माछालाई चारो दिने क्रममा डुबेर एकै परिवारका तीनजनाको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर – मोरङको ग्रामथान ४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका ३ सदस्यको मृत्यु भएको छ। ग्रामथान गाँउपालिकाका अध्यक्ष शिव नारायण माझीका अनुसार आइतबार पोखरीको माछा रुग्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृत्यु भएको हो।

ग्रामथान गाँउपालिका र कटहरी गाँउपालिकाको सीमामा पर्ने बाबा बनस्खण्डी मन्दिर परिसरमा रहेको पोखरीमा घटना भएको मोतिपुरका वडाध्यक्ष बैजनाथ विश्वासले जानकारी दिए।

वडाध्यक्ष विश्वासका अनुसार घटनामा करिब ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो।

बेलुका माछालाई चारो दिएर छोरीहरु नुहाउने क्रममा घटना भएको गाँउपालिका अध्यक्ष माझीले जानकारी दिए। दुवै छोरी नुहाउने क्रममा डुबेपछि अत्तालिएर आमा समेत छोरी बचाउने क्रममा पोखरीमा डुबेको उनले बताए ।

स्थानीय रुद्र कट्वालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने काम गर्दै आएका थिए। उनीहरुको शव बेलुका नै स्थानीय र प्रहरीको पहलमा पोखरीबाट निकालिएको थियो ।

गाँउपालिकाको पकिया गाँउमा बसोबास गर्दै आएको अधिकारी परिवार घटना पूर्व माछालाई चारो दिन पोखरी पुगेको बताइएको छ।

गाँउपालिका अध्यक्ष माझीका अनुसार मृतकको शव पोष्टमार्टमकख लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्