बारा र रौतहटका स्थानीयबीच झडप, पाँचजना घाइते

वीरगञ्ज – पुल निर्माणको विषयलाई लिएर भएको विवाद उग्र बनेपछि सोमबार बिहान बारा र रौतहट जिल्लाका स्थानीयबीच झडप भएको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको मेवा गाउँका स्थानीयबीच पुलको विषयलाई लिएर सुरु भएको विवाद झडपसम्म पुगेको हो । झडपमा परी पाँचजना घाइते भएका छन्।

दुवै गाउँको बीचमा रहेको अरुवा नदीमा पुल निर्माण गर्न थालिएपछि बारा रुपौलियाका स्थानीयबासिन्दाहरुले विरोध गरेका थिए । उनीहरुले नदीमा पुल निर्माण भएपछि नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै विरोध जनाएका स्थानीय नुर आलमले बताए।

विवाद बढ्दै गएर झडप हुँदा घाइते हुने सबै रुपौलियका रहेका आलमले बताए । घाइते भएकाहरुको टाउकोमा चोट लागेको छ ।

उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

दुवै तर्फका स्थानीयबासिन्दाहरुलाई सम्झाई बुझाई गरी घर पठाएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्