रविलाल विकको परिवारले पायो पक्की घर

दाङ– आँखाले धुम्म बादल लागेजस्तो देख्छ। नजिक पुगेपछि मात्रै मान्छे चिन्छन्। उमेरमा धेरै दुःख गरेका रविलाल विक शुक्रबार भने जीवनको पहिलो सुःख साट्दै थिए।

‘घरले च्यापरेर मरिन्छ कि भन्ने सोच्थेँ। तर आज पक्की घरमा बसाइ सरेँ’, रविलालले भने, ‘सानो छोरो नौ महिना हुँदा श्रीमती बितिन्। बाँचेको भए उनी पनि धेरै खुसी हुन्थिन् होला।’

ज्याला मजदूरी गरेर कमाएको पैसाले आधा पेट भरिन्थ्यो। चार भाइ छोराले ज्याला मजदूरी गरेर कमाउन थालेपछि रविलाललाई केही सुख भएको छ।

‘घर बास भएको जग्गाको पुर्जा छैन। धान छर्ने एक धुर खेत छैन’, उनले भने, ‘जसरी घर बन्यो। त्यसैगरी घरवासको पुर्जा पनि आउँछ कि?’

रविलालको परिवार गाउँभरीकै विपन्न दलित परिवारभित्र पर्छ। त्यही भएर उनलाई जनता आवास कार्यक्रममार्फत पक्की घर बनाएर हस्तान्तरण गरिएको छ।

लमही नगरपालिका वडा नं ९ अमिलिया निवासी रविलाल विकलाई प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पक्की घर हस्तान्तरण गरे। जनता आवास कार्यक्रममार्फत निर्माण सम्पन्न भएको पक्की घर विकलाई शुक्रबार हस्तान्तरण गरिएको छ।

जनता आवास कार्यक्रममार्फत गत आर्थिक वर्षमा छानिएका लाभग्राहीको घर निर्माण सम्पन्न हुन थालेका छन्। दाङ निर्वाचन क्षेत्र नं. १ (ख)मा ४४ ओटा घर निर्माण भइरहेका हुन्। एउटा घर बनाउन प्रदेश सरकारले तीन लाख ३६ हजार रुपैयाँ अनुदान दिँदै आएको छ। अति विपन्न दलित, मुस्लिम र धोवी समुदायका व्यक्तिको घर बनिरहेका छन्।

‘विपन्न दलित परिवारका सदस्यहरुले अहिले पनि विभिन्न वहानामा विभेद सहनु परेको छ। हामीले विभेदको अन्त्य गर्न चाहन्छौं। उहाँहरुको सम्मानको लागि हामीले आफै कार्यक्रम राखेका हौं’, प्रदेश सभा सदस्य शर्माले भने, ‘जनतामा खुसी र उत्साह छर्न चाहन्छौँ। त्यही अन्तर्गत यो एउटा कार्यक्रम हो।’

‘जसको कोही छैन। उसको सरकार छ भन्ने प्रमाणित गर्‍यौँ। गरिब, विपन्न दलित परिवारलाई सरकारले पक्की घर दिएर सम्मान गरेको छ’, उनले भने, ‘गोठमा बस्दै आउनुभएकाहरुलाई फुलमालाले स्वागत गरेर हामी आफैले गृह प्रवेश गराएका छौँ।’

कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले तीन तहकै सरकारले गरिब, विपन्नको सहज जीवनयापनका लागि योजनावद्ध ढंगले काम गरिरहेको बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य रतनकुमार केसी, वीरबहादुर केसी, लमही नगर इञ्चार्ज अम्मर कवर (नविन), सह–इञ्चार्ज नारायण डिसी छम्पाली, वडा कमिटीका अध्यक्ष खिमबहादुर केसी, नगर कमिटी सदस्य भानु जोशी लगायतका वक्ताहरुले सरकारले गरिब दुःखीको पक्षमा काम गरेको बताएका थिए।

दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा कमिटि सचिव मानसिंग ओलीले गरेका थिए।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्