नेपालगञ्ज कारागारका चार कैदीले माफी पाए

नेपालगञ्ज – नेपालगञ्ज कारागारका चार जना कैदीले माफी पाएका छन्। सरकारले संविधान दिवसको अवसरमा उनीहरुलाई माफी दिएको हो।

नेपालगञ्ज कारागारका जेलर देवेन्द्र श्रेष्ठले बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिंह कामी टमटाको कैद मिनाहा भएको जानकारी दिए।

क्षेत्री ज्यान मार्ने उद्योग र डाँका चोरी, थापा र बस्नेत ज्यान सवारी मुद्दा र टमटा कर्तब्य ज्यान मुद्दाका कैदी थिए।

चार जनाको कैद मिनाहा भए पनि पाँच जना जेष्ठ नागरिक भने निराश भएका छन्। कारागार प्रशासनले दोस्रो पटक नाम पठाएपनि पाँच जना जेष्ठ नागरिकको कैद मिनाहा भएन । जेष्ठ नागरिकहरु अधिकांश जबरजस्ती करणी मुद्दाका छन् ।

कारागार प्रशासनका अनुसार, अहिले कारागार ७ सय ८५ जना कैदी बन्दी रहेका छन् । बन्दीहरु दैनिक थपिने क्रम चलिरहेको छ । सीमावर्ती जिल्ला भएको र कारोबारीले लागु औषधीको केन्द्रको रुपमा नेपालगञ्जलाई मान्ने भएकाले यहाँ प्रहरीले दैनिकजसो नै कारोबारी समातेको पाइन्छ ।

प्रहरीले समात्नेहरु केही दिनमा कारागार पुग्छन् । नेपालगञ्ज कारागारमा लागु औषधीका बन्दी अधिक रहेका छन् । त्यसपछि कर्तब्य ज्यान मुद्दाका छन् । तीन सय क्षमताको कारागारमा झण्डै आठ सय बन्दी बसिरहेका छन् ।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्