यातायात व्यवसायी भन्छन्: हिजोभन्दा आज सवारी बढे तर यात्रु ‘पर्ख र हेर’कै अवस्थामा छन्

फाइल तस्बिर।

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबारको तुलनामा शुक्रबार सवारी साधन सन्चालनको संख्या बढेको तर यात्रुहरु भने सोचेजति घरबाट बाहिर ननिस्किएको जनाएको छ।

महासंघका महासचिव सरोज सिटौलाले शुक्रबार ३० देखि ४० प्रतिशत सवारी साधन सन्चालनमा आएको बताए। ‘हिजोभन्दा आज सवारी साधन बढेका छन्। यात्रु पनि केही बढेका छन् तर अत्यावश्यक काम भएकामात्र बाहिर निस्किएका छन्। बाँकी अझै ‘पर्ख र हेर’मै छन्’, महासचिव सिटौलाले भने।

सरकारले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर बिहीबारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने निर्णय गरेको थियो। ६ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सन्चालनमा आएका हुन्।

महासचिव सिटौलाले चाडपर्वको समय आइरहेकाले काठमाडौं उपत्यका आउनेभन्दा पनि बाहिर जाने संख्या बढी हुने बताए।

‘महामारीको समय भएकाले अत्यावश्यक काम भएका बाहेकहरु यस्तो बेला काठमाडौँ उपत्यका आउन चाहँदैनन्। काठमाडौंबाट बाहिरिनेहरु पनि अब भोलिको अवस्था के हुन्छ भनेर कुरिरहेका छन्’, उनले भने।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्