टोटनह्याम फर्किएका बेलले भने–आशा गरौँ अब मैले खेल्न पाउने छु

टोटनह्यामले आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई पुनः क्लबमा भित्र्याएको छ । स्पेनिस क्लब रियल मड्रिडबाट टोटनह्यामले बेललाई ऋणमा क्लब ल्याएको हो ।
रियल मड्रिडबाट बेल एक सिजनका लागि लोनमा पुरानो क्लब आएका हुन् । ३१ वर्षका बेल सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्यमा टोटनह्यामबाट रियल मड्रिड गएका थिए ।
उनले रियल मड्रिडका लागि सात वर्षको अवधिमा १०० भन्दा बढी गोल गरे भने चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जिते । बेलले भनेका छन्, ‘फर्किन पाउँदा खुशी लागेको छ । यो मेरा लागि विशेष क्लब हो । यहिँबाट मैले मेरो नाम बनाएको थिएँ ।’
उनले अघि लेखेका छन्, ‘आशा छ, अब मैले केही म्याच फिटनेश पाउने छु, लयमा फर्किने छु, क्लबलाई सहयोग गर्न पाउनु छु र आशा गरौँ उपाधि पनि जित्न पाउने छौँ ।’
सन् २००७ मा १७ वर्षको हुँदा साउथह्याम्पटनबाट पहिलोपटक टोटनह्याममा अनुबन्धित भएका बेलले पछिल्लो केही समयदेखि रियल मड्रिडमा अवसर पाएका थिएनन् ।