स्वरकिन्नरी तारादेवीको स्वरमा रहेको दिनेश अधिकारी लिखित तथा नातिकाजीले संगीतवद्ध गरेको सदाबहार गीत ‘सोचे जस्तो हुन्न जीवन’ अहिले विश्वभरका मानव जातिको अवस्थासँग मेल खान्छ भन्दा फरक नपर्ला। कोरोना भाइरसको महामारीका कारण दैनिकी फेरिएका छन् र प्रभावित भएका छन् ।
चीनको वुहानबाट गएको वर्ष (सन् २०१९) को अन्त्यतिर सुरु भएको कोरोना भाइरसको महामारीले यति लामो समयसम्म विश्वलाई प्रभावित पारिराख्छ र जनजीविका बन्धक बन्छ भनेर शायदै सोचिएको थियो । तर महामारी अहिले झन विकराल अवस्थामा पुगेको छ । र ‘जीवन सोचे जस्तो भएको छैन’ अधिकांशको ।

रुपनारायण श्रेष्ठले अहिले नसोचेको जीवन बाँचिरहेका छन्, जीवन गुमाएकाहरुको अन्तिम बिदाइमा सामेल भएर ।
रुपनारायण श्रेष्ठ नेपाली सेनाका प्यूठ हुन् । चितवनका ३१ वर्षे रुपनारायणले सेनामा सेवा गर्न थालेको १२ वर्ष भयो । यो एक दर्जन वर्षहरुमा उनले प्राकृतिक तथा भइपरी आउने विपत्तिहरु देखे, उद्धार तथा राहतको प्रयासमा सामेल भए । तर अहिलेको जस्तो अवस्था उनले देखेका थिएनन् ।
उनी कोरोना भाइरसको महामारीको यो समयमा निरन्तर सेवामा छन् र उनको सेवा विगतको भन्दा भिन्न र निराशाले घेरिएको छ । कोरोना भाइरसको महामारी आफूले कल्पनासम्म पनि नगरेको बताउने रुपनारायणले त्यही अकल्पनीय महामारीका कारण ज्यान गुमाएकाहरुको अन्तिम बिदाइ गरिरहेका छन् । उनी कोभिड–१९ का कारण मृत्यु भएकाहरुको सुरक्षित रुपमा अन्तिम संस्कार गर्ने कार्यमा खटिएका छन् ।

‘यसलाई पनि राष्ट्र सेवा त भन्ने होला’, रुपनारायणले भने, ‘सुरुमा सरहरुले कोभिड–१९ बाट निधन भएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी हामीले पूरा गर्नु पर्ने भएको छ र तिमी पनि सो समूहमा छौ भन्दा डर नलागेको होइन । मनमा के होला, कसो होला भन्ने थियो ।’
कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुको शव ‘व्यवस्थापन’ गर्दा संक्रमण सर्ला कि भन्ने पनि लागेको थियो उनलाई । तर वीरेन्द्र छाउनी अस्पतालमा भएको तालिममा सहभागी भएपछि धेरै हदसम्म मनको डर हट्यो र प्रश्नहरुको उत्तर पनि पाए उनले ।

उनले भने, ‘जस्तोसुकै जिम्मेवारी आए पनि पछि हट्ने कुरा भएन । तालिममा सहभागी भएँ । कसरी शव व्यवस्थापन गर्ने भनेर जानकारी पाइयो ।’ त्यहाँ लिएको तालिम दुर्गा बक्स बटालियनका उनले कार्यस्थलमा निरन्तर अभ्यास गरिरहेका छन् ।
पहिलोपटक उनी अरु सहकर्मी साथीसँग हेम्स् अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्न पुगे ।
पहिलोपटक उठाएपछि आफूमा आत्मबल आएको र डर लाग्न छोडेको आफ्नो अनुभव उनले सुनाए । भन्छन्, ‘ त्यसपछि मनमा रहेका थप प्रश्नहरु पनि हट्यो।’

त्यसपछि आफूहरु क्वारेन्टिनमा बसेको र पीसीआर परीक्षण भयो, रिपोर्ट नेगेटिभ आयो । दोस्रोपटक, उनको समूह सशस्त्र प्रहरी अस्पताल बलम्बुमा संक्रमणबाट मुत्यृ भएकाको शव व्यवस्थापनमा गए । त्यहाँ भने आफूहरुलाई अलि गाह्रो भएको उनले सुनाए ।
उनले भने, ‘शव प्याक गरिसकेको भनिए पनि पुग्दा त्यसै रहेछ । हामीले नै सबै गरेका थियौँ । त्यसरी शव प्याक गरेर व्यवस्थापनको काम गरेको पहिलो पटक भएकाले केही गाह्रो भएको थियो ।’

त्यसयता उनीसहितको टोली निरन्तर शव व्यवस्थापनमा खटिरहेको छ । उनको दैनिकी सामान्य भन्दा विलकुल फरक भएको छ । उनले भने, ‘सामान्य अवस्थामा साथीहरुको समूहमै बसेर खाना खाइन्थ्यो । परेड खेलिन्थ्यो । खाली समयमा साथीहरुसँग जमघटमा गफगाफ हुन्थ्यो । अहिले त त्यो पूरै फेरियो । घर जान पाइएको छैन । भेटघाट शून्य छ । शव व्यवस्थापनमा खटिएका साथीहरु मात्रै छौँ ।’
उनी घर नगएको ६ महिना हुन लाग्यो । श्रीमती तथा बुवा आमासँग फोनमा कुरा गर्छन् । तर भेटे जस्तो हुँदैन, कहिले काहिँ अत्यास लाग्छ । तर जिम्मेवारीबाट पछि हट्ने कुरा भएन ।

उनले भने, ‘पहिले जस्तो भनेका बेला फोनमा कुरा गर्न पनि पाइँदैन । शव व्यवस्थापनामा खटिएको बेला कुरै हुँदैन । आमाले जहिले चिन्ता गर्नु हुन्छ–तँलाई केही भए हामी के गरौँला । श्रीमतीको पनि चासो उस्तै हो । तर आफ्नो जिम्मेवारी नै यहि हो भनेर बुझाउँछु ।’
उनले अगाडि थपे, ‘मैले नगरे कसले गर्छ? देशको सेवाका लागि सेना भएको हुँ । यो पनि देशकै सेवा हो । मैले यसो भनेपछि परिवारले केही भन्न सक्दैनन् ।’ साना छोराछोरीेलाई उनले घर बाहिर धेरै नजान र आमाले भनेको मान्नुँ भन्ने गर्छन् फोनबाटै ।


मलामी जाँदाको फरक अनुभव
उनी सेनामा भर्ती हुनु अघि र पछि पनि गाउँघरमा मान्छे बित्दा मलामी गएका थिए । अहिले उनी अहिले जाने गरेको मलामी जस्तो थिएन त्यो । नजिकबाट पनि नियालेका थिएनन् र यसरी आफैले शवलाई अन्तिम बिदाई गर्ने सबै काम गरेका थिएनन् ।

अहिले उनी र उनी जस्तै शव व्यवस्थापनामा खटिएकाहरु संक्रमणबाट मृत्यु भएकाहरुको आफन्त र मलामी दुवै भएका छन् । शव व्यवस्थापनबाट फर्किँदा आफूले धेरै नसोच्ने गरेको बताउँछन् ।
मानिसले धेरै गहिरिएर सोच्न थाल्यो भने आफूलाई पनि त्यसले गाह्रो बनाउन सक्ने उनले बताए । ‘त्यसैले पनि म त्यस्तो केही सोच्दिन । बरु हामी एक–अर्कोले काम नै कसरी गर्ने? आफूहरुले पाएको जिम्मेवरी सफल रुपमा कसरी पूरा गर्ने भनेर नै ध्यान दिन्छौं । केही नजाने बरु एक अर्कोलाई सिकाउँछाैँ।’

उनले आफ्ना तिता अनुभव पनि बेलिविस्तार लगाए। ‘सबै भन्दा दुःख त्यतिबेला लाग्छ । जब मुत्यृ भएकाको आफन्तले उहाँहरुलाई टाढाबाट नियाल्नु पर्ने बाध्यता देख्छु । त्यो सबै उहाँहरुको सुरक्षाको लागि नै हो । प्रोटोकल अनुसार पनि त्यहि भएकोले पनि हामीले उहाँहरुलाई नजिक आउन दिन मिल्दैन । तर दुःख भने लाग्छ । तर पनि हामीले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।’
…
सुरक्षाका सबै उपाय अपनाएर उनीहरु पीपीई लगाई शव व्यवस्थापनमा निस्किने गर्दछन्। उनले भने, ‘पीपीई लगाएपछि गाह्रो त पक्कै हुन्छ । सहने शक्ति ल्याउने कोशिश गरिहन्छु । केही फिल नभए जस्तो गर्छु ।’
शव गाडीमा राखेर पशुपति लैजाने क्रममा आफ्नो अघि रहेको शव चाँडो सुरक्षित रुपमा व्यवस्थापन गर्ने बारे नै सोच्ने गरेको उनले बताए ।
पशुपतिमा आएका मलिन आफन्तलाई साक्षी राखेर अन्तिम सलामी दिइ आफन्त मध्येका एकजनालाई केही चडाउनु पर्ने भए अलि टाढाबाट चढाउन दिएपछि उनीहरुले शवलाई व्यवस्थापनको बाँकी काम गर्छन् ।

उनले मनमा आउने कुराहरु सुनाए, ‘कहिले काहिँ सोच्छु, मैले गरिरहेको काम के खराब हो र ? तर फेरि त्यहि बेला सोच्छु–होइन । नचिनेका मान्छेलाई आफन्त जसरी नै मैले अन्तिम श्रद्धान्जली दिन पाएको छु । राष्ट्रमा दुःखको समयमा देश र जनताको सेवा गर्ने पाएको छु । सबैले यस्तो पूण्यको काम गर्न कहाँ पाउँछ र ?’
ब्यारेकबाट केही पर रहेको क्वारेन्टिनमा बस्दा सबै भन्दा धेरै साथीहरुको याद आउने उनले बताए । उनले भने, ‘साथीहरु आए हुने, कुरा गर्न पाए हुने भन्ने लाग्छ । रमाइलो गर्न पाए हुने भन्ने लाग्छ। फेरि अर्को मनले साथीहरु नआए पनि केहि छैन भनेर मनलाई बुझाउँछु । मोबाइलमा गीत बजाउँछु, त्यहाँ भएका साथीभाइसँग नाच्छु ।’

महामारी कहिले सकिन्छ र घर कहिले जान पाइन्छ भन्ने यकिन छैन । तर उनलाई आफ्नो संगठनले पाएको जिम्मेवारी खुशी रहेको उनी बताउँछन् ।
हरेकपटक शव व्यवस्थापन गरेपछि आफू सुरक्षित रहेको जानकारी घर परिवारलाई गराउँछन् उनले । दाहसंस्कारका बेला अपरिचत नै भए पनि आफूले मृतकको आत्माले चीर शान्ति प्राप्त गरोस् भनेर कामना गर्ने गरेको उनले बताए ।
…
रुपनारायणलाई भदौ २७ गते पछ्याउँदा जे देखियो
उपत्यका पृतनामा रहेको दुर्गा बटालियनको क्वारेन्टिनमा दिउँसोको करिब २ बजे पुग्दा प्यूठ रुपनारायण श्रेष्ठ लगायत प्यूठ सन्तोष परियार, हवाल्दार डम्बर श्रेष्ठ, सिपाही दिनेश चन्द शव व्यवस्थापनमा जाने तयारीमा थिए ।
उनीहरुले पीपीई लगाउँदै थिए । तयार भएर निस्किए उनीहरु । सुरुमा सेनाको स्कर्टिङ्ग गाडी, त्यसपछि क्रमशः शव वाहन र व्यवस्थापन खटिने टोली रहेको गाडी लस्करै गुडे ।

सुरुमा पाटन अस्पतालमा रहेका दुई शवलाई लिएर टोली पशुपति आर्यघाट पुग्यो । मृतकका आफन्त पहिले नै त्यहाँ पुगेका थिए । अवस्था निकै मौन र भावविह्वल थियो । प्रक्रिया पूरा गरेर दुई शव विद्युतीय शव दाह गृहमा व्यवस्थापन गरेपछि रुपनारायणसहितको टोली ललितपुरमै रहेको मेघा अस्पताल पुग्यो । सुरुमा जानकारी लिँदा शव तयारी अवस्थामा छ भनिएको थियो । तर शव प्याक गरिएको रहेनछ । उनीहरु गाडीमा रहेको प्लाष्टिक र नियम अनुसारको शव राख्ने व्याग बोकेर उनीहरु अस्पताल भित्र गए ।

चौथो तलामा रहेको शव प्याक गरेर वाहनमा चढाए । फेरि पशुपति तिर लागे । यो सबै प्रक्रियामा उनीहरुलाई गाह्रो भएको छ भन्ने स्पष्ट देखिन्थ्यो व्यक्त नगरे पनि ।
शव आफै प्याक गर्ने र पशुपति लैजाँदासम्म काम सहज बनाउने प्रयासहरु भएका थिए र पनि गाह्रो भइरहेको थियो ।
घाम चर्केको सोही दिन उनीहरु गंगालाल अस्पताल लागे । त्यहाँ शव तयारी अवस्थामा थियो । तर औषधि उनीहरुले त्यहाँ फेरि बनाए । वाहनमा शव राखेर उनीहरु ह्याम्स अस्पताल गए । ह्याम्समा प्लाष्टिकले शवलाई र्याप गरेपनि ब्यागमा नराखेकाले गाडीबाट ब्याग ल्याएर प्याक गरे । वाहनमा राखेर उनीहरु पुनः पशुपति गए ।
शव व्यवस्थापनका क्रममा गाह्रो भएपछि लखतरान रुपनारायण।पशुपति पुगेर शव व्यवस्थापन गरे । उनीहरुले त्यो दिन पाँचवटा शव व्यवस्थापन गरे । सबै शवको काम सक्दा झमक्कै साँझ परेको थियो । एकअर्कालाई सहज बनाउन खोजी रहेका थिए शव व्यवस्थापनमा खटिएकाहरु, कमाण्डर चाहिँ ब्यारेकमा फोन गरी ग्लुकोज पानीसहितको व्यवस्था गर्न भनिरहेका थिए ।
काम अप्ठ्यारोमा आफन्त बिना मृतकहरुको बिदाई गर्ने भए पनि सकेपछि उनीहरुले त्यो दिनका लागि राहतको सास फेरे । त्यसपछि उनीहरु उपत्यका पृतनातिर लागे ।
पृतना पुगेर लगाएको पीपीई सावधानीपूर्वक खोली जलाए । गाडी डिस्इन्फेक्ट गरियो । नुहाइधुवाई गरेर क्वारेन्टिन भवनमा गए । क्वारेन्टिन भवन बाँसको गाँज नजिकै एक्लै छ ।
…
यसरी नेपाली सेनाले पाएको शव व्यवस्थापनको जिम्मेवारीमा खटिएका मध्ये रुपनारायण एक पात्र हुन् । उनी जस्तै, देशभर नै सैनिकहरु शव व्यवस्थापनमा खटिएका छन् ।
यसरी खटिएकाहरुलाई प्रधानसेनापति प्रशंसा पत्र दिइने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनीहरु सबैको स्वास्थ्य बिमा र कोरानो विषेश बिमा पनि गरिएको छ ।थाकेपछि भुईमा खुट्टा पसारेर आराम गर्दै रुपनारायण।
प्रवक्ता पौडेलले भने, ‘जोखिम, शव व्यवस्थापन गर्नेलाई मात्रै होइन अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई छ । त्यसैले सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सहुलियत काममा खटिँदा भइपरि आएमा सबैलाई मिल्ने गरि दिइने गरिन्छ। हामीले सरकारले भने अनुसार अग्रपंक्तिमा रहेर काम गर्नेलाई ७५ प्रतिशत भत्ताका लागि पनि उनीहरुको नाम पठाएका छौँ ।’

यसरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको भत्ता अझै पाएका छैनन्। अर्थ मन्त्रालयबाट अझै जवाफ नआएको उनले बताए । उनको विश्वास छ, ‘भत्ता आएपछि उनीहरुले त्यो पनि पाउने छन्।’
पौडेलका अनुसार काममा खटिँदा संक्रमण भए सम्पूर्ण खर्च नेपाली सेनाले ब्यहोर्ने छ।प्यूठ रुपनारायण श्रेष्ठ।