काठमाडौँमै अनशन बस्ने भन्दै जुम्लाबाट नेपालगञ्ज आइपुगे डा. केसी

नेपालगञ्ज- आठ दिनदेखि जुम्लामा अनसन बसेका डा. गोविन्द केसी काठमाडौं जाने क्रममा नेपालगञ्ज आइपुगेका छन्।
काठमाडौंमै गएर अनसनलाई निरन्तरता दिने भन्दै जुम्लाबाट निस्किएका डा. केसी नेपालगञ्ज आइपुगेका हुन्।
डा. केसी अहिले भेरी अस्पताल, नेपालगञ्जमा पुगेका छन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले डा. केसी आज भेरीमै बस्ने जानकारी दिए । उनका अनुसार, अनसनमै रहेका डा. केसीलाई छुट्टै क्याविनको व्यवस्था गरिएको छ।
डा. केसीले आज नै विज्ञप्ति निकालेर भनेका छन्, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्। त्यसैले फेरि त्यसैखालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ।’