१८० दिनपछि आन्तरिक हवाई सेवा सुरु, विमानस्थलमा यात्रुले के–के गर्नुपर्छ?

काठमाडौँ – आन्तरिक हवाई सेवा साेमबारदेखि सुरु भएको छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनी मध्ये ८ वटाले साेमबारदेखि सेवा सुरु गरेका हुन्।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको हाे।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोना सम्बन्धी बनाएको प्रोटोकल पालना गर्ने गरी साेमबारदेखि सेवा संचालन सुरु भएको बताए।
वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए।
विमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ।
नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ।
विमानस्थल सेवा संचालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ। साेमबार देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।
सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन । तर तारा एयरले नेपालगञ्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।
साेमबार उडान अनुमति पाएका बिमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लु लगायत स्थानहरुमा उडान भर्ने छन् ।