गीतको शब्दसँग मिल्यो खेम सेञ्चुरीको जीवन – ‘सोचे झैँ जीन्दगी रैनछ!’

खेम सेञ्चुरी।

आकाशबाट सिमसिम पानी परिरहेको थियो, ११ बजिसकेको भए पनि दिन चिसो थियो।

फोनमा लोक गायक खेम सेञ्चुरी केही सुरुप्प सुर्क्याउँदै गरेको सुनिए, बोल्दा अलि स्वाँ स्वाँ गरेजस्तो आभास हुने गरी। ‘म त हिजो भर्खरै ठीक भएँ।’

खुशी मिसिएको उनको आवाजमा शारीरिक कमजोरीको भान हुन्थ्यो।

अन्तर्वार्ताको लागि अनुरोध गर्दा उनले भने, ‘अब मलाई बोल्न पनि मिल्छ, हिँड्न पनि मिल्छ तर चिकित्सकले अझै केही समय बाहिर नजानु भन्नुभएको छ। त्यसैले कसैलाई नभेटी बसिरहेको छु।’

उनी कोराना भाइरसबाट संक्रमित भएर एक महिनामा बल्ल असोज १ गते निको भएका रहेछन्।

कसरी भयो संक्रमण?

उनलाई नै थाहा छैन, तीज नजिकिँदै गर्दा उनको गीत सार्वजनिक भयो, ‘सोच झैँ जिन्दगी रैनछ।’ सेञ्चुरी आफैले लेखेर गाएको यो गीतमा मधु क्षेत्रीले साथ दिएकी छन्। गीतको तयारी छायाँकन अनि अरु गीतको तयारी गर्ने भागदौडमा यति व्यस्त भए कि उनलाई को–को मान्छे भेटेँ भन्ने यकिन नै छैन।

‘एकैजनासँग पनि धेरैपल्ट भेट भयो। केही संस्थाका कार्यक्रमहरु थिए, अन्तर्वार्तामा पनि गएँ’, सेञ्चुरी भन्छन्, ‘कहाँबाट संक्रमण भयो, अनुमान नै गर्न सकिएन।’ त्यसपछि उनलाई बिसञ्चो भयो।

उनलाई चिसोको एलर्जी छ, बुटवलबाट काठमाडौँ फर्कनेबित्तिकै अरु बेलामा पनि नाक चिलाउने, रुघा लाग्ने हुन्थ्यो। तीजको गीत निकाल्ने, अन्तर्वार्ता लगायतको कामले उनलाई थकान महसुस भएको थियो। तीज सक्किएपछि उनले आराम गरे।

‘ज्यानले अलि आराम पायो जस्तो भएको थियो’, सेञ्चुरी भन्छन्, ‘आराम गरेपछि निको हुनुपर्ने तर मलाई रुघा गड्यो, झन् एलर्जी भयो।’

समस्या झन् बल्झिँदै गए, रुघाबाट अब उनको आँखाको नानी दुख्न थाल्यो, टाउको दुख्न थाल्यो, ज्यान गलेर आउने, मान्छेहरु बोल्दा झर्को लाग्ने हुँदा हुँदै ज्वरो आयो।

‘मलाई १०३ ज्वरो आयो, खोकी लाग्ने भइरहेको थियो, अनि खाना पनि रुच्न छोड्यो।’ तीज सक्किने बित्तिकै सेञ्चुरीको अनुभव यस्तो थियो। उनले दशकमा एक पल्ट ज्वरो आउँछ भन्ने ठाने तर अवस्था झन बिग्रियो। बोल्न गाह्रो भयो, उनी भकभकाउने भए। त्यसपछि उनी काठमाडौँ मेडिकल कलेजमा जँचाउन गए, सेप्टेम्बर १ मा उनको कोरोना परीक्षण भयो। नतिजा ‘पोजेटिभ’ आयो।

पोजेटिभ भएपछि…

‘कोरोना संक्रमित भन्ने थाहा पाइसकेपछि मेरो साथीहरु डराउनुभएछ। मेरो साथीभाइहरुले ग्राण्डी, मध्यपुर अस्पतालतिर अस्पतालको बेड बुझ्नु भएछ, तर चिकित्सकले सकेसम्म घरमा नै बस्नुहोस् भन्नुभयो र म घर नै बसे।’ अस्पतालमा ठाउँ नपाएपछि उनी होम आइसोलेशनमा नै बसे। ज्वरो आउँदा ज्वरोको औषधि खाए, खोकी लाग्दा खोकीको औषधि खाए। तातोपानी निरन्तर खाए र आफूलाई सकारात्मक राख्न प्रयास गरे।

कोरोना सामान्य रुघाखोकी हो राम्रो ख्याल गर्दा निको हुन्छ भन्ने बुझेका सेञ्चुरीलाई पहिलोपल्ट संक्रमित हुँदा कस्तो कस्तो लाग्यो। अरु बेलामा ज्वरो आएजस्तै अनुभव भए पनि अगाडि के हुन्छ भन्ने थाहा थिएन। सेञ्चुरीलाई बाबा आमाले चिन्ता लेलान् भन्ने डरले बेस्सरी सतायो।

आफू कमजोर भएको थाहा पाएपछि उनी आफूलाई ठीक पार्न हर प्रयास गरे। ढाडस दिने दाइहरु, साथीहरु थिए। यो बेलामा साथै बसेर स्याहार गर्ने साथी विनोद भण्डारी भए, केही परे काँध थाप्ने शम्भु कुँवर, चन्द्र शर्मा, प्रकाश भट्ट अनि पृथ्वी थकाली थिए।

सोचे झैँ जिन्दगी रैनछ

२०७६ सालको चैत ११ गते लागू हुने गरी पहिलोपल्ट लकडाउन सुरु भयो। लाखौँ नागरिक घर फर्किएजसरी खेम सेञ्चुरी पनि बुटवलको घर गए। वैशाखमा लकडाउन अलि खुकुलो भयो, उनी कर्मथलो काठमाडौँ फर्के। १२ वर्षको सांगीतिक करियरमा उनलाई यो पल्ट मानिस यस्तो अप्ठ्यारो परिस्थितिमा फसेको देखे, मान्छे नै मान्छेसँग टाढा बस्ने अवस्था आइलाग्यो। एकाएक मानिसको चालचलन फेरियो, परम्परा पनि फेरिए। महिनैपिच्छे आउने चाडपर्व, आत्मियता बढाउन गरिने भेटघाट घातक हुने अवस्था आइलाग्यो।

‘यस्तो बेला आउला भनेर त कसले सोचेको थियो होला त!’ सेञ्चुरी भन्छन्, ‘बेला नै राम्रो भएन। लाउँने खाने, रसरंग नै भएन। हामीमा रहर भए पनि काम गर्न पाइएन।’

भदौमा तीज आउँदै थियो, अवस्था फरक उनकै साथीभाइबीचमा पनि जमघट हुन कम थियो, सेञ्चुरीलाई गीतको विषयवस्तु फुर्‍यो, ‘सोचे झैँ जिन्दगी रैनछ।’

‘हामीले चाहेको सबै कुरा पूरा हुँदैनन्, हामीले चाहेर मात्र हुँदैन। कतिपय कुरा कति बेला भूकम्प आउँछ, नाकाबन्दी हुन्छ, कोरोनाले तर्साउँछ भन्ने कुरा सोचिएको हुँदैन’, सेञ्चुरी भन्छन्, ‘तर भोग्नुपर्छ।’

त्यसपछि उनले नेत्र अर्याललाई ‘कन्सेप्ट’ सुनाए, अनि गीतको शब्द संकलन भयो। ‘हामी यसरी डुलिरहेका थियौँ, यस्ता योजनामा थियौँ अचानक कोरोनाको त्रास आयो, सबैको काम, अनि जीवनको यात्रा लथालिङ्ग भयो, नसोचेको भइदियो’, सेञ्चुरी भन्छन्, ‘नेत्र जीले भनेजस्तै शब्द काेरीदिनु भयाे, मैले हार्मोनियममा टोन भरेँ।’

खेमले आफ्नो अवधारणा गायिका मधु क्षेत्रीलाई सुनाए, अनि सहकार्य भयो।

गीतको सफलता

गीतका शब्द जति सान्दर्भिक भए, गीतको भिडियो उति नै आकर्षक। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा भएको नाचले पनि धेरैलाई आकर्षण गर्‍यो। सामाजिक सञ्जालमा ‘सोचेझै जीन्दगी रैनछ’ भाइरल भयो। गीतलाई एक करोड १३ लाख भन्दा धेरैपल्ट हेरिएको छ।

‘बेला पनि यस्तै भयो, गरिरहेको काम रोकिएको भएर पनि मान्छेलाई छोएको हो कि’, सेञ्चुरी भन्छन्, ‘चाडवाड नजिकै आउँदा मान्छे खुलेर हिँड्न पाएनन्, नाच्न पाएनन्। त्यसैले पनि याद गरे होलान्।’

१२ वर्षे सांगीतिक करियरमा ६०० भन्दा धेरै सिर्जना भइसकेका छन्। उनलाई आफ्ना हरेक सिर्जनाले सन्तुष्टि दिएको छ। यो गीतले आफ्नो करियर अनि संगीतलाई अर्को उचाइमा लगेको हो कि भन्ने उनलाई लाग्छ।

सेञ्चुरी पहिला गीतमा संगीत भर्थे, अनि शब्द बिस्तारै उनी गीतमा स्वर दिन थालेका हुन्। एक वर्ष अगाडि उनले गाएको ‘कामी दाइको छोरो’ गीत गायन क्षेत्रमा टर्निङ्ग प्वाइन्ट बन्यो। त्यसपछि उनि बिस्तारै अगाडि बढ्दैछन्।

‘केही चल्छन्, केही कम चल्छन्’, खेम भन्छन्, ‘त्यो भन्दा पनि खेमजीले राम्रो गीत निकाल्नुभएछ भन्नुहुन्छ कि हुन्न भन्ने छाप रहला कि नाईँ भन्ने लाग्छ।’

गीत हिट भयो, अवस्था सामान्य भएको भए उनी अहिले स्टेज कार्यक्रममा व्यस्त हुन्थे। तर यो बेलामा कोठा थुनिएर बस्नु पर्‍यो। भन्छन्, ‘सोचे झै जिन्दगी रैनछ।’

१८ दिनको अवधिमा उनको सम्पूर्ण स्वास्थ्यको निगरानी र ख्याल साथी विनोद भण्डारीले गरे। त्यसैले खेम उनलाई ‘मेरो चिकित्सक’ भन्छन्।

कोरोनापछि

सेप्टेम्बर १७ तारिखमा जब उनको कोरोना रिपोर्ट नेगेटिभ आयो उनले फेसबुकमा लामो स्ट्याटस लेखे, ‘योबीचमा साथीभाइ चिन्न पाए। कोही साथीभाइ म बिरामी भएर बेडमा लडिरहँदा पनि उनीहरुलाई प्रतिशत र पैसाको पीर। कोही साथीभाइ आफ्नो ज्यान नै जोखिममा राखेर मलाई निको बनाउँछु भन्ने पीर यस्तै यस्तै…। आखिर सोच्यो भने जिन्दगी सबै छ सोचेन भने जिन्दगी केही पनि रहेनछ।’

उनले बिरामीको मनस्थितिको बारेमा पनि कुराकानी गरेका छन्, ‘अन्ततः म बिरामी भएको लगभग एक महिनापछि पूरै निको भएको कुरा हजुरहरुमाझ राख्न चाहन्छु। हामीहरु त्यसै डर त्रासमा रहेछौँ। नभोग्दा न बुज्दासम्म मरिहालिन्छ कि जस्तो लाग्ने मन मात्रै आत्तिनी। बाबा आमाले थाहा पाएसी के हुने हो भन्ने डर, समाजले के भन्छ भन्ने डर, साथीभाइले के सोच्लान् भन्ने डर। यस्तै यावत कुराहरुले मानसपटललाई घोचिँरहदो रहेछ। एक्लोपनको महशुस भइरहँदो रहेछ रोगले भन्दा पनि यो रोगको पीरले मानिसलाई निक्कै तनावग्रस्त बनाउँदो रहेछ।’

कोरोना जाँच गर्नु अगाडिको १० दिन र त्यसपछिको १७ दिनले उनलाई धेरै गलाएको छ। साथीको माया र अग्रजको साथले मनमा भने उत्साह जगाएको छ। आइसोलेशनमा बस्दा बस्दै केही सिर्जना गर्न पनि भ्याए। हरखबतको साथी हार्मोनियमले उनलाई अझै सहयोग गरिदियो। बसेको बोली खुलेको छ।

धेरै काम गर्न बाँकी छ, योजनाहरु छन्। अहिलेको अवस्थामा कोरोना नफर्कियोस् भन्नु नै उनको लागि सबैभन्दा ठूलो चुनौती हो। ज्यान अझै थाकेको जस्तो महसुस हुन्छ। त्यसैले ज्यानलाई धेरै ख्याल गरिरहेका छन्। ठीक भएपछि काम फेरि सुरु हुन्छ।

‘टाढाबाट ख्याल पायो भने यो रोगी निको हुन्छ’, तातो पानीको सुर्को लिँदै उनी भन्छन्, ‘रोग लाग्ने बित्तिकै आत्तिहाल्नु हुँदैन। चिसोबाट बच्नुहोस्, मनोबल उच्च राख्नुहोस्।’

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्