हुम्लाको चुवाखोला क्षेत्रमा रमाइलो यात्रा

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाको वडा नम्बर १ मा पर्ने चुवा खोला क्षेत्र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढेको छ। भौतिक पूर्वाधारको विकास र त्यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न सके पर्यटकहरुलाई आकर्षण गर्न सकिने धेरै आधारहरु रहेका छन् ।

चुवा खोला नाम सुनेको र त्यताबाट बस्तु विनिमय गरी ल्याएका सामानहरु उपभोग गरेको भएपनि त्यता पुग्न पाएको थिइनँ। तर जाने मन भने धेरै थियो। संजोग मिल्यो र यसपालि सो क्षेत्र घुम्न पाइयो।

पहिलो दिन सदरमुकाम सिमकोटबाट दोजाम गाउँ गएर बसियो। पछिल्लो बिहान सबेरै उठेर अगाडि बढ्यौँ। चार जना साथीहरु मिलेर चुवा खोला क्षेत्रको यात्रा तय गरेका थियौँ। दोजाम गाउँबाट अगाडी बढेको आधा घण्टामा पिप्ल्याडी क्षेत्रमा पुगेका थियौँ, दोजाम कर्णालीको छेउमा बाटो थियो। नदीले पानीका फोका छोडेको र छाल हानेको दृश्य बिहानै अवलोकन गर्ने अवसर जुर्‍यो।

त्यसपछि पनि यात्रा अगाडि बढ्यो। केही छिनमा तल्लो साँघु क्षेत्रमा पुगियो। काठे पुलको जोखिमपूर्ण यात्रा गरेर अगाडि बढ्यौँ। यात्रा जारी थियो। कतै नदी किनारको हिँडाइ, केही उकालो क्षेत्र ग्याल्दोरा क्षेत्रको उकालो पनि काटियो।

कतै जंगलको बाटो, खाली खर्कहरु, कतै खोला, कतै विभिन्न रंगका फूल फुलेका मैदान। यसबीचमा बिहानको एघार बज्यो। पेट कराउन थाल्यो भोकले। यात्राका लागि बीचमा कतै बास पाइँदैन भनेर भाँडा पनि बोकेका थियौँ। छिर्ने दुलामा नदीको किनारामा बसेर आगो बाल्ने काम भयो।

हामीसँग बिहानै यात्राका सहयात्री नरेन्द्र लामाको घरबाट पकाएर ल्याएको भात र चाउचाउ उमालेर खायाैँ। भोकले होला खाना पनि मिठो भयो। हामीसँगै दोजामकै अर्को पाँच जनाको परिवार पनि खर्क सार्नका लागि आएको थियो। उनीहरुले पनि त्यतै खाना खाए। खाना खाएको केहीबेरपछि अगाडि बढ्यौँ।

हिँड्दा हिँड्दा तिघ्रा दुखेको अनभव हुन थालको थाल्यो। तर पनि अगाडि बढ्नै पर्ने थियो। घोडामैया, निलीकाँध पनि काटेर केही असजिलो बाटो हिँड्नु परेपनि दाँयाबाँयाका नयाँ, रमाइला दृश्यले गर्दा बाटो काटेको थाहै पनि भएन।

त्यसपछि कालापानी आयो। अग्ला पाटनहरु देखिन थाले। केही समय त्यहीँ बस्यौँ।

अघिल्लो दिन रत्न बोहराको घरबाट लगिएका स्याउ खायाैँ। गाउँबाटै लिएका काक्रो पनि खायौँ। त्यसपछि यात्रा फेरि अगाडि बढ्यो। नदीमाथि असजिलो गरी कोठे पुल बनाएको ठाडो साँघुमा पुगेर क्यामेरा झिक्यौँ, फोटो खिच्न। असजिलो पुलमा खर्काला र पशु तार्ने गरिँदो रहेछ। निक्कै जोखिम भने छ अनि गहिरी ओढार हुँदै लामो सिम आयो। सो क्षेत्रमा आएपछि मैले केही समय घोडा चढ्ने आँट गरेँ।

अरुबेला मैले घोडा चढिनँ। केही डर पनि लाग्छ मलाई घोडा चढ्न। अब त बुकी घाँस हुने पाटन मात्र देखिन थाले। यात्रा झनै रमाइलो लाग्न थाल्यो। बेलुका लडे खोला पुगेर बास बस्नु पर्ने थियो। उतै गयाैँ।

यात्राको क्रममा पहिलो खर्क पनि देख्यौँ। बेलुका भएर होला भेडा बाख्रा, चौरी, जुमा आइसकेका रहेछन्। गोठालाहरु दुध दुहुन थाले। त्यो रात त्यतै खर्कालासँग बस्यौँ। थकानले पनि होला निद्रा भने मिठो लाग्यो।

यात्रा गर्न बाँकी नै थियो। बिहान सबेरै उठेर हिँडिहाल्यौँ। खोला तर्नु थियो। लामाले आफूसँग मलाई घोडाको पछाडि चढ्न आग्रह गरे मैले पनि नाइँ भन्न सकिनँ र चढेँ। पहिलो पटक यसरी घोडामा चढेर खोला तरेको थिएँ। पानीमा हेर्दा खोला घुम्ने रहेछ। अनि मैले आँखा चिम्म गरेँ। केही समयपछि आँखा खोल्दा खोलापारी पुगिएको रहेछ।

केही समयपछि गुरुङगाड पुग्यौँ। त्यो रात त्यही बस्यौँ। बिहानको खाना पनि त्यहीँ खायौँ। हिमालको पानी निक्कै चिसो थियो। त्यति नै बेला खर्कालाले झोपालाई नदी पारी चराउन पठाउनु पर्ने रहेछ। सिधै नदीमा हाम फाल्न लगाए। केही बगे। मलाई त डर पनि लाग्यो। पहिलो पटक देखेको थिएँ। केही बेर बगेपछि ती पशु  नदी पारी पुगे।  नदीमाथि आउजाउ गर्ने पुल नहुँदा यसरी नै नदीमा हाम फाल्न लगाउने गरिँदो रहेछ।

खानापछि अगाडि घुम्न जाने निधो भयो। लाचार्म, सुम्न जहाँ नदीले नै ताल बनाएको ठाउँ रहेछ। सो क्षेत्रसम्म चिनियाँ चौरी गाई चर्न आउने रहेछन्। तर यसपाली कोरोनाले गर्दा चिनियाँ गोठालाले चौरी नेपाली वनमा ल्याएका रहेनछन्।

तालको किनारमा निक्कै बेर रमायौँ। साथीहरुले फोटो खिच्ने काम पनि गर्नु भयो। त्यसभन्दा अगाडि खर्क थिएनन्। हामी यहीँबाट फर्कनु पर्ने थियो। हामी फर्कियौँ।

सो क्षेत्रमा चीनसँगको सिमाना टाँके पर्छ। तर कोरोनाको कारण यसपाली खुलेको रहेनछ। त्यो नाका खुलेको भए मानिसहरु व्यापार व्यवसायका लागि आउने भएको कारण चहलपहल बढी हुने गरेपनि यस वर्ष खर्काला र पशु बाहेक अन्य कोही पनि भेटिएनन्।

वास्तवमै चुवा खोला क्षेत्रलाई प्रचार–प्रसार गर्न सके पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रशस्त आधार छन्। अग्ला पाटन, बुकी, जंगली जनावर, नदी, ताल, वन चौरी,भेडाबाख्राको पालन र चाङ्ला हिमालले गर्दा यस क्षेत्रको महत्व झनै बढी छ।

फर्केपछि बेलुका खर्क खर्कमा गएर खर्कालासँग कुराकानी गर्‍याैँ। त्यो रातको बास पनि खर्कालासँगै भयो। भोलिपल्ट बिहानै हामी पाँच बजे निस्कियौँ।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्