कोरोनाका सय सवाल पुस्तक सार्वजनिक

साइन्टिस्ट नेपाल कम्ब्याट कोभिड-१९ ई-प्लेटफर्मले सोमबार एक समारोहबीच भर्चुअल कार्यक्रम आयोजना गरी ‘कोरोनाका सय सवाल’ नामक पुस्तकको लोकार्पण गरेको छ।

उक्त  कार्यक्रम नेपाल राष्ट्रिय बिज्ञान दिवसको अवसरमा कोरोनाका सम्बन्धमा बिबिध जानकारी दिन आयोजना गरिएको हो।

साइन्टिस्ट नेपालले कोरोनाका बारेमा  सहज तथा सरल तरिकाले जनतालाई जानकारी दिने उद्देश्यले “कोरोनाका सय सवाल” पुस्तिकाको अनलाइन प्रकाशन गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षामन्त्री  तथा  शिक्षाविद डा. गंगालाल तुलाधरले पुस्तिकाको लोकार्पण गरी पुस्तक अहिलेको आवश्यकता तथा समय सापेक्ष भएको बताए।

साइन्टिस्ट नेपालका संयोजक डा. दिनेश भुजुले बिज्ञान दिवसको महत्वबारे प्रकाश पार्दै संसारमा तथा नेपालमा कसरी बिज्ञान दिवसको थालनी गरियो भन्ने बारेमा प्रष्ट्याए।

सेन्ट जेभियर्स कलेजका भौतिक बिज्ञानशास्त्री डा. बिनोद अधिकारीले उद्घोषण गरेको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजीका प्राध्यापक डा. अञ्जना सिंहले कार्यक्रमबारे जानकारी दिँदै स्वागत मन्तव्य दिएकी थिइन्।

बीएण्डबी अस्पतालका स्नायू शल्याचिकित्सक न्यूरोसर्जन डा. प्रबीण श्रेष्ठले पुस्तकको बारेमा जानकारी गराएका थिए।

डा. प्रविन श्रेष्ठका अनुसार उक्त पुस्तक साइन्टिस्ट नेपालका करीब २ सय विज्ञ सदस्यहरुको ४० औं हप्ताको अनवरत अनलाइन गोष्ठी तथा समीक्षाबाट आफ्नै श्रोत साधनद्वारा तयार पारिएको हो। करिब २० लेखकद्वारा लेखिएको उक्त पुस्तकमा कोरोनासँग सम्बन्धित १०० सवालका जवाफ समेटिएका छन्। उक्त पुस्तकमा सम्पूर्ण सय सवाललाई चार भागमा विभाजित गरिएका छन्। कोरोना भाइरसको जीव बैज्ञानिक पक्ष  कोरोना संक्रमणका चिकित्सकीय पक्ष, कोरोना संक्रमणका जनचेतनाका पक्ष  तथा कोरोना संक्रमणका अन्धविश्वासका  पक्ष गरी जम्मा चार पक्षमा विभाजित उक्त पुस्तक नेपाली भाषामा सरल तरिकाले लेखिएको छ। उक्त पुस्तक विद्यार्थीवर्गको लागि लक्षित गरिए पनि नेपालका सम्पूर्ण जनताले पढून् र जानून् भन्ने लक्ष साइन्टिस्ट नेपालले लिएको छ। उक्त पुस्तकको आवश्यकता तथा माग अनुसार अंग्रेजी संस्करण पनि प्रकाशन गरिने छ।

शिक्षा तथा बिज्ञान मन्त्रालय, पाठयक्रम विकास समितिका निर्देशक केशवप्रसाद दाहालले आफ्नो मन्तब्यमा कोरोनासँग सम्बन्धित जानकारीलाई नेपाल सरकारले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। नेपाल बिज्ञान प्राध्यापक संघका अध्यक्ष खिलकुमार प्रधानले मानब समाजका कुनै पनि घटना तथा प्रकोपको नियन्त्रण तथा व्यवस्थापन बिज्ञानमा आधारित हुनुपर्नेमा जोड दिए। कार्यक्रमको अन्त्यमा साइन्टिस्ट नेपालका अर्का संयोजक डा. केदार रिजालले संस्थाको महत्वको बारेमा मन्तब्य प्रकट गरी कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रम जूममार्फत करिब १ घण्टासम्म सञ्चालित थियो।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्