धनगढीमा दिनेश संचार गृहमा आक्रमण प्रकरण

कैलालीमा पत्रकारमाथि भएको आक्रमणबारे महासंघको मिसन टोलीद्धारा स्थलगत अध्ययन सुरु

धनगढी- दिनेश संचार गृहमा सांघातिक आक्रमण लगायत कैलालीमा अन्य पत्रकार माथि भएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मिसन टोली धनगढी पुगेर स्थालगत अध्ययन तथा छलफल सुरु गरेको छ।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको मिसन टोली आईतबार धनगढी पुगेको हो। धनगढी पुगे लगत्तै पत्रकार महासंघ कैलाली शाखाका पदाधिकारी तथा पुर्ब केन्द्रिय पदाधिकारी लगायत पत्रकार संग छलफल गरेको मिसन टोलीले आज नै धनगढीमा रहेको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय, ईन्सेकको प्रदेश कार्यालयमा पनि भेटघाट गरेको छ।

मिसन टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत सँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।

मिसन टोली संयोजक रमेश बिष्टले टोलीले सबै पक्ष संग भेटघाट तथा घटनाका बारेमा अनुसन्धान गर्ने बताए। उनले दिनेश संचार गृह सहित पछिल्ला केही महिना यता कैलालीमा पत्रकारमाथि घटेका घटनाबारे अनुसन्धान गरिने बताए।

महासचिब रमेश बिष्ट नेतृत्वको टोलीमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम, प्रदेश अध्यक्ष अर्जुन शाह कैलाली अध्यक्ष जगत साँउद लगायत रहेका छन्।

भदौ २६ गते धनगढी स्थित दिनेश संचार गृहमा १५-२० जनाको समुहले कार्यालयमै प्रबेश गरि त्यहाँ कार्यरत पत्रकार माथि सांघातिक आक्रमण गरेको थियो।

घटना लगत्तै पत्रकार महासंघ कैलाली शाखाले नियमित आन्दोलन गरिरहेको छ। आन्दोलनकै क्रममा धनगढीमा भएको पत्रकारको भेलाले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई मिसन टोली पठाई दिन आग्रह गरेको थियो।

महासंघको आन्दोलन पछि घटनामा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। अझै केही ब्यक्रि पक्राउ पर्न वाँकी रहेका छन्।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्