चन्द्रगढी विमानस्थलमा तीनवटा विमानका सेवा (तस्बिरहरू)

झापा- सोमबार बिहान ११ बजे ४४ जना यात्रु बोकेर बुद्ध एयरको एटिआर विमान झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल अवतरण गर्यो।

सोही विमानले ६५ जना यात्रु बोकेर काठमाडौं उड्यो। यति एयरलाइन्सको विमानले पनि ४० जना भन्दा बढी यात्रु लिएर चन्द्रगढी विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी कार्यालयका सूचना अधिकारीले किशोर खत्रीले जानकारी दिए।

उक्त विमानले पनि ६० जना भन्दा बढी यात्रु लिएर काठमाडौं उडेको थियो।

कोरोना भाइरस संक्रमण नियन्त्रयणका लागि गरिएको ६ महिना लामो बन्दाबन्दीपछि सोमबारदेखि नेपालको आन्तरिक विमान सेवा पुनः सञ्चालनमा आएको हो।

सोमबारदेखि नै झापाको चन्द्रगढी विमानस्थल पनि सञ्चालनमा आएको हो।

तर ६ महिना अघि र अहिलेको यात्रा मापदण्ड विल्कुल फरक रहेका छन्।

विमानस्थल प्रवेश गर्न अघिदेखि नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने पर्ने छ।

विमानस्थलमा प्रवेश गर्न अघि यात्रुले बाहिरी गेट नजिक राखिएका पानीका धारामा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्न दिइएको छ।

मूल गेटमै यात्रुको शरीरको तापक्रम जाँचिन्छ। तापक्रम बढेको पाइए विमानस्थल प्रवेश गर्न नदिइने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

सोमबार चन्द्रगढी विमानस्थलमा तीन वटा विमानले सेवा दिएका छन्। बुद्ध एयरको दुईवटा र यति एयरको एउटा विमानले सेवा दिएका हुन्।

बुद्ध एयरको दोस्रो सेवा बेलुका हुने बताइएको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्