रुथ बाडर गिन्सबर्गको स्थानमा सक्दो चाँडो नयाँ न्यायाधीश नियुक्त गर्ने पक्षमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि ढिला नगरी सर्वोच्च अदालतको नयाँ न्यायाधीशले शपथ लिउन् भन्ने चाहना रहेको बताएका छन् ।

सर्वोच्च अदालतकी वरिष्ठ लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको आइतबार बिहान ८७ वर्षको उमेरमा निधन भएपछि अमेरिकामा नयाँ न्यायाधीशको विषय राजनीतिक चर्चाको केन्द्रमा आएको छ ।

सो विषय आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावको प्रमुख मुद्दा बन्ने संकेत पनि देखिइसकेको छ।

बाडरको निधनपछि औपचारिक रुपमा प्रतिक्रिया दिँदै डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले चुनेका न्यायाधीशलाई सिनेट मार्फत स्वीकृति प्रदान गर्ने प्रक्रियाको पक्षमा रहेको स्पष्ट पारे ।

उनले चार वर्षअघि चुनावको १० महिना अघि न्यायाधीश पद खाली हुँदा रिपब्लिकन पार्टी जुन अडान लिएको थियो अहिले उ त्यसबाट पछि हट्न नमिल्ने बाइडेनले बताएका छन् । तर ट्रम्पले भने कुनै पनि ढिलाई नगरी नयाँ न्यायाधीश नियुक्त गर्ने बताएका छन् ।

ट्रम्पले गिन्सबर्गको स्थान लिने नयाँ न्यायाधीशमा महिलालाई स्थान दिने र आउँदो हप्ता आफूले नाम प्रस्ताव गर्ने बताएका छन् ।

सर्वोच्चका ९ न्यायाधीश मध्ये पाँचजना कन्जरभेटिभ र चारजना लिबरल थिए । तर गिन्सबर्गको निधनसँगै लिबरल न्यायाधीशको संख्या कम भएको छ । राष्ट्रपति निर्वाचनको ६ हप्ता अघि न्यायाधीशको निधन हुँदा राजनीतिक खिचातानीको विषय नयाँ न्यायाधीश नियुक्ति बन्ने भएको हो ।

अमेरिकी कानूनमा ९ सदस्यीय सर्वोच्चको न्यायाधीश टोलीमा वैचारिक सन्तुलन सबैभन्दा महत्वपूर्ण विषय हो । तर ट्रम्पले तीव्र गतिमा नयाँ कन्जरभेटिभ न्यायाधीश नियुक्त गरेमा सो सन्तुलन गुम्ने छ ।

सामान्य अवस्थामा अति तीव्र गतिमा नयाँ न्यायाधीश नियुक्ति प्रक्रिया गरे पनि ७० दिन लाग्ने गरेको विगतको इतिहास रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा रिपब्लिकनले डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामालाई सर्वोच्चमा रिक्त न्यायाधीश नियुक्त गर्नबाट रोकेका थिए । त्यो बेला सिनेटका मेजोरिटी लिडर मिच म्याकनलले चुनावी वर्ष भएकाले चुनावपछि नै नयाँ न्यायाधीश नियुक्त गर्नु पर्ने भनि आफ्नो पक्षको दलिल पेश गरेका थिए ।

तर शनिबार बिहानै गिन्सबर्गको निधन भए लगत्तै उनले ट्रम्पले प्रस्ताव गर्ने कुनै पनि व्यक्तिलाई न्यायाधीश बनाउनका लागि तत्काल प्रक्रिया अघि बढाउने बताएका छन् ।

चार वर्षअघि फेब्रुअरीमै खाली भएको न्यायाधीश पदपूर्तिका लागि चुनावको वर्ष भन्दै रोकका मिचले यो वर्ष चुनावको मुखैमा आएर खाली भएको पदमा भने तत्काल पूर्ति गर्ने बताएका हुन् ।

अमेरिकी संविधान अनुसार राष्ट्रपतिले प्रस्तावित गरेका व्यक्तिका सम्बन्धमा सिनेटमा मतदान हुन्छ । सिनेटले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ न्यायाधीश नियुक्त गर्छन् ।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्