नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।

आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण भएसँगै सो क्षेत्रका जग्गाहरुको मूल्य ह्वातै बढेको हो। वीरगञ्ज–२१ परवानीपुरदेखि महानगरको ग्रामीण क्षेत्र हुँदै करिब १० किलोमिटर चार लेनको नयाँ बाटो निर्माण भएको हो। उक्त बाटोमा अहिले कालोपत्रे गर्ने कार्य चलिरहेको छ।

पहिले गाबिस रहेको तथा हाल महानगरमा गाभिएको वडा नम्बर २८ बगही, वडा नम्बर ३० लालपर्सा, वडा नम्बर २० हरपतगञ्ज, वडा नम्बर २२ जगरनाथपुर टोलमा जग्गाहरुको मूल्य बढेको हो। यी वडाहरुमा केही वर्ष पहिलेसम्म प्रतिकठ्ठा ३० हजार रुपैयाँ रहेको खेतीयोग्य जग्गाको मूल्य अहिले प्रतिकठ्ठा ३० लाख रुपैयाँसम्म पुगेको छ।

महानगपालिकाले पनि अहिले नयाँ बाटोसँगै जोडिएको जग्गाको मूल्याङ्कन प्रतिकठ्ठा ३० लाख रुपैयाँ तोकेको छ। आईसिपीमा आउने ट्रकहरुको लागि बनेको बाटोमा पर्ने जग्गाको मूल्य बढेसँगै उक्त क्षेत्रका स्थानीयहरु पनि लाभान्वित भएका छन्। केही वर्ष पहिलेसम्म ३० हजारमा किनबेच हुँदै आएको जग्गा अहिले आईसिपीसम्म पुग्ने बाटोसँगै परेपछि ३० लाखमा किनबेच भइरहेको वडा नम्बर २८ बगहीका भगवान कुर्मीले बताए।

उनले बाटो निर्माण भएसँगै बाटो वरिपरि पर्ने जग्गाधनीहरु अहिले करोडपति भएको सुनाए। ‘केही वर्ष पहिलेसम्म त यहाँ मुस्किलले ३० हजारमा प्रतिकठ्ठा जग्गा किनबेच हुन्थ्यो’, कुर्मीले भने, ‘अहिले आईसिपीसम्म पुग्ने नयाँ बाटो निर्माण भएसँगै ती जग्गाहरुको मूल्य अहिले प्रतिकठ्ठा ३० लाख पुगेको छ।’

खेत भएको जग्गा भएर बाटो निर्माण भएपछि उक्त बाटोमा पर्ने जग्गाधनीहरु अहिले धनी बनेको वडा नम्बर ३० लालपर्सा टोलका शंकर कुर्मीले बताए। उनले बाटोमा खेत पर्ने किसानले कम्तिमा पनि ३० देखि एक करोड रुपैयाँसम्म सरकारबाट मुआब्जा पाएको जानकारी दिए।उक्त मुआब्जा रकमले नै कतिपय किसानहरुको अहिले आर्थिक अवस्था राम्रो बनेको बताए।

‘पहिले खेती हुने जग्गामा अहिले आईसिपीसम्म पुग्ने बाटो बनेको छ’, कुर्मीले भने, ‘बाटोमा खेत पर्ने किसानहरुलाई सरकारले दिएको मुआब्जा रकमले अहिले धनी बनाइदिएको छ।’

बाटोको निर्माण भएसँगै अहिले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरु नयाँ बाटो क्षेत्रमा पर्ने जग्गा किनेर कारखाना तथा गोदाम निर्माण गर्नमा लागेका छन्। अहिले पनि करिब एक दर्जन भन्दा बढी गोदाम तथा कारखानाहरु आईसिपीसम्म पुग्ने नयाँ बाटो वरिपरि निर्माणाधिन रहेका छन्।

भारत तथा तेस्रो मुलुकबाट आउने मालसामान र औद्योगिक कच्चा पदार्थ राख्न र कोरिडोरका उद्योगबाट उत्पादित बस्तुहरु राख्नको लागि उद्योगीहरुले गोदामहरु निर्माण गरिरहेका छन्। आईसिपीबाट नै उद्योगसँग सम्बन्धित मालसामानहरु आउने भएकाले अहिले धेरै उद्योगीहरु बाटो वरिपरिको जग्गा खरिद गर्न लागेकाले पनि त्यस क्षेत्रका जग्गाहरुको मूल्य ह्वातै बढन गएको हो।

अहिले पनि त्यही बाटो भएर आईसिपीमा आउने गरेका मालबाहक ट्रकहरु आवतजावत गर्ने गरेका छन्। आईसिपीसम्म पुग्ने बाटोमा पर्ने टोलहरु २०७४ साल अघिसम्म गाबिसहरु थिए। तर २०७४ सालको स्थानीय तहको चुनावअघि सरकारले तत्कलिन वीरगञ्ज उपमहानगरलाई महानगरपालिकामा परिणत गरेपछि ती गाबिसहरु वीरगञ्ज महानगरमा गाभिएका थिए।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्