डा. केसीसँग सार्थक संवाद गर्न नेपाली कांग्रेसको माग

विश्वप्रकाश शर्मा। फाइल फोटो।

काठमाडौँ – चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको नेपाली कांग्रेसले जनाएको छ।

०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि कांग्रेसले सरकार समक्ष माग गरेको छ।

‘कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपले अपील र आग्रह गर्दछ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको सरकारको नीति र कार्यक्रमको जगमा एकातर्फ दर्जनौँ मेडिकल कलेज देशमा स्थापित भएका र चिकित्सा शिक्षा क्षेत्रको विसंगति अन्त्य गरेर सुधारका लागि नेपाली कांग्रेसकै नेतृत्वको सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्च स्तरीय कार्यदल निर्माण गरेर प्राप्त सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाइएका पनि विज्ञप्तिमार्फत स्मरण गरिएको छ।

‘कांग्रेस नेतृत्वको पछिल्लो सरकारका पालामा आइपुग्दा डा. केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” सो वर्षको कार्तिक २४ मा जारी गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘तर वर्तमान सरकारले त्यसलाई विस्थापित गरे पश्चात् एकातर्फ चिकित्सा शिक्षामा सुधारको बिषयले सार्थक गति लिन सकेन, अर्कातर्फ डा. केसीको सत्याग्रह फेरि पनि जारी रह्यो ।’

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्