८ सयभन्दा बढीलाई रोजगारी दिइरहेको ‘मासु बेच्ने’ भ्याली कोल्ड स्टोरको कथा

भ्याली कोल्ड स्टोर। तस्बिरहरु: रविन आचार्य

हरिकृष्ण रावलले परिवारको आर्थिक अवस्थाका कारण सानैमा पढाई छाड्नु पर्‍यो। छोरा बिग्रन्छ कि भन्ने उनका बाबुको चिन्ता थियो। त्यसैले हरिकृष्ण ११ वर्षको हुँदा उनलाई बुबाले काठमाडौं ल्याए। बुबा कार्पेन्टरको काम गर्थे। उनले छोरालाई त्यत्तिकै राखेनन्, काम सिकाउन थाले।

विस्तारै बुबाको भरपर्नु पर्ने अवस्था हट्दै गयो। ‘यो करिब ४० वर्ष अघिको कुरा हो’ उनले भने, ‘त्यस बखत खुकुरी रमका लागि दराज तथा ट्रेहरु बनाउने चलन थियो। मैले काम गर्दै जाँदा कार्पेन्टरको सम्पूर्ण काम सिके।’ पाँच वर्ष काम गरेपछि उनी पक्का कार्पेन्टर बनिसकेका थिए। आम्दानी पनि राम्रै हुँदै थियो। उनले काभ्रेस्थलीमा घर बनाए। उनमा नयाँ सोच आयो- कुखुरा पाल्ने। त्यो बेला गाउँमा कुखुरा पाल्ने चलन थिएन। २०३२ असारमा कृषि विकास बैंकबाट १५ हजार रुपैयाँ ऋण लिएर कुखुरा पालन व्याावसायिक रुपमा सुरु गरे। उनले  ४ सय लियर र ३ सय बोइलर कुखुरा हालेर फार्म सुरु गरे। उनी आफ्नो गाउँमा कुखुरा पालन गर्ने पहिलो किसान थिए।

विस्तारै उनको व्यापार उकालो लाग्दै गयो। आफन्त र छिमेकले उनको कामको निकै प्रशंसा गरे।  आम्दानी राम्रै देखेपछि उनीहरुले हरिकृष्णसँग कुखुरा किनेर आफै व्यवसाय सुरु गरे। तर त्यो बखत बजारको निकै अभाव थियो। अहिलेको जस्तो पर्याप्त बजार थिएन। धेरै मासुको माग पनि हुँदैन थियो।

‘बजारमा डिमाण्ड भएन भने बेच्न नि पाइदैन थियो’, उनले सम्झिए , ‘बिक्री नै नभएपछि कसरी पैसा कमाउनु त!’ बजार नै उनका लागि चुनौती थियो। यही कारण उनी केहीपटक यो व्यवसाय छाड्ने मनस्थितिमा पनि पुगेका थिए। तर लामो समयदेखि गर्दै आएको काम उनलाई छाड्न सजिलो थिएन। मनले पनि मान्नु पर्‍यो ! हरिकृष्णलाई लाग्यो- पेशा खराब होइन, हाम्रो संस्कार तथा परिपाटी मिलेको छैन।

हरिकृष्ण रावल।

उनले हिम्मत हारेनन्। नतिजा, सफलता हात लाग्यो।  केही वर्षमा उनलाई व्यवसाय विस्तार र ठूलो बनाउनुपर्छ भन्ने सोच आयो। यसकै परिणाम, जन्मियो भ्याली कोल्ड प्राइभेट लिमिटेड। सुरुमा उनीबाहेक अन्य दुई जनाको पनि लगानी थियो। ४ जना कर्मचारी राखेका थिए। भ्याली कोल्डस्टोरले काम गर्न थालेको ३९ वर्ष पुगेको छ। भ्यालीले दैनिक करिब १४ हजार ब्रोइलर कुखुराको मासु बिक्रि गर्छ।  देशका विभिन्न भागमा ६ वटा शाखा विस्तार भएका छन्। देशभरका कार्यालयमा करिब प्रत्यक्ष रुपमा ८ सय जनाले रोजगारी पाएका छन्। भ्यालीले  कुखुरा, चल्ला, माछा, दाना बिक्री गरिरहेको छ।

दाना आफै उत्पादन गर्नुपर्छ 

भ्याली कोल्ड स्टोर प्राइभेट लिमिटेडका सञ्चालक हरिकृष्ण पोल्ट्री व्यवसायमा नेपाल आत्मनिर्भर भए पनि दानामा भने आत्मनिर्भर हुन नसकेको बताउँछन्। उनले आत्मनिर्भर भएको व्यवसायका लागि दाना उत्पादनमा पनि सरकारले पहल गर्नुपर्ने बताए।

व्यवसायीहरुले पोल्ट्री तथा मत्स्य पालनका लागि बाहिरबाट दाना आयात गर्नुपर्ने अवस्था भएकाले दाना उत्पादनमा पनि आत्मनिर्भर बनाउन सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। भन्छन्, ‘नेपालमा ५० प्रतिशत दाना भारतबाट आयात हुन्छ। यदि सरकारले नेपालमा नै उत्पादन गर्ने वातावरण बनाइदियो भने नेपालको पैसा बाहिर जादैैन थियो।’

नेपाल अन्य व्यवसायभन्दा पोल्ट्री व्यवसायमा आत्मनिर्भर छ। तर कोरोना महामारीले अन्य व्यवसायजस्तै पोल्ट्री व्यवसायमा पनि प्रभाव पारेको उनले बताए।  ‘बन्दाबन्दीले उत्पादनलाई बजारसम्म पुर्‍याउनन निकै समस्या भयो’ उनले भने, ‘उत्पादन र बिक्रि वितरणमा समस्या आयो। बजारमा मासुको खपत ह्वात्तै घट्यो। माग नै नभएपछि कसरी मूल्य बढ्थ्यो!’

मूल्यमा ह्रास आएपछि किसानहरु मारमा परेको उनले बताए। सरकारले ल्याएको राहतले साना किसानलाई छुन नसकेको उनको भनाइ छ। बन्दाबन्दीले प्रभाव पारेको मासु व्यवसाय बजार खुलेसँगै ट्रयाकमा उनले विश्वास व्यक्त गरे।  नेपालीहरुको महान पर्व दसैँ–तिहार नजिकिदै छ। उनले चार्डपर्वमा मासु बढि खपत हुने भएपनि व्यवशायका लागि भने यो समय अफ सिजन भएको बताए। उनका अनुसार  दसैँभन्दा तिहारमा बोइलर मासु विक्रि बढी हुन्छ।

‘बोइलर कुखुरा तथा मासुको लागि दसै अफ सिजन हो। किनभने हिन्दुहरुले दसैँमा बलि हान्ने चलन छ। जसका कारणले दसैमा धेरै मासु बिक्रि हुदैन’ उनले भने, ‘तर तिहारमा राम्रो खपत हुन्छ।’

असोज १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्