदेखि काठमाडौँबाट बाहिर जाने र देशका विभिन्न ठाउँबाट लामो गन्तव्यमा पुग्ने गाडीहरु चल्न थालेका हुन् । झण्डै ६ महिनापछि यातायात व्यवसायीहरुले गाडी चलाउन थालेका हुन् ।

बिहीबार विश्वकर्मा पूजा पनि परेकाले अधिकांश गाडी धनी तथा चालक, सहचालकले बिहानै विशेष पूजा गरी गाडी चलाउन थालेका हुन्।

यात्रु चढाउनु पूर्व नयाँ बसपार्कमा लामो दूरीका गाडीहरु निर्मलिकरण गरिएको थियो। गाडीलाई स्यानिटाइज गरेपछि मात्रै यात्रु चढाएर सेवा थालिएको व्यवसायीले बताएका छन् ।

लामो दूरीका गाडी चल्न थालेको पहिलो दिन भएकाले बिहीबार यात्रुको त्यति चाप थिएन । तर घर जानु पर्नेहरु बिहानै देखि बसपार्क पुगेका थिए । सरकारले आधा सिट भरिने गरी तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्थासहित गाडी सञ्चालनका लागि अनुमति दिएको हो ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बिहीबारदेखि सेवा थालेका लामो दूरीका गाडीको सावधानीसहितको तयारी तथा यात्रुहरुको चहलपहल केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।