दाङ–अब कति दिन यसरी काममा खटिनुपर्छ ? कुनै डेटलाइन थिएन । तर, लमही नगरपालिकाको स्वास्थ्य संयोजक लोकराज पौडेलले हिम्मत हारेनन् । जनप्रतिनिधि र अन्य स्वास्थ्यकर्मीको साथले काम हुँदै गयो । समय र परिस्थितिले पौडेललाई धेरै कुरा सिकायो । अनी जीवनमा कहिल्यै नभोगेको अनुभव पनि दिलायो ।

‘समाज भित्रको कुरुप तस्बिरलाई पनि यसैबेला नियाल्न पाइयो’उनले अनुभव सुनाउँदै भने–‘रोगसँग भन्दा पनि समाजसँग डराउनुपर्ने अवस्था आयो । संक्रमित नभएका व्यक्तिका बारेमा समेत हल्लाहरु फैलिँदा रहेछन् ।’ हल्लाहरु समयसँगै हराउँदा रहेछन् । समाजले स्वास्थ्यकर्मीलाई संक्रमित नहुँदा पनि संक्रमित सरह व्यवहार गरेको अनुभव पौडेलसँग छ ।

ल्याव टेक्निसियन सृजन पौडेललाई केही समय ज्वरो आयो । रुघा खोकी पनि लाग्यो । घरमा उनकी सानी छोरीलाई पनि यस्तै भयो । भित्र भित्रै मन तरङ्गीत हुँदै गयो । कतै कोरोनाले त भेटेन ?

छोरीको स्वाव आफै संकलन गरे । आफूले पनि कोरोना परीक्षणको लागि स्वाव दिए ।‘मेरो चाँही पाँचौं पटक हो । खै यसपाली के हुन्छ’स्वाव दिने बेलामा पौडेलले भनेका थिए । रिपोर्ट नेगेटिभ आयो । पछि ज्वरो पनि हट्यो, रुघा पनि लाग्न छोड्यो ।

दाङ जिल्लामा पहिलो कोरोना संक्रमित भेटिँदा त्रास जस्तै माहोल बन्यो । पौडेलको मोबाइलमा पहिलो एसएमएस आयो‘तपाईले स्वाव लिएको व्यक्तिमा कोरोना पोजेटिभ देखियो । तपाईँ पनि क्वारेन्टिनमा बस्नुहोला ।’

एसएमसले झस्कायो बनायो । अब के गर्ने ?

एक हप्ता सम्म छुट्टै बस्नुपर्ने भयो ।

छुट्टै कोठा पनि भेटिएन । दिनभरी जसो नगरपालिकामा अलग्गै बस्नुपर्‍यो । एउटा घर भाडामा लिएर स्वास्थ्यकर्मीलाई राख्ने प्रयास गरियो ।

घर भाडामा दिन कोही पनि तयार भएनन् । केही दिन होटलमा क्वारेन्टिन बस्नुपर्‍यो । त्यहाँ पनि सम्भव भएन । पछि इलाका प्रशासनको भवनमा स्वास्थ्यकर्मीलाई बस्नको लागि व्यवस्थापन गरियो । त्यसपछि केही सहज भयो । अहिले स्वाव संकलन गरेपछि एक हप्ता घरमै अलग्गै बस्ने गरेका छन् ।

पौडेललाई स्वास्थ्यकर्मीको जागिर नै छोड्न साथीभाइले एक प्रकारको दबाब जस्तै दिइरहेका थिए । तर, पौडेललाई उनको परिवारले साथ दिइरह्यो ।‘जीवन भन्दा ठूलो अरु केही छैन । कोरोना लाग्यो भने मरिन्छ । जागिर छाडेर भए पनि घरमै बस्नुपर्‍यो भन्ने जस्ता सल्लाह पनि आए’पौडेलले विगत सम्झिँदै भने–‘जागिर छोड्नु हुँदैन भन्ने परिवारको हौसलाले यहाँ सम्म ल्याइपुर्‍यायो ।’

लमही नगरपालिका भित्र ल्याव टेक्निसियनको रुपमा कार्यरत शंकर भण्डारी, सृजन पौडेल, हिमाल आचार्य, विवेक चौधरी लगायत अन्य स्वास्थ्यकर्मी युद्धस्तरमा काममा खट्नुप¥यो । त्यो रफ्तार अझै पनि छ ।

‘सुरुका दिनमा त अब बाँच्ने दिन थोरै छन् की भन्ने जस्तो लाग्थ्यो’शंकर भण्डारीले भने–‘काम हुँदै गयो । हरेक दिन बिहान हुँदै गयो । अहिले सम्म केही भएको छैन ।’ लमही नगर भित्रका ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जस मध्य ३७ जना निको भएर घर फर्किसकेका छन् । बाँकी एक जना आइसोलेशनमा छन् । यो अवधिमा १ हजार ६८ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ ।

नगरपालिकाले ओढायो दोसल्ला

लमही नगरपालिकाले दोस्रो विश्व बिरामी सुरक्षा दिवसमा कोरोना भाइरस संगको लडाईमा पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ। नगरपालिकाका प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेले दोसल्ला ओढाएर स्वस्थ्यर्मीको मनोबल उच्च बनाउन सम्मान गरेका हुन्।

ल्याव टेक्निसियन शंकर भण्डारी, सृजन पौडेल, हिमाल आचार्य, विवेक चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । ‘जोखिमका बावजुत पनि जनताको सेवामा खटनु भएको छ । यहाँहरुको कामको मुल्यांकन भएको छ’नगर प्रमुख केसीले भने–‘कोभिड–१९ को व्यवस्थापनमा यहाँहरुको योगदान अतुलनीय छ ।’ स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सम्मान गरिएको उपप्रमुख देवका बेल्वासेले बताइन्।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्