जनकपुरमा दुइ सेट रेल आएपनि तत्काल सञ्चालनमा नआउने

नेपाली झण्डा अंकित रेल जयनगरबाट जनकपुर आइसकेपछि हेर्ने मानिसहरूको भीड। तस्बिरहरू-राजा झा/देश सञ्चार

जनकपुरधाम-लामो पर्खाइपछि नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपाल आएको छ। नेपालको कुर्था-जनकपुरधामदेखि भारतको जयनगरसम्म चल्ने रेल सेट नेपाल आइसकेको छ।

आज नेपालमा रेल आएपनि नेपालको इतिहासमा भने यो पहिलो रेल हैन्। यसभन्दा पहिले विक्रम सम्वत् १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो। तर नेरोगेजबाट ब्रोडगेजमा परिणत गर्न वि.सं. २०७१ साल माघ देखि रेल बन्द गरिएको थियो।

६ वर्षको लामो प्रतिक्षा पछि कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएपछि स्थानियहरुमा उत्साह बढेको छ। हजारौँको संख्यामा स्थानियहरु कोरोना भाइरसलाई वेवास्ता गर्दै रेल हेर्न आएका थिए।

बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल शुक्रवार दिउँसो २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ। यसभन्दा पहिले रेल बगीको दूबै सेट तथा ४ वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको थियो।

एक अर्बको लागतमा किनिएको तथा नेपालको झण्डाको रंगमा रंगिएको दूबै सेट रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल संचालनमा ल्याउने तयारी भई रहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।

कोरोना संक्रमणको त्रासका कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि सञ्चालनमा ल्याउनु घातक रहेकोले अहिले सञ्चालन गर्ने समयको यकिन समय भन्न नसकिने बताए। उनले भने ‘यात्रु तथा रेलको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएपछि मात्रै रेल्वे संचालनमा ल्याउने हाम्रो योजना छ।’

यदि कोरोना संक्रमणले बाधा व्यवधान गरेन भने डेढ महिना भित्रै सर्वसाधारण यात्रुका लागि रेल्वे संचालनमा ल्याउने योजना रहेको भट्टराईले बताए।

त्यस्तै दूबै सेट रेल जनकपुरधाम आई सकेपनि उदघाटनको अहिले कुनै कार्यक्रम नरहेको महानिर्देशक बलराम मिश्रले बताए। उनका अनुसार रेल सेटको सुरक्षाका लागि फेरी भारतको जयनगर स्टेशन नै फर्किनेछ।

दूबै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको महानिर्देशक मिश्रले बताए । नयाँ रेलमा १३०० सिट क्षमता रहेको छ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नयाँ रेल डिजेलबाट स्टार्ट हुनेछ । दूबै रेल सेटमा २÷२वटा इन्जिन लगाइएको छ । अगाडी पछाडी दूबै तर्फ इन्जिन लगाइएकोले ओहोर दोहोर गर्नका लागि इन्जिन फेर बदल गर्नुपर्ने झन्झट हुँदैन्।

करिब ६ वर्ष देखि बन्द रहेको रेल सञ्चालनको लागि आज आएको रेल हेर्न सर्वसाधारणको घुँइचो लागेको थियो । उनीहरु अब रेल सञ्चालनमा आएपछि आफुहरुलाई सुलभ हुने बताए। रेल हेर्न आएका जनकपुरधामकै ७८ वर्षिय हासिम नदाफले नेपाल रेल फेरी संचालनमा आउने भएपछि आफुहरु धेरै उत्साहित रहेको बताए।

‘आफ्नो जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखे, डिजल इन्जिनबला ट्रेन पनि देखे अब आधुनिक ट्रेन आउने भएपछि निक्कै उत्साहित छु।’ उनले भने।

स्थानीय प्रताप कुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुशी लाग्छ त्यस्तै खुशी लागि रहेको बताए । उनले रेल्वे संचालनमा आएपछि हामीलाई फेरी रोजगारीको श्रृजना हुनेमा आफू विश्वस्त रहेको बताए।

जनकपुर-जयनगर रेल्वेदेखि नेपाल रेल्वेसम्मको यात्रा

विक्रम सम्वत् १९९४ सालमा विवाह पञ्चमीमै तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो।

तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो।

जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए। शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो।

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो। २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय गर्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए।

२०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि हाल जनकपुर-जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा चिनिन्छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ।

जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो।जसमा ७५ प्रतिशत रेल्वे ‘स्लीपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्यूनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्