कोरोना भाइरसको महामारीका कारण बन्द भएको ताज महल ६ महिनापछि खुल्यो

कोरोना भाइरसको महामारीका कारण बन्द भएको भारतको प्रतिष्ठित ताज महल ६ महिनापछि खुलेको छ।

इतिहासमै सबैभन्दा लामो समय बन्द भएको ताज महल सर्वसाधारणका लागि खुला गरिएको हो । गएको मार्चदेखि ताज महल बन्द थियो ।

भारतमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका बेला खुला गरिएको ताज महलमा दैनिक पाँच हजारलाई मात्रै प्रवेश दिइने छ । स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाएर ताज महल खुला गर्ने अनुमित सरकारले दिएको हो ।

महामारी पूर्व दैनिक ७० हजार भन्दा बढी पयर्टकले ताज महलको भ्रमण गर्ने गरेका थिए । मुगल सम्राट शाह जहाँले महारानी मुमताज महलका लागि १७ औँ शताब्दीमा ताज महल बनाएका हुन् ।

सन् १९७८ मा आग्रा शहरमा बाढीका कारण केही समय ताज महल बन्द भएको थियो । यस्तै सन् १९७१ मा भारत र पाकिस्तानबिच युद्ध भएका बेला केही दिनका लागि ताज महल बन्द भएको थियो ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्